२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सर्वाधिक शक्तिशाली सीईओ

काठमाडौँ — अमेरिकी म्यागजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१८ को विश्वका सबैभन्दा शक्तिशाली व्यक्तिहरूका सूचीमा रहेका ७५ जनामध्ये ३५ जना विभिन्न व्यापारिक समूहमा आबद्ध रहेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वा प्रमुखहरू छन् ।

सर्वाधिक शक्तिशाली सीईओ

यी प्रमुखमध्ये पनि अधिकांश अमेरिकी छन् भने केही एसियाली, एक युरोपेली र एक अफ्रिकी नागरिक छन् । सबैको व्यापारको हिस्सा जोड्दा ५० खर्ब अमेरिकी डलर हुने १० शक्तिशाली प्रमुख कार्यकारीहरू :


१। जेफ बेजोस, एम्याजोन
अहिले विश्वको सबैभन्दा धनी व्यक्तिमा दरिएका एम्याजोनका जेफ बेजोसको नाम प्रमुखहरूको गणनामा अग्रस्थानमा छ । उनको व्यापार १ खर्ब ३३ अर्ब डलर रहेको छ । इन्टरनेटमा लगभग विश्वका सबै कुनामा सामान बेच्ने एम्याजोनले सुपरमार्केटको चेन होल फुडलाई गत अगस्टमा किनेको थियो । यस्तै एम्याजोनले विभिन्न स्थानमा किताब पसल पनि खोल्न थालेको छ । यस कम्पनीको बजार मूल्य ७ खर्ब ८० अर्ब डलर रहेको छ ।

२। ल्यारी पेज, अल्फाबेट
गुगलको माउ कम्पनी अल्फाबेटका सीईओ ल्यारी पेज अर्का शक्तिशाली सीईओ हुन् । विश्वकै ठूलो सर्च इन्जिन गुगलको नेतृत्वकर्ता कम्पनी अल्फाबेट सम्हाल्नुबाहेक उनले आफैं उड्ने ट्याक्सी ‘किट्टी हक’ मा पनि लगानी गरेका छन् । उक्त कम्पनीले केही समयअघि मात्रै न्युजिल्यान्डमा आफ्नो उड्ने ट्याक्सीको परीक्षण गरेको थियो ।

३। मार्क जुकरबर्ग, फेसबुक
फेसबुकका प्रमुख मार्क जुकरबर्ग गत वर्ष विश्वकै शक्तिशाली व्यक्तिको सूचीमा शीर्ष १० मै थिए । यो वर्ष भने क्याम्ब्रिज एनलाइटिका विवादका कारण उनको स्थान खस्किएको छ । गत मार्चमा फेसबुकले अनधिकृत रूपमा आफ्ना प्रयोगकर्ताको महत्त्वपूर्ण विवरण राजनीतिक परामर्श प्रदान गर्ने संस्थालाई दिएको आरोप लागेको थियो । विवादपछि सुरुमा उनको कम्पनीको सेयरको मूल्यमा गिरावट देखिएको थियो । तर उनले अमेरिकी कंग्रेसको संसदीय सुनुवाइका क्रममा दिएको जवाफले लगानीकर्ता खुसी भए र सो दिन मात्रै फेसबुकको सेयर मूल्यमा ४.५ प्रतिशत वृद्धि देखिएको थियो । हार्बर्ड विश्वविद्यालयको पढाइ बीचमै छोडेका जुकरबर्गको कम्पनीको मूल्य ६९ अर्ब डलर बढी छ ।

४। वारेन बफेट, बर्कसायर हाथअवे
वारेन बफेट प्रमुखहरूको सूचीमा पर्न सफल दोस्रो वयोवृद्ध व्यक्ति हुन् । ८७ वर्षीय उनले केही समय अघि मात्रै अमेरिकी खाद्य सामग्री उत्पादन गर्ने कम्पनी क्राफ्ट हेनिजको बोर्डबाट अवकाश लिएका थिए तर बर्कसायर हाथअवे नामक होल्डिङ कम्पनीका प्रमुखका रूपमा भने काम गरिरहेका छन् । १९६३ मा बर्कसायर खरिद गरेका बफेटको उक्त कम्पनीसँग विश्वका थुप्रै चर्चित कम्पनीहरूको ठूलो मात्रामा सेयर रहेको छ । गत मे महिनामा मात्रै एप्पलको ७ करोड ५० लाख कित्ता सेयर किनेर उनले एप्पलमा आफ्नो सेयरलाई लगभग ५ प्रतिशत पुर्‍याएका छन् ।

