१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

‘अझै जिउँदै’

काठमाडौँ — पश्चिमेली संगीतमा आफू अझै सक्रिय छु भनेर देखाउन यस्तो सन्देश पनि दिनुपर्ने रहेछ, ‘म अझै जिउँदै छु ।’ नत्र साँच्चै हराउने डर हुन्छ । केही समय अगाडि गायक तथा ड्रमर फिल कोलिन्स स्वघोषित संन्यासमा गएका थिए । त्यसमा लामो समय टिक्न सकेनन् र फेरि फर्कने क्रममा छन् । यसैका लागि उनले आफ्नो फेसबुकको माध्यमबाट घोषणा गरेका छन्, ‘म टुरमा
निस्कँदै छु ।’ यस अगाडि उनले आफ्ना प्रशंसकका लागि सन्देश पनि छाडेका थिए, ‘म ठूलै घोषणा गर्दै छु ।’

‘अझै जिउँदै’

खासमा १२ वर्षको लामो अन्तरपछि कोलिन्स उत्तर अमेरिकाको टुरमा निस्कँदै छन् । अक्टोबर, नोभेम्बरतिर यो टुर चल्नेछ । र, यो टुरको नाम पनि उनले जुराइसकेका छन् र यो हो, ‘नट डेड येट, लाइभ’ । यसको सरासर अर्थ हाम्रोमा ‘म अझै जिउँदै छु’ त हो । यो टुरमा उनलाई साथ दिने पुराना साथीहरू नै हुन्, गितारमा ड्यारल, किबोर्डमा ब्रायड कोल, बासमा लेलान्ड । सँगै ड्रममा कोलिन्सका आफ्नै १६ वर्षीय छोरा निकोलस । त्यसमध्ये ड्यारल त उनको जेनेसिस ब्यान्ड जमानाका साथी हुन् ।


सबैभन्दा पहिले कोलिन्स स्वघोषित संन्यासमा किन जानुपरेको थियो त ? गत जुनतिर उनले लिभरपुलमा कन्सर्ट राखेका थिए, त्यसपछि पालो लन्डनमा थियो । यो कन्सर्ट पनि सात वर्षको अन्तरमा हुन लागेको थियो । लगत्तै उनको युरोप भ्रमणमा निस्कने कार्यक्रम पनि थियो । तर लन्डनमै कन्सर्ट हुन सकेन । यसअघि नै उनी आफू रहेको होटलमा ढले । उनलाई टाउकोमा नरामै्र चोट पनि लाग्यो । खासमा उनलाई आफ्नो खुट्टामा राम्रोसँग उभिरहन समस्या हुन्छ । त्यसैले उनी शरीर अनियन्त्रित हुँदै लड्ने गर्छन् ।


अब उनको उत्तर अमेरिकी टुर कस्तो हुने हो, त्यो हेर्न लायक हुनेछ । तीन वर्ष अगाडि पनि कोलिन्सले अहिले जस्तै ठूलै टुरको घोषणा गरेका थिए र त्यति बेला उनले त्यसको नाम दिएका थिए, ‘नो लन्गर रिटायर्ड’ । अर्थात् ‘मैले संन्यास लिएको छैन ।’ यसको अर्थ उनी संगीत क्षेत्रमा आफू सक्रिय रहेको तथ्य स्थापित गर्न बारम्बार प्रयास त गरिरहन्छन् । तर असफल पनि भइरहन्छन् । त्यसैको कारण त हो, ‘नो लन्गर रिटायर्ड’ पछि अब ‘नट डेड येट, लाइभ’ ।


त्यति बेला उनले रोलिङ स्टोनमा एउटा अन्तर्वार्ता दिएका थिए । त्यति बेला उनलाई सोधिएको थियो, सफलताको राम्रो र नराम्रो पक्ष के हो त ? उनको उत्तर थियो, ‘सफलताको अर्थ हो, आफूले गरेको काम अरूले मन पराउनु र प्रशंसा गर्नु ।’ साँच्चै उनका गीत मन पराउने कमै होलान् । यी पप रक गायकलाई धेरैले मन पराउने गर्छन्, त्यसैले जति बेला उनी धेरै सक्रिय रहे, उनका एल्बम निकै चले । उनका नाम चलेका गीतको सूची लामै छ ।


सामाजिक सन्देश दिन खोजिएको उनको गीत ‘एनेडर डे इन प्याराडाइज’ अझै पनि धेरैले सुनेर गुनगुनाउने गर्छन् । फेरि रोलिङ स्टोनकै अन्तर्वार्तामा फर्कंदा उनी सफलताको खराब पक्षबारे भन्थे, ‘यो संगीत क्षेत्रमा म छु भनेर बारम्बार सिद्ध गर्नुपर्ने हुन्छ । त्यसका लागि निकै मिहिनेत गर्नुपर्छ । यसले तनाव पनि उत्तिकै हुन्छ ।’ कोलिन्सको नजिक रहेका धेरैको अनुभव छ, कोलिन्स लगातार दबाबमा रहने गर्छन्, आफू सक्रिय छ भनेर देखाउन । त्यसैले टुरका नाम त्यसैखाले हुन्छन् ।


पछिल्लो समय कोलिन्स धेरै प्रकारको मानसिक दबाबबाट पनि गुज्रे । उनी आफ्नै श्रीमतीसँग छुट्टिए । यसरी श्रीमतीसँग डिभोर्सबाट गुज्रेको यो पहिलोपल्ट थिएन, तेस्रोपल्ट थियो । ‘ड्रिङ्स’ को बानीले पनि उनलाई धेरै बिगारेको थियो । उनी आफैं भन्छन्, आफ्नो निजी जीवन कष्टकर हुनु पछाडि ‘ड्रिङ्स’ प्रमुख कारण हो । त्यसो त कोलिन्स जत्तिको गायकलाई बारम्बार आफ्नो उपस्थिति जनाइरहनु पर्दैन । खालि उनका प्रशंसकलाई प्रतीक्षा रहनेछ, उनको टुरको ।
–हिमेश

प्रकाशित : वैशाख २८, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?