कान्छीमायाको कमाल

हिमेश वज्राचार्य

काठमाडौँ — सन् २००६ को कोलम्बो दक्षिण एसियाली खेलकुद । सुगतदासा स्टेडियम । यो नै श्रीलंकाली राजधानीको मुख्य रंगशाला हो । एथलेटिक्सका लगभग सबै प्रतिस्पर्धा यहीं भएका थिए । श्रीलंका एथलेटिक्समा बलियो थियो नै, त्यसमाथि भारतको दरिलो उपस्थिति । यस्तोमा महिला १० हजार मिटर दौडमा नेपाली खेलाडीले कुनै पदक जित्ने छ भनेर सोचिएकै थिएन ।

हुन पनि दक्षिण एसियाली स्तरमा नेपालले पुरुषतर्फ राम्रै चुनौती पेस गरे पनि महिलातर्फ कमजोर नै छ । तर सोचलाई गलत सावित गरिन्, कान्छीमाया कोजुले । मलाई त्यो दिन, त्यो स्पर्धा अनि त्यो क्षण अझै ताजासँग याद छ । हामी केही पत्रकारले त्यो क्षणलाई आत्मसात् गर्न पाएका थियौं । दौड सुरु भएयता भारतकी प्रेज श्रदिधरणले सुरुदेखि नै अग्रता कायम गरिन् । दौडमा लगभग पूरा समय उनको पछाडि थिइन्, हाम्रै कान्छी । प्रेजले नयाँ रेकर्डसँगै स्वर्ण जितिन् । कान्छी उनी भन्दा २४ सेकेन्डले मात्र पछाडि परिन् ।


त्यसमा गुनासो गर्ने ठाउँ थिएन, आखिरमा कान्छीले रजत जितेकी थिइन् । नेपालका लागि कान्छीले गरेको यो ऐतिहासिक प्रदर्शन थियो । यसअघि कोही पनि नेपाली खेलाडीले दक्षिण एसियाली खेलकुदमा रजतसम्म पनि जितेको थिएन । जितेका जति पनि कांस्य थिए, ती सबै एक प्रकारले उपहार जस्तै थिए । कान्छीले भने त्यो पदक हकले जितेकी थिइन् । नेपाली एथलेटिक्स इतिहासमा यो नै महिलातर्फको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो ।

Yamaha


कान्छीले के रजत जितिन्, नेपाली ‘क्याम्प’ मा खुसीको रहर छाएको थियो । विशेषत: एथलेटिक्ससँग सम्बन्धित जति पनि प्रशिक्षक र पदाधिकारी सगतदासा रंगशालामा थिए, ती सबैको अनुहारमा चम्किलो प्रसन्नता थियो । हामी पनि ट्रयाक नजिकै थियौं, ‘फिनिस लाइन’ नाघेयता कान्छीले सुरुमा ‘हुँकार’ भरिन् । असिनपसिन शरीरलाई केही आराम दिएपछि उनले हामीलाई सोधेकी थिइन्, ‘साँच्चै म दोस्रो भएँ है ?’ वास्तवमै यही स्वप्निल सफलता थियो, त्यो ।


अहिले कान्छीको यो प्रदर्शनले पनि १२ वर्ष काटिसकेको छ । त्यति बेला कान्छी भर्खरकी युवा थिइन्, २४ वर्षकी । कम उचाइ, त्यसलाई सुहाउने दुब्लो भन्न मिल्ने शरीर । त्यही कान्छीले त्यसयताको एक दशक नेपाली एथलेटिक्सको महिला मध्यम र लामो दूरीको दौडमा एकछत्र राज गरिन् । अहिले पनि हाफ अथवा पूरा म्याराथनमा कान्छीलाई चुनौती दिने कोही पनि छैन । उनले जसरी आफूलाई यसबीचको समयमा स्थापित गरिन्, यो नै उनको सफलताको खास कथा हो ।


नेपाली खेलुकदका लागि कान्छी किन विशेष छिन् त ? त्यसको उत्तर पनि यही हो । नेपाली एथलेटिक्सले उनी जत्तिको महिला खेलाडी पाएकै छैन । कान्छीको खेल जीवनमा धेरै उतारचढाव पाइन्छ । त्यसमा धेरै राम्रा पक्ष छन् अनि केही काला पक्ष पनि । यसबीच पनि उनले कहिल्यै दौडिन भने छोडिनन् । खेलाडीको काम खेल्ने हो भने उनले इमानदारीपूर्वक त्यो भूमिका निर्वाह पनि गरिन् । कान्छीको कमाल यही हो ।


