कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

पुटिन र फुटबल राजनीति

रुसले विश्वकप आयोजना गर्ने घोषणा भएको आठ वर्ष भएयता देशमा पुटिनको पकड भने उस्तै छ । रुसी जनतामाझ अझ लोकप्रिय भएका छन् । अन्तर्राष्ट्रिय कूटनीतिमा भलै पश्चिमासँग पुटिनको सम्बन्ध चिसिएको छ । अरू बाँकी विश्वसँग उनी अझ नजिकिएका छन् ।
हिमेश

काठमाडौँ — रुसी राष्ट्रपति भ्लादिमिर पुटिन खेल भनेपछि हुरुक्कै हुने पाराका छन् । कम्तीमा उनले यस्तै छवि बनाएका छन् । जति बेला विश्वकप २०१८ को उद्घाटन खेलमा रुस लुजनिकी स्टेडियममा साउदी अरेबियाविरुद्ध उत्रने छ, त्यहाँ पुटिन पक्कै हुनेछन् ।

पुटिन र फुटबल राजनीति

अनि साँच्चै जति बेला खेल सुरु हुनेछ, उनी अझ ढुक्क हुन सक्नेछन् । अब इतिहासले भन्नेछ, आखिरमा रुसमा विश्वकप भयो नै । त्यसो त पुटिनको अनुहारमा कुनै प्रकारको भाव नै देखिन्न । जुनै बेला पनि उस्तै हुन्छन् उनी ।


उनको भित्री मनमा भने पक्कै विश्वकप रुसमा ल्याएको गर्व हुनेछ । अथवा घमन्ड भनौं । कुनै समय थियो, जति बेला लाग्थ्यो, सायद रुसले विश्वकप आयोजना गर्न पाउने नै छैन, भलै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले रुसलाई विश्वकपको आयोजना जिम्मा दिइसकेको थियो । खैर, फिफा अध्यक्ष जियानी इन्फान्टिनो केही दिनअगाडि सोची पुगेका थिए । त्यहाँको प्रगति देखेर उनी मख्खै परे । रुसी तयारीमा उनी निकै सन्तुष्ट देखिए ।


अनि पुटिनबारे प्रशंसाका केही शब्द खर्चंदै उनले भनिहाले, ‘विश्वकप २०१८ अहिलेसम्म आयोजना भएका फुटबलका विश्वकपमध्ये उत्कृष्ट हुनेछ ।’ सायद मैदानमा रुसले त्यति खुसी मनाउन पाउने छैन्, किनभने पछिल्लो समय रुसी फुटबलमा त्यति दम छैन, जुन कुनै समय तत्कालीन सोभियत संघको फुटबलमा हुने गथ्र्यो । फिफालाई नै आधार मान्ने हो भने रुस यसपल्टको विश्वकपमा दोस्रो पुछार वरीयताको टिम हो । अर्थात रुसी फुटबल टिम बलियो छैन ।


त्यसैले रुसले खेलेका पछिल्ला पाँच खेलमध्ये कुनैमा पनि रुसले जित निकाल्न सकेको छैन । आयोजक नहुँदो हो त रुस यसपल्टको विश्वकपमा छनोट पनि हुने थिएन कि ? जेहोस्, साउदी अरेबियाको वरीयता रुसभन्दा पछाडि छ । रुस १० वर्षयता पहिलोपल्ट कुनै ठूलो प्रतियोगिताको नकआउट चरण पुग्ने प्रयासमा छ । र, उसले सजिलो समूह पनि पाएको छ । समूहका अरु दुई टिम हुन्, उरुग्वे र इजिप्ट । नकआउट चरण पुग्न समूहका शीर्ष दुई स्थानमा रहे पुग्छ ।


रुसी टिममा नाम चलेका खेलाडी पनि छैनन्, यति बेला । गोलरक्षक इगोर एकिनफेभ मात्र विदेशतिर सुनिएको नाम हुनसक्छ । तर राष्ट्रपति पुटिनले आफ्नो टिमबाट ठूलै आस गरेका छन् । उनले भनेका छन्, ‘रुसी टिमको प्रदर्शन ठोस हुनुपर्छ, जबरदस्त हुनुपर्छ । रुसी खेलाडीले डराउनुपर्ने केही छैन । टिमले यस्तो फुटबल खेलोस्, जुन रुसी प्रशंसकलाई मनपरोस् ।’ रुसी फुटबल खेलाडीका लागि यो मैदानमा उत्रँदा मन्त्र नै हुनेछ ।


