१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सुपरस्टार रोहित

गेलोरा बुङ कार्नो रंगशाला बत्तीको उज्यालोमा बाहिरबाटै रंगशालालाई एक फन्को मार्दा रोहित–रोहित भन्दै पछ्याउँदै आउने र फोटो खिचाउने हूलका हूल निस्किए ।
राजु घिसिङ

काठमाडौँ — एन्फा एकेडेमीमा हुर्किएका रोहित चन्द सेन्टर–ब्याकका रूपमा मछिन्द्र क्लबबाट २०६७ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए । माथिल्लो श्रेणीको लिग डेब्युमै उनी उत्कृष्ट डिफेन्डर नै चुनिएका थिए । त्यसयता उपत्यकाको ए डिभिजन लिग तीनपल्ट मात्र सञ्चालन भयो र २०७० सालयता आयोजना गरिएको छैन । त्यसैले तीन सय बढी नेपाली फुटबलर बेरोजगार भएका छन् । खर्च जुटाउनका लागि पनि मोफसलका प्रतियोगिता खेल्नुपर्ने बाध्यता छ । लिग नहुँदा खेलाडी पलायन भइरहेका छन् । तर रोहितको कथा भने फरक छ ।

सुपरस्टार रोहित

सेन्टर–ब्याकका रूपमा घरेलु फुटबलमा पहिलो सिजनको समाप्तिसँगै रोहित भारतको आई लिग क्लब हल एरोनटिक्स लिमिटेडमा सन् २०१० मा पुगेका थिए । पूरा सिजन खेले र अर्को सिजन ६ महिना पनि आई लिगमै बिताए । उनी डिफेन्सबाट अगाडि बढ्दै मिडफिल्डमा पनि अभ्यस्त हुन थाले । उनी २०१२ मा इन्डोनेसियनको शीर्ष डिभिजन क्लब पीएसपीएस पेकनबरुमा पुगे । त्यसयता उनी इन्डोनेसियाली लिगमै व्यस्त छन् । यसबीच एकपल्ट मलेसियन क्लब पुगेर पनि लगत्तै खुट्टाको शल्यक्रिया गर्नुपर्‍यो । सशक्त पुनरागमन गर्दै उनी फेरि इन्डोनेसियाको लिग वानमा छाइरहेका छन् ।


पछिल्लो लिगमा मछिन्द्र क्लब सम्हालेका विप्लव गौतम र नवीन चित्रकार गत वर्ष लिगमा रोहितको खेल हेर्न इन्डोनेसिया पुगेका थिए । पर्सिजा र पर्सेलाको खेल हेरेर फर्केपछि नवीनले भनेका थिए, ‘त्यहाँ फुटबल निकै लोकप्रिय रहेछ । रोहित प्रिय खेलाडी । हामीले नेपालबाट आएको भन्नेबित्तिकै एयरपोर्टदेखि ट्याक्सीमा समेत रोहितको नाम लिएर सोधे । उनीसँग फोटो खिचाउनेको पनि उस्तै भीड हुने रहेछ ।’ सुन्दा अलि बढी नै भयो कि भन्ने लागेको थियो ।


एसियाली फुटबलमा कोलकाता डर्बी (इस्ट बेंगालविरुद्ध मोहन बगान), तेहरान डर्बी (इस्तेगललविरुद्ध पर्सेपोलिस) र इन्डोनेसिया डर्बी (पर्सिजा जकार्ताविरुद्ध पर्सिब बाङडुङ) लाई दुई टिमबीचको प्रतिस्पर्धा, लोकप्रियता, दर्शकको उपस्थितिले सबभन्दा ठूला डर्बी खेल मािनन्छन् । इन्डोनेसियन एल–क्लासिकोका रूपमा पनि प्रख्यात पर्सिजा र पर्सिबको डर्बी दुश्मनी सन् १९३३ मा सुरु भएको थियो । यस खेलका लागि टिकट क्षणभरमै बिक्री हुन्छ । खेल हुनु हप्तौंअघि नै दुई टिमका दर्शकबीच चर्काचर्की सुरु भइसकेको थियो । समर्थकबीच पहिलादेखि नै चर्काचर्की र आक्रमण गर्नेसम्मको होड हुने गर्छ ।