यसपल्टको कान्तिपुर रनर हाफ म्याराथन पनि उनले आरामले जितिन् । उनको प्रिय प्रतिस्पर्धा हो, यो । कान्छीले यसपटक पनि दोडिँदै छिन् भन्ने के खबर आयो, सबैले एकै स्वरले भने, यसपल्ट पनि जित्ने त उनै होलान् । खासमा यसपल्ट पहिलो हुन उनले खासै मिहिनेत गर्नुपरेन । जितेयता उनी केही थकित भने देखिन् । सायद उनीमाथि उमेर पो हाबी हुन थालेको हो कि ? अहिले उनी ३६ वर्षकी भइन् । उनलाई जित्न गाह्रो त भएन, तर शरीरलाई भने केही गाह्रो भयो, यो उनकै भाषा थियो ।


ठीक एक वर्ष अगाडि फर्कने हो भने त्यति बेला पनि कान्तिपुर हाफ म्याराथन उनैले जितेकी थिइन् । त्यसो त उनले यो स्पर्धा जितेको कीर्तिमान पनि पाँचौंपल्ट पुगेको छ । यसमध्ये विशेष पोहोर नै रह्यो होला । त्यति बेला उनी एकपछि अर्को चोटबाट गुज्रिरहेकी थिइन् । चोटले उनलाई हुनसम्म दु:ख दिइरहेको थियो । यस्तोमा उनले सहभागिताको जोखिम उठाइन् । त्यति बेला उनले पनि दौडिँदै छिन् भन्दा केहीको प्रतिक्रिया थियो, यसपल्ट कान्छीले गर्न सक्ने केही होइन ।


डर थियो, उनले कतै दौड बीचमै छोड्ने त होइन ? अदम्य साहसकी कान्छीले सबैखाले अनुमानलाई फेरि गलत सावित गरिन् । जति बेला उनले फिनिस–लाइन छुन सफल रहिन्, फेरि एकपल्ट हुँकार भरिन् । यस्तै काम उनले धेरै अगाडि कोलम्बोमा पनि गरेकी थिइन् । यसपल्ट जित्दा उनको अनुहारमा सन्तोषको भाव देखिन्थ्यो, एक वर्ष अगाडि यही स्थितिमा उनको अनुहारमा आफूलाई प्रमाणित गरेको गर्व देखिन्थ्यो । त्यति बेला उनकै भाषामा उनलाई जसरी पनि दौड जित्नु थियो ।


अब प्रश्न उठ्छ, कति वर्षसम्म कान्छीले कान्तिपुर हाफ म्याराथनमा दौडिने हो ? अथवा त्योभन्दा पनि महत्त्वपूर्ण प्रश्न कान्छीले संन्यास लिने कहिले हो ? आखिरमा उमेर त संन्यासको संघारमा पुगिसकेको छ । उनी चाहन्छिन्, सके त पूरा जीवन दौडिरहुँ जस्तो लाग्छ । तर खेलाडीले चाह्यो भन्दै यस्तो हुने त होइन नै । सायद अर्को वर्ष उनी अन्तिम पटक कान्तिपुर म्याराथनमा दौडिने छिन् । सायद जित्ने पनि छिन् । कान्तिपुर म्याराथन उनलाई निकै प्रिय छ, यस्तोमा कान्छीले मन फेर्न पनि बेर छैन, यो सम्भावना पनि उत्तिकै छ ।


कान्छी साँच्चै नेपाली एथलेटिक्सका लागि विशेष रहनु पछाडि उनी जहाँबाट आइन् र जसरी आफूलाई एथलेटिक्सतर्फ मोडिन्, त्यो पनि महत्त्वपूर्ण छ । भक्तपुरकी धाविका हुन्, उनी । यसअघि सायद भक्तपुरले उनी जत्तिको महिला खेलाडी दिएको थिएन । ब्यासीको मध्यमवर्गीय परिवारमा हुर्केकी कान्छी आफूले जानेदेखि दौडिन सुरु गरिन् । ख्यालख्यालमै यसरी दौडिन् कि यो नै उनको जीवन भयो ।


अहिले उनको ‘सीभी’ पल्टाउनुपर्छ, त्यसमा दक्षिण एसियाली खेलकुद मात्र छैन । छन् त एसियाली खेलकुद अनि ओलम्पिक पनि । नेपालको प्रतिनिधित्व गरेर कान्छीले ओलम्पिक खेल्नु आफैंमा ठूलो उपलब्धि हो । कान्छीलाई यसमा गर्व छ नै । यहाँनिर उनको जीवनका दुई घटनालाई दोहोर्‍याएर उल्लेख गर्न आवश्यक छ । उनी प्राय: यी घटनाको चर्चा गरेको मन पराउँदिनन् किनभने उनलाई यसमा पश्चाताप पनि छ । एकपल्ट उनी जापान पुगिन्, त्यहीं भासिने प्रयास गरिन् । तर सकिनन्, केही समयमै नेपाल फर्किन् ।