रुसविरुद्ध पश्चिम
विश्वकप सुरु भएयता पनि रुसविरुद्ध खनिरहने बानी भएको पश्मिचेली राजनीति र मिडिया चुप लागेर बस्ने छैन । उनीहरूले सुरुदेखि भन्दै आएका छन्, रुसलाई आफ्नो महाशक्ति बाँकी विश्वलाई देखाउनु थियो, त्यसका लागि अहिले विश्वकपको अवसर मज्जाले प्रयोग गर्नेछ । सन् २०१० मा मात्र हो, रुसलाई अहिलेको विश्वकप आयोजना गर्ने देशका रूपमा चुनिएको । विश्वकप फुटबल पूरा विश्वमा हेरिने सबैभन्दा ठूलो खेल प्रतियोगिता हो । यसको आयोजनाको अवसर पाउन रुसले फिफा र यसका मुख्य–मुख्य पदाधिकारीलाई घुस खुवाएको आरोप लाग्यो र सुरु भयो कहिल्यै पनि समाप्त नहुने विवादको शृङ्खला । आफ्नो आर्थिक शक्तिको मद्दतले फिफा पदाधिकारीहरू रुसको वशमा परे भनेर भनियो । पश्मिचा र रुसबीचको राजनीतिक विवाद त्यतिबेला पनि उस्तै थियो, अहिले झन चर्केको स्थितिमा छ । मुद्दा त उनै हुन्, सिरिया र युक्रेन विवादसँगै इंग्ल्यान्डमा जासुसहरूको खेल ।
अन्तर्राष्ट्रिय कूटनीतिका जानकारलाई मान्ने हो भने अहिले रुस र पश्चिमेली देशबीचको सम्बन्ध पुराना दिनतिर फर्केको छ, जतिबेला शीतयुद्ध आफ्नो चरम उत्कर्षमा थियो । रुसले चार वर्षअगाडि सोचीमा शीतकालीन ओलम्पिक आयोजना गरेको थियो । त्यतिबेला पूरा देश नै लागेर रुसले आफ्ना खेलाडीलाई डोपिङ गराएको आरोप लाग्यो । डोपिङ अर्थात रुसले आफ्ना खेलाडीलाई योजनाबद्ध रूपमै प्रतिबन्धित शक्तिबद्र्धक औषधी प्रयोग गर्न लगाएको थियो ।


त्यसैले यसपल्ट दक्षिण कोरियाको प्योङचाङले शीतकालीन ओलम्पिक आयोजना गर्दा रुसले देशका रूपमा प्रतिनिधित्व पनि गर्न पाएन । प्रतिबन्ध थियो उसमाथि । रुसले विश्वकप आयोजना गर्ने घोषणा भएको आठ वर्ष भएयता देशमा पुटिनको पकड भने उस्तै छ, सके अझ मजबुत । केजीबीका यी पूर्व जासुस रुसी जनतामाझ अझ लोकप्रिय भएका छन् । अन्तर्राष्ट्रिय कूटनीतिमा भलै पश्चिमासँग पुटिनको सम्बन्ध चिसिएको छ, अरू बाँकी विश्वसँग उनी अझ नजिकिएका छन् ।


सन् १९८० को मस्को ओलम्पिकको सम्झना निकै पुरानो भइसकेको छैन । जतिबेला मस्कोले त्यो गृष्मकालीन ओलम्पिकको आयोजना गरेको थियो, त्यतिबेला आधा विश्व त्यस प्रतियोगिताबाट बाहिर रह्यो । तत्कालीन सोभियत संघले अफगानिस्तानमा हस्तक्षेप गरेको आरोपमा अमेरिकाको नेतृत्वमा पश्चिमेली देशहरूले ओलम्पिक नै बहिष्कार गरेका थिए । शीतयुद्धबीच साँच्चै अर्को विश्वयुद्ध हुने डरबाट गुज्रिरहेको समय थियो त्यो । खेलमा राजनीति खुबै छिरेको बेला थियो ।


त्यस ओलम्पिकका बेला सोभियत संघलाई एक्लो पार्ने पश्चिमको पाइला धेरै हदसम्म सफल रह्यो पनि । सायद यसपल्टको विश्वकपमा पनि रुसलाई एक्लो पार्ने पश्चिमका केही देशको योजना थियो, तर यो यसपल्ट पूरा हुन सकेन । केही दिन अगाडिसम्म पनि बहिष्कारका समाचार सुनिए, तर कसैले पनि घोषणा गर्न सकेन, यसपल्टको विश्वकप नखेल्ने भनेर । संयोगले अमेरिका यसपल्टको विश्वकपमा छनोट नै भएन । विश्वकपको खेल कूटनीतिमा यसपल्ट पुटिन र रुस सफल रहे ।


