१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

जसले जिते अवार्ड

काठमाडौँ — जापानको टोयोटा म्युनिसिपल म्युजियम अफ आर्टमा अघिल्लो साता सम्पन्न १८ औं अन्तर्राष्ट्रिय कला प्रतियोगिता एवं प्रदर्शनीमा सात नेपालीसँग १५ देशका ९२ कलाकार सहभागी थिए ।

जसले जिते अवार्ड

कलाकारहरुको समूह ग्लोबल आर्टिस्ट मुभमेन्टद्वारा आयोजित यसमा आ–आफ्ना देशका स्थापित कलाकारहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा तीन अवार्ड जितेका नेपालीबारे विमल खतिवडा लेख्छन्:


सरिता डंगोल
रूख शृंखलाका चित्रले सरिता चर्चित छिन् । त्यसमा उनले एकल प्रदर्शनी पनि गरिसकेकी छन् । अहिले उनी खुर्सानी सिरिजमा काम गरिरहेकी छन् । तर उनी नाग सिरिजको पेन्टिङ लिएर सहभागी भएकी थिइन् । उनले नागपञ्चमी र नाग पूजाको महत्त्वलाई चित्रमा उतारेकी थिइन् । यस चित्र तयार पार्न एक महिना लागेको उनले बताइन् ।


धेरै प्रतिस्पर्धीमाझ टोयोटा अवार्ड जितेकी उनी भन्छिन्, ‘पहिला यस्ता प्रतियोगिता र प्रदर्शनीमा जापानमै बस्ने नेपाली सहभागी हुन्थे । हामी पेन्टिङ लिएर जापान पुग्यौं । र, पहिलो सहभागितामै अवार्ड जित्यौं । यस्तो उपलब्धि आशा गरिएको थिएन ।’


दर्शकको भोटिङपछि निर्णायकहरूले अवार्ड विजेताको घोषणा गरेका थिए । क्लासिक ग्यालरी पनि सञ्चालन गरिरहेकी ४२ वर्षीया उनले स्वदेश फर्केपछि भनिन्, ‘एकदमै राम्रा पेन्टिङ पनि थिए । एक साता लामो प्रदर्शनीमा दर्शकको मन जित्न पनि सफल भइयो ।’ थुप्रै देशमा भएको प्रदर्शनीमा सहभागी भइसकेकी छन् ।

कृष्णगोपाल श्रेष्ठ

प्रतियोगिता/प्रदर्शनीमा सहभागी हुन कला नेपालमै तयार गरेर लानुपर्ने थियो, जापानमै रहेर वुमेन फर वुमेन कार्यक्रम सञ्चालन गरिरहेकी आस्था तुलाधरबाहेक ६ नेपालीले त्यसै गरे । साँखुका कृष्णगोपालले समसामयिक चित्र जापानमा प्रस्तुत गरेका थिए, जुन पूरा गर्न दुई साता लागेको थियो ।


उनको सिर्जनामा नेपालको सम्पदा र संस्कृतिको वर्तमान अवस्थालाई एक युवतीको भावमा प्रस्तुत गरिएको छ । ‘सम्पदा जीर्ण र नष्ट भइरहेको अवस्थामा स्थानीय नेवारी महिलालाई पनि त्यसमा समेटेर चित्र तयार पारेको थिएँ,’ आइची चेयरमेन अवार्ड जितेका कृष्णगोपालले भने । उनको चित्रमा मौन प्रार्थना गरिरहेका पञ्चबुद्ध पनि राखिएको छ । ‘काम गर्दा निकै मिहिनेत गरेको थिएँ । त्यसैले दर्शकको मन जित्ने आशा गरेको थिएँ । र, त्यस्तै भयो पनि,’ ३६ वर्षीय कृष्णगोपालले भने, ‘जापानमा गएर कला प्रदर्शन गरेर नेपाली कला चिनाउनु नै हाम्रा लागि महत्त्वपूर्ण हो ।’


प्रदर्शनीमा राखिएका कलाबारे उनले भने, ‘गाढा रङ प्रयोग गरिएको भए पनि नेपाली कलामा सुख बुझ्न सकिन्थ्यो भने अरू जापानी कलामा चमक थियो तर सुख महसुस गर्न सकिने अवस्था थिएन । ती कलाले आ–आफ्ना देशको जनजीवन झल्काउँछन् ।’ नवीन्द्र राजभण्डारी, हिमाल गौतमसँगै उनले तयार पारेको राष्ट्रिय निसान छाप उत्कृष्ट भएर अहिले प्रयोग भइरहेको छ । राष्ट्रियस्तरका थुप्रै पुरस्कार जितेका उनको विशेषता नै सांस्कृतिक सम्पदा, मानवीय संवेदना र जनजीवनलाई क्यान्भासमा कोर्नु हो ।

सञ्जित महर्जन

अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले सञ्जितले अवार्ड नै जित्ने अपेक्षा गरेका थिएनन् । ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा पहिलोपल्ट सहभागी हुँदै थिए । त्यो नै मेरा लागि ठूलो कुरा थियो । त्यसैले ठूलो अपेक्षा राखिएको थिएन,’ ३३ वर्षीय उनले भने, ‘तर अवार्ड पाइयो । धेरै खुसी लागेको छ ।’


निक्कान अवार्ड जितेका उनी कुमारीको पोट्रेट लिएर जापान पुगेका थिए । उक्त चित्रले नेपाली संस्कृति झल्काउँछ । ‘अवार्ड जित्दा सपनाजस्तै लाग्यो,’ उनले भने, ‘यसले अझ राम्रो काम गर्न उत्साहित पार्छ ।’ कला प्रदर्शनले नेपाल र जापानबीच सांस्कृतिक आदानप्रदानको अवसर पनि दिएको उनले बताए ।


‘अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी हुँदा नयाँ सोच–विचार पनि आउँछ । विश्वका अरू स्थानमा कसरी काम हुन्छ, उनीहरूले के सोच्छन् भन्ने पनि थाहा हुने र प्रविधिबारे जानकारी पनि पाइने रहेछ,’ उनले अनुभव सुनाए । पाटनवासी सञ्जितले घण्टाको चित्रको सिरिज ‘अस्था’ को एकल प्रदर्शनी पनि गरिसकेका छन् ।

प्रकाशित : जेष्ठ १८, २०७५ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?