मेघनाको उडान

तेस्रोलिंगीले खोलेको रेस्टुरेन्टमा अरू मान्छे नआउलान् कि भन्ने डर थियो । तर, ग्राहकलाई त्यस्तो कुराको मतलब हुँदैन रहेछ । उहाँहरूले भेदभाव गर्नुभएन ।
सजना बराल

काठमाडौँ — तेस्रोलिंगी समुदायका सीमित सेलेब्रिटीमध्येकी एक हुन्– मेघना लामा । उनी मोडलिङ गर्छिन् । मिस पिंक नेपाल २०१० की शीर्ष विजेता पनि रहेकी उनी ठमेलको सातघुम्तीमा ‘पिंक टिफानी रेस्टुरेन्ट’ सञ्चालन गरिरहेकी छन् । उनलाई मोडलिङ र व्यवसाय दुवैतिर राम्रो भइरहेको छ । आफ्नो करिअरलाई लिएर उनी सन्तुष्ट छिन् ।

मेघनाको उडान

तेस्रोलिंगी समुदायका मोडल मेघना लामाका बारेमा डकुमेन्ट्री नै बनेको छ । ठमेलमा रेस्टुरेन्ट पनि सञ्चालन गरिरहेकी उनको संघर्ष :

यद्यपि, ९० प्रतिशत संघर्ष बाँकी नै रहेको ठान्छिन् ।
‘भर्खर २५ वर्षकी भएँ, धेरै गर्न बाँकी नै छ,’ मेघना भन्छिन्, ‘रेस्टुरेन्ट विस्तार गर्नु छ । शाखा खोल्नेबारे सोच्दै छु । मोडलिङमा पनि अघि बढ्नु छ ।’ मिस पिंकका रूपमा नेपालको प्रतिनिधित्व गर्दै उनी थाइल्यान्ड, फिलिपिन्स र भारत पुगिसकेकी थिइन् । उनलाई फेरि भारत जाने रहर छ । त्यताको मोडलिङ अनुभवले आफूलाई परिस्कृत गथ्र्यो किनभने उनले सोचेकी छन्– ‘अञ्जली दिदीले आफ्नो स्थान बनाउनु भयो,’ उनी भन्छिन्, ‘म पनि प्रयास गर्नुपर्ला ।’


मेघनामाथि डकुमेन्ट्री पनि बनाइएको छ । अमेरिकी निर्देशक सोफिया दिया पिग्रमको डकुमेन्ट्रीमा उनको दैनिकी, पारिवारिक अवस्था वा भनौं, तेस्रोलिंगी समुदायको सानो संसार नै देखाइएको छ । काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ) र नेपाल ह्युमन राइट्स इन्टरनेसनल फिल्म फेस्टिभलमा डकुमेन्ट्री देखाइएको थियो । अमेरिकाको बोस्टनमा भइरहेको ‘विकेड क्वियर फेस्टिभल’ मा पनि प्रदर्शन हँुदै छ । डकुमेन्ट्री हेरेकाजो कोही पनि उनको आत्मबलको तारिफ गर्छन् ।


यी पछिल्ला गतिविधिले मेघनालाई खुसी बनाइरहेका छन् । तर, जिन्दगी सधंै यस्तो रसिलो र सुखमय थिएन । शारीरिक रूपमा पुरुषबाट महिला बन्न र महिला बनिसकेपछि पनि उनले धेरै पीडा सहनुपर्‍यो । एकचोटि त आफ्नै ज्यान लिने अवस्थामा पुगेकी थिइन् ।आफूबारे अरूलाई बुझाउन नसक्दा दिक्क हुन्थिन् । ‘बिहेको कुरा चलेपछि म स्थायी घर झापा छोडेर काठमाडौं आएँ,’ उनी भन्छिन्, ‘यहाँ आएपछि अरू समस्या थपिए ।’


मोडलिङ र एनजीओको जागिरबाट कमाएको पैसा उनले रेस्टुरेन्टमा लगाउन चाहिन् । त्यसका लागि ठाउँ आवश्यक थियो । खोज्न थालिन् । पाउनै कठिन १ ‘हामीलाई त बिजनेस गर्न पनि गाह्रो रैछ,’ उनी भन्छिन्, ‘यौन व्यवसायी ठानेर घरबेटीले कोठा दिन मान्दैन थिए । पार्टनरहरू पनि भेटाउन गाह्रो पार्‍यो । ऋण र पारिवारिक साथले रेस्टुरेन्ट खोलेकी थिएँ ।’ वसन्तपुरमा खोलिएको ‘पिंक टिफानी’ केही समयदेखि ठमेल सरेको छ । यसमा १० जना स्टाफ र सांगीतिक ब्यान्ड गरी २०/२५ जनाले रोजगारी पाएका छन् ।


‘तेस्रोलिंगीले खोलेको रेस्टुरेन्टमा अरू मान्छे नआउलान् कि भन्ने डर थियो,’ मेघना भन्छिन्, ‘तर, ग्राहकलाई त्यस्तो कुराको मतलब हुँदैन रहेछ । उहाँहरूले भेदभाव गर्नुभएन । मेरो मनको डर हराएर गयो ।’ अरूलाई भए कुनै रेस्टुरेन्ट वा जेसुकैको मालिक भएपछि सबैले सम्मान गरेको देखिन्छ । तर, मेघनाले ‘मालिक’ बनेपछि पनि शान्ति पाइनन् । उनलाई टोल सुधार समितिदेखि अन्यले लवाइ–खवाइमा प्रश्न गर्थे । ‘यति छोटो स्कर्ट किन लगाएको, के गरेको जस्ता निजी कुरामा आपत्ति जनाइन्थ्यो,’ उनी भन्छिन्, ‘तर, म आफू र अरूका लागि पनि अवसर सिर्जना गर्न चाहन्थें । त्यसैले सानातिना गनगन सुन्दै सुनिनँ ।’


मेघनाले चार दर्जनजति फेसन शोहरूमा भाग लिएकी छन् । उनलाई फिल्ममा पनि रुचि छ । म्युजिक भिडियोको अवसर आए त्यो पनि कोसिस गर्न तयार छिन् । भारत गएर अभिनयको कक्षा लिने तरखरमा रहेकी उनी पछिल्लो समय मोडलिङभन्दा पनि व्यवसायकै दौडधुपमा छिन् । ‘काम गरेर खान कठिन छ नि,’ उनी भन्छिन्, ‘तर, गर्न नसकिने केही छैन । म तेस्रोलिंगी मात्र होइन युवा भएर पनि सोच्छु । हामी युवालाई प्रेरित गर्ने खालको वातावरण बन्नुपर्‍यो ।’

प्रकाशित : वैशाख २८, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?