कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दिल्लीमा लालीगुराँस, डाँफे, ढाका र कुटुम्ब

प्रदर्शन गरिएका पहिरनमा दुई मुलुकबीचको मित्रता पनि झल्किन्छ
सुरेशराज न्यौपाने

काठमाडौँ — सञ्चारकर्मी र फोटोग्राफीहरूले घेर्दा उनी निकै दंग थिइन् । त्यसमाथि बलिउड अभिनेत्री करिश्मा कपुरले ‘यति सानो उमेरै पनि उनको डिजाइनमा रहेको मौलिकता र नयाँपन तारिफयोग्य छ, बधाई छ,’ भनिरहँदा त उनको मुहारमा खुसी प्रस्ट झल्किन्थ्यो । उनी अर्थात् नेपाली फेसन डिजाइनर प्रिया राउत ।

दिल्लीमा लालीगुराँस, डाँफे, ढाका र कुटुम्ब

अवसर थियो, नयाँदिल्लीको बिकानेर हाउसमा आयोजित ‘एसिया डिजाइनर विक २०१८ अन्तर्गत सिजन ६’ । डिजाइनर राउतका लागि आफंैमा गौरवको क्षण थियो । त्यो स्वाभाविक पनि थियो किनकि कार्यक्रममा राउतको पहिरनमा सजिएर अभिनेत्री कपुर र्‍याम्पमा हिँडेकी थिइन् । कपुरलाई मात्र नभएर अन्य नाम चलेका मोडलहरूलाई समेत उनले आफ्नो पहिरनमा सजाएकी थिइन् ।


फेसन डिजाइनरले विशेष अवसरका रूपमा लिने डिजाइनर विकमा काठमाडौंको पेरी फेसन्सले युवा डिजाइनर राउतलाई आफ्नो सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गरेको थियो । विशेषगरी पार्टी र बिहेमा लगाइने लेहेंगा र अन्य लुगालाई उनले कलात्मक ढंगले सजाएकी थिइन् । अझ तिनमा कुँदिएका लालीगुराँस, डाँफेले उनको मौलिक सिर्जनासँगै नेपालीपन पनि प्रस्ट झल्काउँथ्यो । केही डिजाइनमा त ढाकाको फेब्रिकसमेत प्रयोग गरिएको थियो । पृष्ठभूमिमा बजेको कुटुम्बको लोकसंगीतले पूरै वातावरणलाई नेपालमय बनाएको थियो ।


उनको डिजाइनमा मौलिकतासँगै नेपाल र भारतको सम्बन्ध पनि झल्किएको भन्दै कपुरले पनि खुलेर प्रशंसा गरिन्, ‘उनको डिजाइनमा दुई मुलुकबीचको मित्रता पनि झल्किन्छ, मलाई विश्वास छ, भारतीय महिलाले पनि निकै मन पराउनेछन् ।’ करिश्माले यसो भनिरहँदा छेउमै रहेकी राउतले पनि मौनता तोडिन्, ‘यो स्तरको शोमा सहभागी हुन पाउनु मेरा लागि निकै ठूलो अवसर हो । आफ्नो डिजाइनका बारेमा भने उनले छोटो जवाफ दिइन्, ‘सकेसम्म नेपालीपन दिएर डिजाइनलाई आकर्षक बनाउने प्रयास गरेकी हुँ ।’


करिश्मासँगै नेपालकी सेलेब्रिटी मोडल सविता कार्कीलगायत एक दर्जन बढी मोडलहरू राउतको डिजाइनमा सजिएका थिए । कार्की गत डिसेम्बरमा एमटीभीबाट प्रसारित इन्डियाज नेक्स्ट टप मोडल (आईएनटीएम) प्रतियोगिताको तेस्रो संस्करणकी उपविजेतासमेत हुन् । आईएनटीएम फेसनको दुनियाँमा रमाउन चाहनेहरूका लागि ‘ड्रिम इभेन्ट’ का रूपमा चिनिन्छ । राउतले कार्कीका लागि विशेष डिजाइन तयार पारेकी थिइन् । कार्कीले प्रस्तुत गरेकी पहिरनमा लालीगुराँस र डाँफे त कुँदिएको थियो नै, त्यसमा ढाकाको फेब्रिक पनि प्रयोग भएको थियो । उनले घाँटीमा लगाएको पोतेसहितको गहनाले थप नेपालीपन झल्काएको थियो ।


डिजाइनर प्रिया राउतका लागि मात्र होइन, मोडल सविता कार्कीका लागि पनि यो विशेष अवसर थियो । किनकि कार्कीको भारतमा यो नै पहिलो क्याटवाक थियो । भारतमा पहिलो पटक फेसन शोमा सहभागी हुन पाउनु त्यो पनि नेपाली डिजाइनरका लागि । त्यसैले कार्कीका लागि पनि ठूलै अवसर थियो यो ।


करिश्मा कपुरसँगै नेपाल पहिरन सजिएर एउटै र्‍याम्पमा हिँड्न पाएकोमा आफूलाई निकै खुसी लागेको मोडल कार्कीले बताइन् । ‘उहाँ (राउत) को डिजाइन मलाई सधैं मन परेको हो, यसपटकचाहिँ उनले विशेष नेपाली लुक्स दिनुभएको थियो, यो विशेष लाग्यो,’ उनले बताइन्, ‘दिल्लीमा नेपाली डिजाइन अनि ब्याकग्राउन्डमा नेपाली संगीत त्योभन्दा बढी खुसी हुने ठाउँ नै छैन ।’

प्रकाशित : वैशाख २८, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?