यसपालि लिग वानमा इन्डोनेसिया डर्बीको पहिलो खेल २८ अप्रिललाई तय गरिएको थियो । उक्त खेलमा रोहितको प्रदर्शन हेर्ने योजना बनाएर काठमाडौं सिंगापुर उडियो तर जहाज अवतरण हुँदा खेल स्थगित भएको खबर आइसकेको थियो । मे दिवसमा केन्द्रित हुनुपर्ने भएकाले प्रहरीले खेलमा सुरक्षा दिन नसक्ने भनेपछि डर्बी स्थगित भएको थियो । जाभा प्रहरी प्रमुख पर्सिजा निकट रहेछन् । खेल सार्नुमा मुख्य हात उनकै रहेछ । अर्को मिति ३ मेमा पर्सिबले खेल्न अस्वीकार गरिदयो । र इन्डोनेसिया डर्बी नहेरी फर्कनुपर्‍यो ।
रोहितसँगै जकार्तामा अबेर घुम्न निस्किएका थियौं । सपिङ मलका स्टोरहरू र कफी सपमा पनि रोहितसँग फोटो खिचाउने भेटिए । उनलाई भेट्न पाएकोमा मानिसहरू दंग थिए । साँझ, अलि अबेर गेलोरा बुङ कार्नो रंगशाला हेर्न गयौं । बत्तीको उज्यालोमा बाहिरबाटै रंगशालालाई एक फन्को मार्दा रोहित–रोहित भन्दै पछ्याउँदै आउने र फोटो खिचाउने हूलका हूल निस्किए । त्यसैले उनीसँग रंगशालालाई चक्कर लगाउन पनि मुस्किल पर्‍यो । आसन्न एसियाली खेलकुदको मुख्य आयोजना स्थलमा हातले ज्याक मेनियनको ‘जे’ संकेत गर्दै फोटो खिचाउनेको भीडले घेरिएपछि उनलाई पर्खदै हैरान भइयो ।


पर्सिजाका समर्थक ‘ज्याक मेनियन’ का रूपमा प्रख्यात छन् । पुरुष समर्थक ज्याक मेनिया र महिला समर्थक ज्याक एन्जेल । ज्याक मेनियनको फेसबुक पेजमा मात्र लाखौं फलोअर्स छन् । पर्सिजाको फेसबुकमा ७ लाख बढी, ट्वीटरमा २७ लाख बढी र इन्स्टाग्राममा १० लाख धेरै फलोअर्स छन् । रोहितकै पनि इन्स्टाग्राममा १ लाख ७४ हजार फलोअर्स छन् । त्यसमा धेरैजसो इन्डोनेसियन नै हुन् । उनको फेसबुकमा ३५ हजार बढी छन् भने आफंैले पासवर्ड बिर्सिएको ट्वीटरमै पनि ९ हजार बढी फलोअर्स छन् । यसले पनि रोहितको लोकप्रियतालाई देखाउँछ ।


रोहितलाई पर्सिजाले अपार्टमेन्टको सुविधा दिएको छ । ट्रेनिङ र खेल्न जाने उनको ड्युटी हो भने अरू बेला उनी कमै बाहिर निस्कन्छन् । महँगा सपिङ मलतिर निस्कन उनी गाह्रो मान्दैनन् । ‘त्यस्ता मलमा हामीलाई चिन्ने अलि कम हुन्छन्,’ उनले भने, ‘अरू खुला बजार र चोकतिर निस्कन भने गाह्रै हुन्छ । फ्यानहरूले घेरिहाल्छन् । खुला रूपमा हिँड्नै पाइँदैन ।’ रंगशालामा बेलुका एक फन्को लगाउँदा देखिएको वातावरणले पनि उनको भनाइलाई साबित गथ्र्यो ।


रोहित इन्डोनेसियामा किन लोकप्रिय छन् त ? जवाफ एउटै छ– खेल । २६ वर्षीय उनको खेलमा निरन्तर सुधार भइरहेको छ । अहिले उनी पर्सिजाका मुख्य खेलाडीमा पर्छन् । मैदानमा मिडफिल्डको जिम्मेवारी दुई खेलाडीलाई दिइन्छ । त्यसमा पर्सिजाका एक खेलाडी हुन् रोहित । उनले यसपालि लिगा वानमा पीएसएमएसविरुद्ध गरेको भली गोल निकै लोभलाग्दो थियो । बोर्नेयोविरुद्धको गोल पनि उत्कृष्ट थियो । यो सिजनको पाँच खेलमा उनले दुई गोल गरेका छन् ।