५। जेमी डिमन, जेपी मोर्गन
न्युयोर्कस्थित वाल स्ट्रिटमा रहेका शक्तिशाली व्यक्तिहरूको गणनामा जेमी डिमन १९ स्थानमा पर्छन् । विश्वको सबैभन्दा ठूलोमध्येको एक बैंक जेपी मोर्गनका सीईओ हुन् डिमन । उक्त बैंकको कुल सम्पत्ति २ खर्ब डलर रहेको छ । हालसालै गरिएको घोषणाअनुसार डिमन अझै ५ वर्ष प्रमुख रहने बताइएको छ ।

६। ज्याक मा, अलिबाबा
शक्तिशाली सीईओको सूचीमा रहेका धेरै कम गैरअमेरिकीमध्ये अलिबाबाका कार्यकारी अध्यक्ष ज्याक मा एक हुन् । उनी विश्वको सबैभन्दा ठूलोमा गनिने ई–कमर्स साइट अलिबाबाका मालिक र कार्यकारी दुवै हुन् । एम्याजोन जस्तै अलिबाबाको पनि व्यापार दिनानुदिन बढ्दै गइरहेको छ । एम्याजोन र अलिबाबाबीच व्यापार विस्तार गर्ने होडबाजी पनि देखिएको छ । उनले फिल्ममा अभिनय पनि गरेका छन् ।

७। डग म्याकमिलन, वालमार्ट
अमेरिकालगायत विश्वका विभिन्न देशमा आफ्नो सेवा विस्तार गरेको खुद्रा सामान बेच्ने सुपरमार्केट वालमार्टका डग म्याकमिलन पनि शक्तिशाली सीईओको सूचीमा परेका छन् । उनको कम्पनीले विश्वभर गरेर २३ लाखलाई प्रत्यक्ष रोजगारी दिएको छ । यसले पनि अब आफ्नो व्यापार विस्तार भौतिक बजारमा नभई भर्चुअल बजारमार्फत गर्ने नीति बनाएको छ ।'

८। टिम कुक, एप्पल
एप्पल टिम कुकको नेतृत्वमा विश्वकै एक महत्त्वपूर्ण कम्पनीका रूपमा चिनिएको छ । यसको बजार मूल्य पनि विस्तारै उकालो लाग्दै १ खर्ब डलर पुग्न लागेको छ । आर्यफोन १० को बिक्री तीव्र रूपमा नभए पनि नोभेम्बर २०१७ ल्याइएको यस फोनलाई आकर्षक र नौलो उत्पादन मानिएको छ । एप्पल म्युजिकको प्रयोगकर्ता पनि ४ करोड पुगिसकेको छ ।

९। एलोन मस्क, स्पेस एक्स
विश्वकै सबैभन्दा शक्तिशाली रकेट निर्माण गरेर चर्चामा आएको स्पेस एक्सका प्रमुख हुन् एलोन मस्क । यस कम्पनीले गत फेब्रुअरीमा मात्रै शक्तिशाली रकेटको सफल प्रक्षेपण गरेको थियो । शक्तिशाली व्यक्तिको सूचीमा २१ औं स्थानमा रहेका उनी टेल्सा नामक शक्तिशाली र आधुनिक विद्युतीय गाडी उत्पादन गर्ने कम्पनीका पनि प्रमुख हुन् ।

१०। मा हुवातेङ, टेसेन्ट
दस शक्तिशाली सीईओको गणनामा अन्तिममा रहेका छन् एसियाका सबैभन्दा धनी व्यक्ति मा हुवातेङ । पोनी मा उपनामबाट चर्चित हुवातेङ इन्टरनेट–व्यापार कम्पनी टेन्सेन्टका प्रमुख हुन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण त्यहाँ विस्तार भइरहेको व्यापार र अनलाइन गेम उनको व्यापारको प्रमुख हिस्सा हो ।
–फोब्र्स म्यागजिन

प्रकाशित : जेष्ठ ११, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?