१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इमेल स्वत: डिलिट !

प्रयोगकर्ताले सन्देश पठाएपछि त्यसको दुरूपयोग हुन नपाओस् ।
हेलो शुक्रबार

काठमाडौँ — प्रेमी–प्रेमिकाबीच भएको सन्देश र फोटो आदानप्रदान होस् वा व्यावसायिक प्रयोजनका लागि गरिएको कुराकानी । आपसमा कुराकानी गर्ने, जानकारी आदानप्रदान गर्नेको सम्बन्ध सधैं एकनासको रहँदैन । हामीले च्याटमा गर्ने कुराकानीमा आफ्नो गोप्यता खोलिरहेका हुन्छौं वा अरूको कुरा काटिरहेका हुन्छौं । यस्तो संवेदनशील कुराकानी बाहिरिए के हुन्छ ?

इमेल स्वत: डिलिट !

हुन त केही नहोला तर बाहिरिएला कि भन्ने डरले हामीलाई भयभीत गराउँछ वा बाहिरिए कुनै व्यक्तिको व्यक्तिगत जानकारी बाहिरिए बेइज्जत हुने परिस्थिति आउन सक्छ । जागिरै जान सक्छ वा साथीभाइ र अरू मान्छेका अगाडि मुखै देखाउन नमिल्ने परिस्थिति आउन सक्छ ।


यस्तै, समस्या नहोस् भन्नका लागि भाइबर होस् वा फेसबुक म्यासेन्जर धेरै म्यासेजिङ एपले पठाएको म्यासेज निश्चित समयपछि डिलिट गर्ने सुविधा थपेका छन् । प्रयोगकर्ताले सन्देश पठाएपछि त्यसको दुरुपयोग हुन नपाओस् । एक निश्चित अवधिमा डिलिट भएपछि त्यसको प्रयोग हुन नपाओस् भन्ने उद्देश्यले यस्तो फिचर सुरु गरिएको हो । यसको सुरुवात गर्ने श्रेय भने स्न्यापच्याटलाई जान्छ जसको सिको गर्दै अरूले पनि यो फिचर सुरु गरेका हुन् ।


स्न्यापच्याट युवा पुस्तामा लोकप्रिय हुनुको श्रेय पनि यही फिचरलाई जान्छ । आफूले साथीभाइसँग बेपरवाह गरेको कुराकानीले केही समयपछि आफैंलाई हानि गर्छ भन्ने डर हुन्न र आफूले पठाएको अन्तरंग तस्बिर अर्को साथीले दुरुपयोग गर्ने सम्भावना हुन्न । म्यासेजिङ एपमा लोकप्रिय यो फिचर जिमेलले पनि सिको गरेको छ ।


केही साताअघि जिमेलले गरेको आफ्नो रिडिजाइनका क्रममा यो फिचरलाई पनि समावेश गरेको छ । जसले गर्दा आफूले कसैलाई पठाएको इमेल निश्चित समयपछि स्वत: डिलिट हुने गरी पठाउन मिल्छ ।


म्यासेजिङ एपमा हुने व्यक्तिगत कुराकानीलाई गोप्य बनाउन सुरु भएको यो फिचर अब व्यावसायिक प्रयोजनका लागि पनि लागू भएको छ । आखिर इमेलमा कसले व्यक्तिगत कुराकानी गरेर समय बिताउँला र सोसल मिडिया र म्यासेजिङ एपका कारण फोन कल नै घट्दै गएको यो जमानामा ?

जिमेलले केही साताअघि आफ्नो रिडिजाइनमा यसलाई समावेश गरेको हो । पठाएको इमेल स्वत: डिलिट हुने फिचर सुरु गर्न सुरुमा प्रयोगकर्ताले जिमेलको नयाँ डिजाइनको प्रयोग गर्नुपर्ने हुन्छ । यदि तपाईंले जिमेलको पुरानै डिजाइन प्रयोग गरिरहनुभएको छ र नयाँ डिजाइनमा चाहनु हुन्न भने जिमेलको दायाँपट्टि माथिल्लो भागमा रहेको सेटिङ गियरमा क्लिक गरी ट्राई द न्यु जिमेल अप्सनमा जान सक्नु हुनेछ । जिमेलको नयाँ डिजाइनमा गएर मन नपरे सोही प्रक्रियाद्वारा पुरानै डिजाइनमा फर्किने विकल्प पनि प्रयोगकर्ताका लागि खुला छ ।
नयाँ जिमेलमा भएको विभिन्न नयाँ फिचरमध्ये यहाँ भने पठाएको इमेल स्वत: डिलिट गर्न सकिने फिचरको चर्चा गरिएको छ । कुनै पनि नयाँ इमेल कम्पोज गर्दा खुल्ने बक्सको तलपट्टि प्रयोगकर्ताले एक संकेत देख्न सक्छन्, जहाँ घडी र ताल्चाको संयुक्त चिह्नमा क्लिक गरी प्रयोगकर्ताले पठाइएको इमेल स्वत: डिलिट हुने अप्सन प्रयोग गर्न सक्छन् ।
यो अप्सनमा क्लिक गर्दा प्रयोगकर्तालाई एक दिन, एक हप्ता, एक महिना, तीन महिना वा ५ वर्षसम्मको समय निर्धारण गर्ने विकल्प दिइएको छ । यस कारण कति समयमा इमेल डिलिट गर्ने भन्ने सुविधा प्रयोगकर्ताले पाउँछन् । विश्वासिलो रूपमा दिइएको यो फिचरले एक प्रयोगकर्ताले निश्चित समयपछि स्वत: डिलिट हुने गरी पठाएको इमेल त्यसलाई प्राप्त गर्ने प्रयोगकर्ताले प्रिन्ट गर्न, फरवार्ड गर्न, कपी पेस्ट गर्न सक्दैन । तर, स्क्रिनलाई रोक्न भने यो फिचरले सकेको छैन ।


यसमा इमेल पठाउँदा पासवर्डसहित पठाउन मिल्ने व्यवस्था पनि छ । यसले इमेल पठाउँदा पाउने प्रयोगकर्ताको मोबाइलमा पासवर्ड पठाउने र त्यसको प्रयोगपछि मात्रै इमेल खुल्ने सुविधा दिन्छ तर नेपालमा भने यो सुविधा छैन । जेहोस्, आफ्नो व्यक्तिगत वा व्यावसायिक इमेल पछि दुरुपयोग नहोस् भन्ने चाहना राख्नेहरूका लागि भने यो फिचर उपयोगी हुन सक्छ ।

प्रकाशित : जेष्ठ ४, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?