अर्कोपल्ट उनी केही समयका लागि क्यानडामा पनि हराइन् । पछि उनी त्यहाँबाट पनि फर्किन् । यी दुई घटनाले उनलाई पीडा दिएको हुनुपर्छ, त्यसो नगरेर हुन्छ भन्ने सोच बनेको पनि हुनुपर्छ । तर यी घटनाले उनलाई मानसिक रूपमा बलियो खेलाडी पनि बनायो । सम्भवत: उनी पछिल्लो समय जति पटक दौडिन्, त्यति पटक आफूलाई अब्बल सावित गरेर ती घटनालाई गौण बनाउने प्रयास गरिन् । यस्तो पुनरागमन कहाँ सजिलो हुन्छ र ?


यहाँनिर एउटा प्रश्न के पनि महत्त्वपूर्ण हुन्छ भने कान्छीपछि नयाँ पुस्ताका खेलाडी किन जन्मन सकेनन् ? यसको उत्तर सजिलो छैन, कान्छीलाई पनि यो सत्यताले दु:ख दिन्छ । अहिलेको उनको यो उमेरमा उनलाई गतिलो चुनौती दिने खेलाडी भए, कति राम्रो हुने थियो होला ? कान्छीको योजना छ, अबका केही वर्षमा उनी यस्तै योजनामा व्यस्त हुनेछिन् । योजना राम्रा खेलाडी उत्पादन गर्ने । अहिले नै उनी धेरैका लागि ‘मोडेल’ खेलाडी हुन् नै, जसले दौडेर नाम, ख्याति, प्रतिष्ठा सबै कमाइन्, त्यो पनि आफ्नो देशका लागि । कान्छी कमालकी छन् ।

himesh36@gmail.com

Esewa Pasal

प्रकाशित : जेष्ठ ११, २०७५ ११:१८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ह्यान्डसम भिलेन

गोकर्ण गौतम

काठमाडौँ — हिरो हुन सुकिलो–मुकिलो, बलिष्ठ ज्यान अनि चकलेटी मुहार नै चाहिने । भिलेनचाहिँ चुल्ठे–मुन्द्रे र अजंगको शरीर । भनुँ न, देख्दै डरलाग्दो हुनुपर्ने । दयाहाङ राई, सौगात मल्ल, विपिन कार्कीको आगमनसँगै हिरोको परम्परागत परिभाषा बदलियो । खासगरी, लुट रिलिजपछि । अचेल दयाहाङ कोटीका हिरोकै हालिमुहाली छ । यो सबैले देखेको कुरा भइहाल्यो । त्यसो भए भिलेनको सवालमा ?

भिलेनको हुलियामा पनि बदलाब नआएको होइन तर हिरोको अनुपातमा अलि कम । अनि, जति परिवर्तन भएको छ, त्यति याद गरिएको छैन । अचेल पर्दामा देखिने भिलेन डरलाग्दा हुँदैनन्, सुन्दर र सफाचट हुन्छन् । भनौं न, हिरो जस्तै । नपत्याए अनुपविक्रम शाही र प्रशान्त ताम्राकारलाई हेरे पुग्छ । पछिल्लो समय नकारात्मक भूमिकाबाट उनीहरू जति सायदै कोही चिनिएको छ । दुवै मोडलिङ पृष्ठभूमिका हुन् । दुवैसँग ‘हिरो’ का लागि चाहने गुण छ । तैपनि आमदर्शकमाझ नकरात्मक भूमिकाबाट आए । अग्लो कद र आकर्षक शरीरका धनी अनुप भन्छन्, ‘वास्तवमै डनहरू टाईसुटै हुन्छन् । रिलमा पनि त्यस्तै चित्रण हुनुपरिहाल्यो नि ।’


अनुपलाई लाग्छ, हिरो वा गुन्डा भनेर चरित्रलाई छुट्याउन आवश्यक हुन्न । एउटा कलाकारका लागि चरित्र प्रभावकारी र बलियो हुनुपर्‍यो, प्रवृत्ति सकारात्मक वा नकारात्मक के छ, त्यो अलग कुरा हो । उनी भन्छन्, ‘त्यसैले मैले कहिल्यै हिरो बन्छु भनेर सोचिनँ । सिर्फ कलाकार बन्छु भन्ने मात्र थियो ।’ अक्सर नयाँ कलाकार भिलेनबाट करिअर सुरु गर्न हिचकिचाउँछन्, आफ्नो छविमा असर पर्छ भन्ने भयले । अनुपलाई यो भ्रमले गाँजेन ।


