३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कम्प्युटरबाटै फोन

हेलो शुक्रबार

काठमाडौँ — माइक्रोसफ्टले विन्डोज प्रयोगकर्तालाई एपमार्फत जोडिएर ल्यापटपबाटै मोबाइलका फिचर प्रयोग गर्न मिल्ने सुविधा थप्न लागेको छ । कम्पनीले यसै साता यसबारेमा जानकारी दिएको हो । नयाँ एपका सुविधा के हुनेछन् ?

कम्प्युटरबाटै फोन

ल्यापटपमा काम गर्दैगर्दा फोन चलाउनुपर्ने बाध्यता धेरैका लागि झन्झटिलो हुन सक्छ । माइक्रोसफ्टवे प्रयोगकर्ताको यही समस्या सुल्झाउन नयाँ एप सार्वजनिक गरेको छ, जुन प्रयोगकर्ताले केही पछि प्रयोग गर्न पाउने छन् । यसै साता भएको माइक्रोसफ्टको वार्षिक डेभलपर कन्फ्रेन्समा कम्पनीले नयाँ एप सार्वजनिक गरेको हो । केही सीमित प्रयोगकर्तामाझ परीक्षणपछि सबै विन्डोज टेन प्रयोगकर्ताका लागि यो एप उपलब्ध हुनेछ । माइक्रोसफ्टले यो एपको नाम राखेको छ– योर एप ।


सामान्य भाषामा भन्दा यसले मोबाइललाई ल्यापटपको स्क्रिनमा देखाइदिनेछ । एपमार्फत मोबाइल जोडिएपछि विन्डोज टेन प्रयोगकर्ताले ल्यापटपमै मोबाइलका फिचरहरू प्रयोग गर्न पाउने छन् । प्रयोगकर्ताले ल्यापटपबाट मोबाइलमा भएको फोटो हेर्ने, एसएमएस रिप्लाई गर्ने, नोटिफिकेसनहरू हेर्नेजस्ता सुविधा पाउने छन् । यो एप एन्ड्रोइड र आईओएस दुवै डिभाइससँग काम गर्ने कम्पनीले जनाएको छ । अहिले पनि विन्डोज टेनलाई आफ्नो मोबाइलसँग जोड्न सकिन्छ । तर, यसमा सुविधा भने थोरै मात्र छ ।


माइक्रोसफ्टवे ल्याउन लागेको एपको अवधारणा नौलो भने होइन । दुई महिनाअघि नै डेलले आफ्ना नयाँ आउने कम्प्युटरमा यो सुविधा राख्ने बताइसकेको छ । डेलले मोबाइल कनेक्ट नामक एपमार्फत यस्तो सुविधा दिन लागेको हो । यसले ल्यापटप मोबाइलसँग कनेक्ट गरी नोटिफिकेसन हेर्ने, एसएमएस रिप्लाई गर्ने, मोबाइलका अन्य फिचर प्रयोग गर्ने सुविधा हुने जनाएको छ । यो सुविधा डेलको कम्प्युटर चलाउने प्रयोगकर्ताका लागि मात्रै भए पनि माइक्रोसफ्टको नयाँ फिचर भने सबै विन्डोज टेन प्रयोगकर्ताका लागि हुनेछ । प्रयोगकर्ताले जुन कम्पनीको जुन मोडलको ल्यापटप प्रयोग गरे पनि विन्डोज टेन अपरेटिङ सिस्टम छ भने यो सुविधा प्रयोग गर्न सक्नेछन् । डेलले यसअघि नै यस्तै खालको फिचर प्रयोगमा ल्याइसकेको भएकाले माइक्रोसफ्टले ल्याउने सुविधा भने केही फरक र सजिलो हुने अनुमान गर्न सकिन्छ ।


माइक्रोसफ्टको यो फिचरले ल्यापटपमा काम गर्दैगर्दा मोबाइल चलाउन गाह्रो मान्ने प्रयोगकर्ताका लागि उपयोगी हुन सक्छ । र, उसको यो फिचर ठूलो प्रयोगकर्तामाझ पनि पुग्नेछ । पछिल्ले तथ्यांकअनुसार माइक्रोसफ्टको विन्डोज टेन अपरेटिङ प्रयोग गर्नेको संख्या ७० करोड छ । सन् २०१५ मा माइक्रोसफ्टले विन्डोज १० को घोषणा गर्दै आफ्ना सबै विन्डोज प्रयोगकर्तालाई विन्डोज टेन प्रयोगका लागि प्रोत्साहित गर्ने नीति लिएको थियो । उसले सन् २०१८ भित्रमा विन्डोज टेनका प्रयोगकर्ताको संख्या एक अर्ब बनाउने घोषणा गरेको थियो । यसका लागि सुरुवाती केही समय उसले नि:शुल्क विन्डोज टेन अपग्रेड गर्ने सुविधा पनि प्रयोगकर्तालाई दिएको थियो तर पनि कम्पनीले आफूले लक्ष्य राखेजति प्रयोगकर्ता बढाउन अझै केही समय कुर्नुपर्ने देखिन्छ । माइक्रोसफ्टवे यसअघि केही वर्षको अन्तरालमा विन्डोजका विभिन्न भर्सन सार्वजनिक गर्दै आए पनि विन्डोज टेन भने विन्डोजको अन्तिम भर्सन भएको बताएको छ । उसले विन्डोज टेनमा प्रयोगकर्तालाई आवश्यक पर्ने नयाँ–नयाँ फिचर थपिरहने तर विन्डोज टेनपछिको भर्सन नबनाउने घोषणा गरेको थियो ।


कम्पनीले यसै साता आयोजना गरेको आफ्नो डेभलपर कन्फ्रेन्समा आफ्नो ध्याउन्न अब विन्डोजमा मात्रै भन्दा पनि अन्य क्षेत्रको अनुसन्धान र विकासमा हुने संकेत दिएको छ । कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिंक, क्लाउडजस्ता विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।

[email protected]

प्रकाशित : वैशाख २८, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?