सबभन्दा ठूलो परीक्षा
कूटनीतिमा जस्तै सफलता प्राप्त गरे पनि पुटिन र रुसका लागि विश्वकप २०१८ उत्तिकै ठूलो चुनौती रहेको छ नै । यो चुनौती आर्थिक रूपमा बढी छ । विश्वकपकै लागि भनेर रुसले १३ विलियन डलर खर्च गरिसकेको छ । विश्वकप इतिहासमा यो खर्चको कीर्तिमान नै हो । यही खर्चको मद्दतले विश्वकपका खेल आयोजना गर्ने ११ सहरको मुहार फेरिएको छ । त्यहाँका रंगशालालाई अत्याधुनिक बनाइएको छ । सोभियत संघको विघटनयता ती सहरले नयाँ जुग हेर्न पाएका छन् ।


ती सहरका विमानस्थल पनि सुविधासम्पन्न भएका छन् । पुराना होटल छन् भने त्यसलाई नयाँ रूप दिइएको छ, नयाँ बनेका होटल छन् भने त्यसलाई भव्य बनाउन कुनै कसर छोडिएको छैन । रुसले छोटो समयमै विश्वकपका लागि भनेर १२ रंगशालालाई नयाँ जीवन दियो । यी सबैलाई अब पुटिनको ‘लिगेसी’ का रूपमा हेरिनेछ । जति बेला विदेशीले त्यहाँका विमानस्थल, रंगशाला, होटलदेखि पूरा सहरकै राम्रो व्याख्या गर्नेछन्, त्यतिबेला पुटिन अझ मख्ख पर्नेछन् ।


तर चुनौती यत्तिकै टुंगिने छैन । सोची ओलम्पिकका लागि रुसले ५० विलियन डलर खर्चेको थियो, त्यसको प्रतिफल मिश्रित रह्यो । रुसले भौतिक पूर्वाधारमा त्यतिबेला ठूलो रकम खर्चेको थियो, तर अहिले त्यसमध्ये अधिकांश स्थिति दयनीय छ । अधिकांसको फेरि दोहोर्‍याएर प्रयोग गरिएको छैन । धेरै जीर्ण स्थितिमै पुगेका छन् । फिफा चाहन्छ, कम्तीमा विश्वकपपछि यस्तो स्थिति नहोस् । रुसको उद्देश्य हुनेछ, विश्वकपका लागि गरिएको अन्धाधुन्ध खर्चले पूरा देशको आर्थिक स्थितिमा अवरोध नहोस् ।


अरु चुनौती
विश्वकप २०१८ का दौरान रुससामु अरु दुई ठूला समस्या पनि हुनेछन् । पहिलो समस्या हुनेछ, रुसी फुटबल हुल्याहा । अर्को रंगभेदी व्यवहार । दुवैमा पछिल्लो समय रुस बदनाम छ । यी दुवै चुनौतीलाई पुटिनले कसरी लिनेछ, त्यो हेर्नलायक हुनेछ । खासमा विश्वकप २०१८ को सफलता धेरै हदसम्म रुसले आफ्ना हुल्याहालाई कसरी नियन्त्रणमा राख्नेछ, त्यसमा भरपर्नेछ । यस्ता रुसी फुटबल हुल्याहाले २०१६ को युरोमा ठूलै बदनामी कमाए ।


उनीहरूले इंग्लिस समर्थकमाथि घातक हमला गरेका थिए, फ्रान्सेली सहर मार्सेमा । पछिल्लोपल्ट रुसी फुटबलको सबभन्दा ठूलो समस्या हिंसा नै बनेको छ । रुसका यस्ता फुटबल समर्थक मर्न र मार्न पछाडि पर्दैनन् । सन् सत्तरीको दशकमा यस्तै समस्या इंग्लिस फुटबलमा थियो । त्यतिबेला समर्थकहरू हिंसात्मक प्रदर्शन गर्थे र प्रतिद्वन्द्वीमाथि घातक हमला गर्थे । अहिले यस्तै समस्या रुसमा छ । सोभियत संघको विघटनसँगै रुसमा फुटबल हुल्याहाको समस्या सुरु भएको हो ।


सबभन्दा ठूलो चिन्ता यस्तो हिंसा व्यक्तिगत रूपमा नभएर संगठित रूपमै हुने गर्छ । रुसमा धेरै युवा बेरोजगार छन् । उनीहरू गरिब पनि छन् । उनीहरू नै बढी आक्रामक समर्थक बन्ने गर्छन् । त्यसमाथि उनीहरू उत्तिकै रंगभेदी छन् । उनीहरू अब नाजी हिटलरका समर्थक पनि हुन थालेका छन् । उनीहरू अश्वेत खेलाडीलाई देखिसहन्नन् । पुटिनलाई नजिकबाट चिन्नेको दाबी छ, कम्तीमा विश्वकप चलुन्जेल यी हुल्याहा र रंगभेदी कोही पनि देखा पर्ने छैनन्, देखिएमा उनीहरूमाथि चर्को र निर्मम दमन हुनेछ ।

twitter : @himeshratna

प्रकाशित : जेष्ठ २९, २०७५ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?