कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

एप्पलले के ल्याउँदै छ ?

काठमाडौँ — एप्पलले हरेक वर्ष आयोजना गर्ने वार्षिक डेभलपर कन्फ्रेन्स (डब्लूडब्लूडीसी) लाई आफ्नो नयाँ उत्पादन घोषणा र सार्वजनिक गर्ने मौकाका रुपमा सदुपयोग गर्दै आएको छ । उसले अधिकांश आइफोनको घोषणा सेप्टेम्बरमा गरे पनि अन्य उत्पादनको घोषणा र सार्वजनिकीकरण भने डेभलपर कन्फ्रेन्समा गर्दै आएको छ ।

एप्पलले के ल्याउँदै छ ?

एप्पलले यसपालि जुन ४ देखि यो कन्फ्रेन्स आयोजना गर्दैछ ।
एप्पलले यो अवसरमा आफ्ना के नयाँ उत्पादन सार्वजनिक गर्दैछ ? यसमा केही उत्तर लगभग उस्तै हुन्छन् । जस्तो कि एप्पलले हरेक वर्षजसो आफ्नो डेभलपर कन्फ्रेन्समा आफ्नो अपरेटिङ सिस्टमको नयाँ संस्करणको घोषणा गर्छ । र, म्याकबुकका नयाँ संस्करण पनि सार्वजनिक गर्दै आएको छ । उसले उत्पादन गर्ने आइवाच र अन्य सेवाको घोषणा पनि यो बेलामा गर्दै आएको छ । परम्परालाई विश्वास गर्ने हो भने यो वर्ष पनि यस्तै हुनेवाला छ, जस्तो यसअघि हुँदै आएको थियो । एप्पलले यो साता सार्वजनिक गर्न सक्ने नयाँ उत्पादनहरु :

आईओएस १२
एप्पलले अघिल्लो वर्ष यही कन्फ्रेन्सको अवसर पारेर आईओएस ११ को घोषणा गरेको थियो । यद्यपि उसको घोषणापछि पनि त्यसमा धेरै समस्या देखिए र उसले सुधार्दै लग्यो । नयाँ अपरेटिङ सिस्टममा नयाँ आवरणसहित केही नयाँ फिचर पक्कै आउनेछन् । त्यसबाहेक अर्को महत्त्वपूर्ण कुरा हो, प्रयोगकर्तालाई धेरै समय स्मार्टफोन प्रयोग गर्न निरुत्साहित गर्ने फिचर ।


गुगलले केही साताअघि भएको आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्समा प्रयोगकर्तालाई आफूले चाहेको समय जतिमात्रै स्मार्टफोन प्रयोग गर्न सघाउने फिचर ल्याउने घोषणा गरेको थियो । यो फिचर उसको एन्ड्रोइड अपरेटिङ सिस्टममा हुनेछ । एप्पलको नयाँ उत्पादन र सेवाबारे ‘लिक’ गरिरहेकाहरूको दाबी छ, यो पटक आईओएस १२ मा एन्ड्रोइडको यो फिचर समावेश हुनेछ ।

सिरी
एप्पलले आफ्नो भ्वाइस असिस्टेन्ट सिरीलाई हरेक वर्ष सुधार्दै लगेको छ । धेरैभन्दा धेरै थर्ड पार्टी एपमा काम गर्ने, मानिसको आवाज चाँडै चिन्न सक्ने र सन्दर्भ मिल्ने खालको जवाफ दिने क्षमता सिरीमा बढ्दो छ । यो वर्ष यसमा के थप होला ? सम्भवत: सिरीमा केही सुधारिएको फिचर आउनेछन् ।


त्यसभन्दा मुख्य कुराचाहिँ सिरीले प्रयोगकर्ताको निर्देशनमा फोन गर्नेहरूलाई नम्र भाषामा अस्वीकृत भएको सन्देश दिन सक्नेछ । एप्पलले केही समयअघि दर्ता गरेको प्याटेन्ट राइटले यसको छनक दिएको छ जसमा प्रयोगकर्ताले कुनै फोन उठाउन नचाहेमा सिरीले स्वत: नम्र भाषामा सन्देश पठाउनेछ । केही साताअघि गुगलले पनि आफ्नो भ्वाइस असिस्टेन्ट सर्भिस गुगल असिस्टेन्टमा ६ वटा आवाज सुन्न मिल्ने सुविधा मिलाएको थियो । साथै, अहिले गुगल असिस्टेन्टमा हरेक पटक ओके गुगल भन्नुपर्ने बाध्यता पनि हटाइएको छ ।


आइफोन एसई–२
आफ्नो फाइभ एसपछिको फोनका रूपमा सन् २०१६ मा एप्पलले आइफोन एसई निकालेको थियो । सानो स्क्रिन भएको आइफोन तर आइफोन सिक्स र सिक्स एसको अधिकांश फिचर समेटेर । अहिले सम्भावना छ, एप्पलले आइफोन एटको फिचरसहित आइफोन एसई सार्वजनिक गर्नेछ । यसका केही विशेषता: आइफोन टेनको जस्तै हुनेछ तर मूल्य कम ।
आइफोन एसईको अनुभव आइफोनका लागि राम्रो पनि छ किनकि ठूलो स्क्रिन भएको आइफोन सिक्स र सिक्स एस नरुचाउनेका लागि आइफोन एसई प्रभावकारी भएको थियो र यसको बिक्री उल्लेख्य पनि भएको थियो । अहिले आइफोन टेनको बिक्री राम्रो भए पनि त्यो बजेटमा आइफोन नकिन्ने प्रयोगकर्ताका लागि आइफोन एसई टु उपयोगी हुनेछ । यसले मध्यम मूल्यको स्मार्टफोन बजारमा एप्पलको उपस्थिति पनि बलियो बनाउनेछ ।

म्याकबुक र आइप्याड
एप्पलले यो समय म्याकबुकको नयाँ मोडल घोषणा वा सार्वजनिक गर्ने सम्भावना पनि उत्तिकै छ । यसको बाहिरिएको दाबीहरूलाई आधार मान्ने हो भने १९.९ इन्च र १०.५ इन्च स्क्रिनका आइप्याड मोडलहरू सार्वजनिक गर्नेछ । यसमा सुधारिएका सुविधा त पक्कै हुनेछन् । त्यसबाहेक म्याकबुक र म्याकबुक मिनी सिरिजको नयाँ मोडल सार्वजनिक गर्ने सम्भावना पनि उत्तिकै छ ।
–एजेन्सीहरूबाट

प्रकाशित : जेष्ठ १८, २०७५ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?