भरियाबाट धावक

काठमाडौँ — सोलुखुम्बुस्थित महाकुलुङ गाउँपालिका ५, गुदेलका सुमन कुलुङ मेलापात र गोठाला मात्र नभई स्कुल जाँदा पनि हिँड्ने कम दौडिने बढी गर्थे । त्यसैले पहाडको उकाली–ओरालीमा तीव्र गतिमा हिँड्दाहिँड्दै दौडमा अभ्यस्त भइसकेका थिए । उनी स्कुल र गाउँमा आयोजित दौड प्रतियोगितामा सधैं पहिलो हुन्थे ।

भरियाबाट धावक

उनको घरको आर्थिक अवस्था बलियो थिएन । गुदेलवासी सानैदेखि भारी बोक्न खुम्बु जाने चलन थियो । यसमा सुमन पनि परे । उनले कक्षा ५ मै पढाइ छाडे । स्कुल पढ्ने उमेरमा खुम्बुमा पर्यटकको भारी बोक्न गए । त्यसै क्रममा उनले ‘एभरेस्ट म्याराथन’ लाई नजिकबाट नियाल्ने मौका पाए । उनलाई पनि दौडने रहर लाग्यो । रहरलाई कसले छेक्न सक्छ र ? उनी दौडिए । एभरेस्ट म्याराथन २०१४ र २०१६ मा तेस्रो भए । अन्तत: उनको मिहिनेत खेर गएन, सन् २०१७ को संस्करणमा विजेता नै बने ।


सगरमाथा आधारशिविरदेखि नाम्चेसम्म ४२ किलोमिटर सुमनले उपाधि जित्दा ३ घण्टा ४३ मिनेट ५७ सेकेन्डमा पार गरेका थिए । उनले खुम्बुमै रोयल पेन्गुइन रेस दुईपल्ट जिते । यसमा नाम्चेदेखि गोक्यो हुँदै रेन्जोला पास गरेर फर्किनुपर्ने हुन्छ । ५२ किमि पूरा गर्नका लागि समुद्री सतहबाट ५,३५० मिटरको उचाइसम्म छिचोल्नुपर्छ ।
हालै ४७ किमिको हिमालयन गाइड पाथीभरा म्याराथनको पनि उपाधि जितेका २६ वर्षीय सुमनले पोखरा ट्रेल रेसमा दुईपल्ट पहिलो भएका थिए । साठी देशका दुई हजार बढी धावक सहभागी हङकङको भाइब्रम ट्रेल रेसमा उनी सातौं भएका थिए । उनी अक्सफाम ट्रेल वाकरमा पनि दौडिइसकेका छन् । उनले साहसिक दौडका लागि पोखराका रमेश भट्टचनसँग चार वर्ष प्रशिक्षण लिएका थिए ।


सुमन अहिले पनि पर्यटकीय सिजनका बेला ट्रेकिङमा जान्छन् । बाँकी समय दौडिने गर्छन् । ‘एभरेस्ट म्याराथन र रोयल पेन्गुइनको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य छ,’ उनले भने, ‘अवसर मिल्यो भने अन्य प्रतियोगितामा पनि प्रतिस्पर्धा गर्नेछु ।’ अहिलेसम्म व्यक्तिगत इच्छा र प्रयासले नै प्रतिस्पर्धा गरिरहेको उनले बताए । उनले थपे, ‘जिउनका लागि अरू पेसा अपनाए पनि मेरो मुख्य काम धावककै रूपमा दौडिने नै हो । शरीरले साथ दिएसम्म दौडिरहनेछु ।’
–कुम्भराज

प्रकाशित : जेष्ठ ४, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?