अनुपको यात्रा ‘एन्टागोनिस्ट’ बाटै सुरु भयो, त्यो पनि राजेश हमाल हिरो भएको फिल्म हँसियाबाट । फिल्म व्यावसायिक रूपमा सफल भएन तर अनुपको व्यस्तता बढ्यो ।
राजेशपछि उनी अर्का सुपरस्टार निखिल उप्रेतीको फिल्म किङमा भिलेन बने । यतिबेला अनुप ‘निगमबाबा’ को उपनामले परिचित छन्, फिल्म कृमा उनले निर्वाह गरेको भिलेनको नाम हो त्यो । जसले हिरोइनलाई बलात्कार गर्छ । अवैध धन्दामा संलग्न छ । अनुप सुनाउँछन्, ‘यस्तो घृणित पात्रलाई विश्वसनीय बनाउन साँच्चै मुस्किल पर्नेरहेछ । त्यसमाथि यस्तै पात्रबाट दर्शकको मन जित्न अझ मुस्किल ।’ तर उनी त्यो चुनौतीलाई अवसरमा बदल्न धेरै हदसम्म सक्षम रहे । त्यसैले त अनमोल केसी स्टारर यो फिल्ममा अनुप छाया परेनन् ।


अहिलेका अर्का चल्तीका हिरो प्रदीप खड्का अभिनीत लिलीबिलीमा पनि अनुप भिलेनका रूपमा देखिए । पर्दामा सशक्त उपस्थितिका कारण हुनुपर्छ, अनुप भिलेन भएपछि कतिपय हिरोहरू असुरक्षित महसुस गर्छन् । उनको अनुभव के छ त ? ‘कति एक्टर अनुप छ भनेर पनि डराउँछन् तर डराउनु पर्दैन । क्लाइमेक्समा हिरोकै जित हुन्छ,’ उनले सुनाए ।


हिरोमाथि हाबी हुन सक्ने यस्तै सामथ्र्य छ, प्रशान्तसँग पनि । जस्तो : ऐश्वर्याका हिरो रमेश उप्रेती हुन्, उनको चरित्रको नाम के थियो, सायदै कसैलाई याद होला तर प्रशान्तले निर्वाह गरेको चरित्र राघवको अझ चर्चा हुने गर्छ, जबकि राघव त भिलेन थियो । उनको वजनदार आवाज ‘प्लस पोइन्ट’ बनिदियो । ‘यो संसार जित्नेहरूको हो,’ ‘बिजनेसले टाउको दुखाउँछ, तर प्रेमले मुटु दुखाउँछ,’ ‘चाहे जेसुकै गर्नुपरोस्, मलाई त्यो ऐश्वर्या चाहिएको छ,’ लगायतका संवाद औधी हिट भए ।


‘नेगेटिभ रोलबाट त्यस्तो प्रशंसा पाइएला भनेर सोचेकै थिइनँ,’ मुस्कुराउँदै प्रशान्तले भने, ‘पात्रलाई आत्मसात् गर्नुपर्छ । हिरो वा भिलेन जे भए पनि दर्शकले रुचाउँछन् भन्ने आभास भयो ।’ ऐश्वर्या अगाडि पनि उनले मुखौटा र सम्बोधनमा नकारात्मक भूमिकाबाट प्रशंसा कमाएका थिए । ऐश्वर्यापछि त प्रस्तावको ओइरो लागेको उनी बताउँछन् । रणवीरको चरित्रले ऐश्वर्याको राघव बिर्साउने अपेक्षा छ उनको ।


यस्तो नकारात्मक भूमिकाको तयारी कसरी गर्छन् त ? प्रशान्त भन्छन्, ‘जन्मजात कोही नराम्रो हँुदैन । परिस्थितिले गलत कार्यतिर धकेलिदिन्छ । यही सत्यलाई आत्मसात् गरेर नेगेभिट रोललाई जीवन्तता दिने प्रयास गर्छु ।’ उनका अनुसार सुटिङका दौरान पात्रको ‘ह्याङ ओभर’ हुने भए पनि सुटिङ सकिनासाथ पात्रबाट पर भाग्न सक्नुपर्छ । रमाइलो कुराचाहिँ, जय शम्भुमा हिरोचाहिँ अनुप हुन् । उनी ठट्टा गर्छन्, ‘भिलेन बलियो भएपछि मात्र हिरोको भ्यालु बढ्छ । जय शम्भुमा प्रशान्त दाइकै कारण मेरो भ्यालु बढ्दै छ ।’

gokarna.gtm@gmail.com

प्रकाशित : जेष्ठ ११, २०७५ ११:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT