३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ट्याटु क्रेज

काठमाडौँ — देशको पूर्वसीमा सहर काँकडभिट्टामा बस्छन् सागर मगर । खासमा उनी चित्रकार हुन् । देही आर्ट ग्यालेरीका संस्थापक सदस्य हुन् । २५ वर्षीय उनी चित्र कोर्दाकोर्दै ट्याटु आर्टिस्ट बन्न पुगे ।

ट्याटु क्रेज

उनी पाँच वर्षअघि स्थानीय पशुपति माविमा चित्रकला पढाउँथे । अर्को स्कुल लोफोफोरस माविले चित्रकला प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताको मुख्य निर्णायक थिए, सीमापारिको सहर सिलिगुडीका कलाकार सुरज विश्वकर्मा । प्रतियोगितामा सागरले पनि भाग लिएका थिए । सुरजलाई सागरको चित्र औधी मन पर्‍यो । सुरजले बोलाएर भनेछन्, ‘भाइ तिमीसँग चित्र बनाउने राम्रो कला रहेछ, ट्याटु बनाउन पनि सिक, राम्रो हुन्छ ।’


सुरजको हौसलापछि उनी ट्याटु सिक्न हौसिए । करिब दुई महिना सिलिगुडी धाए । तीनमहिने कोर्स उनले दुई महिनामै पूरा गरिदिए । त्यही सीपलाई उनले पेसाका रूपमा अँगालेका छन् । उनले व्यावसायिक रूपमै ट्याटु पार्लर सुरु गरेका छन् । हालै काँकडभिट्टाको सुपारी लाइनमा यिनले ‘आई डु इंक’ नामक ट्याटु पार्लर सुरु गरे । सुरजले नै पार्लरको उद्घाटन गरेका थिए ।


ट्याटु पार्लर खोलेपछि सुरजले भने, ‘सागर प्रतिभाशाली कलाकार हुन्, उनले कलाकारितालाई पेसाका रूपमा अँगालेका छन्, चित्र कोरेर पनि बाँच्न सकिन्छ भन्ने उदाहरण पनि दिएका छन् ।’ देही आर्टका विद्यार्थी बलराम बस्नेतसँगको सहकार्यमा सागरले करिब ५ लाख रुपैयाँ खर्चिएर ट्याटु पार्लर सञ्चालनमा ल्याएका हुन् । यहाँ उनले ट्याटु खोप्ने काम मात्रै गर्दैनन्, ट्याटु खोप्न सिकाउँछन् पनि ।


उनी ट्याटु खोपेको प्रतिइन्च हजार रुपैयाँ लिन्छन् । खोप्न सिकाएको चाहिँ ३०–४० हजार बुझ्छन् । ‘युवा पुस्तामा ट्याटु मोह बढ्दो छ,’ सागर सुनाउँछन्, ‘युवालाई लक्षित गरेर काम सुरु गरेका हौं ।’ ट्याटुप्रति समाजको दृष्टिकोण पनि फेरिँदो छ । समाजका लब्ध प्रतिष्ठितहरूले पनि ट्याटु खोप्न थालेका छन् । यसले उनीहरूलाई थप हौसला मिलेको छ । ‘पहिला ट्याटु खोप्ने सबैलाई दुव्र्यसनीका रूपमा हेरिन्थ्यो,’ सागर भन्छन्, ‘अहिले समाजको दृष्टिकोण बदलिँदै गएको छ ।’


उनको पसलमा ट्याटु खोप्नेको भीड बाक्लै हुन्छ । झापादेखि छिमेकी सिलिगुडी, बागडोग्रा, दार्जिलिङ र सिक्किमसम्मका मानिस ट्याटु खोप्न आउँछन् । देही आर्ट ग्यालेरीका अध्यक्ष छितेन शेर्पाले चित्रकारिताप्रति समाजको नजरीया अझै बदलिन बाँकी रहेको सुनाए । थपे, ‘समाजले चित्र त बुझेको छैन, ट्याटुलाई बुझ्न समय लाग्छ ।’


ट्याटुको क्रेजी सञ्जीव राई भन्छन्, ‘समाजले ट्याटुलाई बुझ्न थालेको छ, यो हाम्रा लागि खुसीको कुरा हो ।’ करिब १० वर्षअघि नै शरीरका विभिन्न भाग ट्याटुले रंगाएका सञ्जीवले समाजको हेपाहा प्रवृत्ति सहनुपर्‍यो । ‘ट्याटु खोप्नेलाई समाजले नराम्रो नजरले हेथ्र्यो,’ उनको अनुभव छ, ‘तर, अहिले अभिभावकहरूले नै ट्याटु खोपेर इच्छा पूरा गर्ने गरेको पनि
पाइएको छ ।’
–पर्वत पोर्तेल

प्रकाशित : जेष्ठ ११, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?