२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

ती आयुषा यी आयुषा

मिस टिन २००७ की विजेता आयुषा कार्की मौलिक गहनालाई आधुनिकीकरण गर्दै उत्पादन गर्ने उद्यममा लागेकी छन् ।
विद्या राई

काठमाडौँ — त्यो आकर्षक अनुहार । बोल्ड लुक्स । आत्मविश्वासी केटी । मिस टिन (सन् २००७) की विजेता आयुषा कार्कीले आफ्नो परिचय बनाएकी थिइन् । उनी नेपाली मोडलिङ जगत्मा लामै समय राज गर्ने अनुमान गरिएको थियो । फिल्ममै प्रवेश गरेर अभिनयमा जम्नसक्ने अड्कल पनि भएको थियो ।

ती आयुषा यी आयुषा

उनको सानैदेखिको सोख थियो, मोडलिङ । केही हदसम्म सोख पूरा पनि गरे । सानै छँदा नै उनले अर्को सोख पनि पालेकी रहिछन् र त्यो हो, उद्यमी बन्ने । अचेल उनी दोस्रो सोख पूरा गर्न मिहिनेत गरिरहेकी छन् । सन् २०११ मा लन्डन गएर उनले पब्लिक रिलेसन म्यानेजमेन्ट अध्ययन गरिन् । बढ्न गएकाहरू उतै बस्ने चलन विपरीत उनी २०१४ मै स्वदेश फर्किइन् । ‘मलाई आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोच थियो र फर्किएँ । काम पनि थालें,’ उनले भनिन् ।


आयुषाले नेपाल फर्केपछि स–साना अनलाइन व्यापार थालिन् । इन्स्टाग्राममार्फत ‘मेकअप फुडी’ को तीन वर्ष व्यापार गरिन्, जुन उनको व्यवसायी बन्ने आधार बन्यो । उनले त्यसबेला कोरियाबाट खरिद गरेर मेकअपका सामान बिक्री गर्थिन् । त्यसले ग्राहकलाई सन्तुष्टि दिए पनि रकम बाहिरिने भएकाले उनलाई चित्त बुझेको थिएन । उनको सोच फेरियो । उनी आफंै गहना उत्पादन गर्नेतिर लागिन् । ‘यसो गर्दा ग्राहक पनि खुसी र म पनि खुसी,’ उनले भनिन्, ‘त्यसैले विदेशबाट सामान ल्याएर बिक्री गर्न छाडेर आफैंले गहना उत्पादन थालें ।’
सानैदेखि ड्ेरस डिजाइन र चित्र कोर्ने बानी परेकाले गहना उत्पादन उनलाई सहज लाग्यो । ‘रुचि, चाहना र इच्छा एकै ठाउँ क्लिक भएपछि आफूले पढ्नैपर्छ भन्ने हुँदैन रहेछ,’ उनले भनिन् । पढाइ एकातिर, काम अर्कोतिर । तैपनि पढेको काम लागेको उनी बताउँछिन् । ‘पब्लिक रिलेसनको पढाइले हरेक काममा हरेक व्यक्तिसँग सम्पर्क गर्न सहयोग गर्छ । व्यापारमा यसको ठूलो महत्त्व हुन्छ । ग्राहकसँग कसरी बोल्ने, सम्पर्क कसरी बढाउने भन्ने कुरा पढाइले गर्दा सजिलो भएको छ,’ उनले बताइन् ।


उनले नेपाली हस्तकलालाई प्राथमिकता दिएकी छन् । उनी पररम्परागत रूपमा चल्दै आएका गहनालाई आधुनिकीकरण गरेर नयाँ गहना तयार पार्छिन् । नेक्लेस, ब्रासलेट, इयर–रिङ, औंठीलगायत गरगहनाहरू सुन र चाँदीको मिश्रणबाट तयार गर्छिन् । यी सबै हातले नै बनाउने हो । उनी डिजाइन गर्ने र बनाउने आफैं गर्छिन् । ‘मेराकी’ मा उनका व्यावसायिक साझेदार हुन्, सर्भो शाक्य । उनीहरूले ३–४ जनालाई रोजगारी पनि दिएका छन् ।


चोरी हुने खतराले सुनलगायत महँगा गहनाको चलन झन्झटिलो भएको छ । त्यसैले केही समयका लागि उपयोग हुने गहनाको चलन बढ्दो छ । यसैले २६ वर्षीया आयुषालाई आकर्षित गरेको हो । उनले नयाँ डिजाइनमा पनि नेपाली वेशभूषा, कला–संस्कृतिलाई बढावा दिएकी छन् । ‘म मोडर्न नै छु, मोडर्न भयो भन्दैमा आफ्नो संस्कृति बिर्सनु भएन,’ उनी भन्छिन्, ‘आधुनिकता, विकास र कला–संस्कृतिलाई एकैसाथ लैजानुपर्छ ।’ विदेशीहरू आफ्ना कला–संस्कृतिलाई बेचेर फाइदा लिएजस्तै हामीले पनि उपयोग गर्नुपर्ने उनले सुझाए ।
स्वदेशमै ‘सुन’ फलाउन सकिन्छ भन्ने उनको विश्वास छ । नेपालीहरूको जातीय, सांस्कृतिक, धार्मिक विविधता र सहिष्णुतालाई विश्व बजारमा पुर्‍याउने माध्यमका रूपमा हस्त निर्मित गरगहनाको व्यवसाय रोजेको उनले बताइन् । ‘नेपाली मौलिकता झल्कने भएकाले यसको व्यापार राम्रै देखेको छु,’ उनले भनिन् ।


उनले अहिले पनि गहना बिक्रीको माध्यम अनलाइनलाई बनाएकी छन् । ‘अर्डर गरेको ७–८ दिनमै सामान पुर्‍याइदिन्छौं,’ उनले भनिन्, ‘यसले ग्राहकको समय बचत गर्छ ।’ उनी अहिले आफ्नो उद्यम प्रवद्र्धनको चरणमै छिन् । त्यसैले विदेशबाट माग भइरहे पनि उनले निर्यात थालेकी छैनन् । अझै व्यवस्थित गरेर मात्रै विदेशमा बिक्री सुरु गर्ने उनले बताइन् । ‘गहना त्यो वस्तु हो, जसले लगाउनेको व्यक्तित्व दर्शाउँछ । र, गहनाको हरेक भागले उसको व्यक्तित्वको कथा बताउनुपर्छ,’ उनले आफ्नै परिभाषा दिइन् ।


मिस टिन २००७ ले आत्मविश्वासी बनाएको उनको करिअर गहना उत्पादनमा बनेको छ । यसमा करिब डेढ वर्षयता सक्रिय उनको कम्पनी मेराकीले २२ सयदेखि ५ हजार रुपैयाँसम्मको गहना तयार गर्छ । चैत पहिलो साता भृकुटीमण्डपमा भएको ‘मेड इन नेपाल एक्स्पो’ मा पनि मेराकीको उत्पादन आकर्षण बनेको थियो । अझै पनि मोडलजस्तै देखिने आयुषाले सोरुम भने साढे दुई वर्षपछि मात्रै खोल्ने योजना बनाएकी छन् ।

प्रकाशित : वैशाख १४, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?