पर्सिजाबाट सन् २०१३ यता एक सिजनबाहेक नियमित लिग वान खेलेका रोहितलाई यसपालि इन्डोनेसिया र आसियनका अरू क्लबले पनि आकर्षक तलबसहित अनुबन्ध गर्ने प्रस्ताव गरेका थिए । तर उनी एसियाली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता एएफसी कप खेल्न पाउने भएपछि जकार्तामै बसे । उनलाई इन्डोनेसियन फुटबलको माहोलले लोभ्याएको छ । उनी एएफसी कपको फाइनल चरण खेल्ने पहिलो नेपाली हुन् । उनको टिम समूह विजेता हुँदै एएफसी कपको नकआउट चरणमा पुगेको छ ।


पर्सिजाले लिगअघि बाली युनाइटेडलाई फाइनलमा ३–० ले हराएर इन्डोनेसियन प्रेसिडेन्ट कपको उपाधि जित्दा पनि रोहितले उत्कृष्ट प्रदर्शन गरेका थिए । फाइनलमा उनले दुई गोलमा अन्तिम पास दिएका थिए । प्रि–सिजनको मलेसिया टुरमा पनि पर्सिजाले उपाधि जितेको थियो । लिगमा ५ चरणको समाप्तिमा पर्सिजा शीर्षस्थानमा थियो । दुई खेल जित्न सके उनको टिम सातौं चरणसम्म पनि शीर्षस्थानमा रहन सक्छ ।


तर १० पल्ट लिग विजेता पर्सिजाले यसपालि लिग च्याम्पियन बन्ने योजना नबनाएको रोहितले बताए । ‘प्रतिस्पर्धा चर्को छ,’ २६ वर्षीय उनले भने, ‘म्यानेजमेन्टले पाँचौंदेखि सातौंसम्म हुने लक्ष्य राखेको छ । हामी त्योभन्दा राम्रो गर्न सक्छौं कि भन्ने चाहन्छौं ।’ सन् १९३० मा लिग खेल्न थालेयता कहिल्यै रेलिगेसनमा नपरेको पर्सिजाले गत वर्ष पनि पाँचौंसम्म हुने लक्ष्य बनाएको थियो तर चौथो भएको थियो । त्यसैले उसले एएफसी कप खेल्ने अवसर पाएको हो ।


इन्डोनेसियाको तुलनामा थाई लिग राम्रो मानिन्छ । कमाइको हिसाबले मलेसिया पनि राम्रो छ । अब १–२ वर्ष राम्रो लिगमा जाने प्रयास गर्ने उनले बताए । पहिलोपल्ट इन्डोनेसिया पुग्दा करिब एक महिना ट्रायलमै बिताएका उनी त्यसबेला निराश भइसकेका थिए । नेपाल फर्कन पनि चाहेका थिए । ‘यस्तो लिगमा खेल्न मेन्टल टफनेस हुनुपर्ने रहेछ,’ राष्ट्रिय टिमबाट सन् २०१० यता उत्कृष्ट प्रदर्शन गर्दै आएका उनले भने, ‘नेपाली खेलाडीमा स्किल छ । मेन्टल टफनेस र अरू धेरै कुरा त्याग्न सके नेपाली खेलाडीले बाहिरका लिगमा अवसर पाउन सक्छन् ।’


नेपालको तुलनामा व्यावसायिक खेलाडीको जीवन शैली नै फरक हुने उनको अनुभव छ । ‘सधैं पार्टी जाने, रमाइलो गर्ने, परिवारसँग बिताउने समय त्यागेर खेलमा केन्द्रित हुनुपर्छ,’ पछिल्लोपल्ट अफ–सिजनमा नेपाल आउँदा अन्नपूर्ण आधार शिविर पुगेका उनले भने । घरेलु मैदानमा नियमित ६०–७० हजार दर्शकमाझ खेलिरहेका उनले पर्सिजाको जर्सीमा एसिया टुरमा आएका स्पेनी ला लिगाको क्लब एस्पानयोल र डच महारथी आयक्सविरुद्ध पनि इन्डोनेसियामा खेल्ने अवसर पाएका थिए ।

twitter: @rghising

प्रकाशित : वैशाख २८, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?