२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बलिया ब्राजिल र फ्रान्स

ब्राजिल विश्वकप उपाधिका लागि दाबेदार टोली हो । हरेक विश्वकपमा सहभागिता जनाउँदै आएको ब्राजिल पाँचपल्ट विश्व च्याम्पियन बनिसकेको छ, जुन आफैंमा कीर्तिमान हो ।
विनोद पाण्डे

काठमाडौँ — गत सिजनको सुरुमै ब्राजिलका स्ट्राइकर नेयमर पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने ठूलो चर्चा चलिरहेको थियो । नचलोस् पनि कसरी, यसले विश्व फुटबलको सरुवा बजारमा ठूलो उथलपुथल ल्याउँदै थियो । अन्तत: चर्चाअनुरूप नै नेयमर विश्व कीर्तिमानी रकममा फ्रान्सको राजधानीको क्लबमा लागे ।

बलिया ब्राजिल र फ्रान्स

धेरैले बार्सिलोनाबाट नेयमरको यात्रालाई लियोनल मेसी र लुइस स्वारेजको छायाबाट निस्कने प्रयास भने । कसैले नेयमरमा व्यक्तिगत गोलको भोक भने । यी सबै दाबी आफ्नै स्थानमा थियो । अर्को के थियो भने पीएसजीको टिमभित्र ब्राजिलको टिम बन्दै थियो । यो कसरी कसले बनाएको थियो भन्ने अस्पष्ट भए पनि केही हदसम्म यसमा सत्यता थियो । विश्वकप आउने अघिल्लो वर्ष नेयमर त्यसैलाई लक्षित गरी पीएसजी पुगेका थिए ।


पीएसजीमा यसअघि नै थियागो सिल्भा, थियागो मोटा, मारक्विन्होज, डानी अल्भेज जस्ता ब्राजिली खेलाडी थिए । अल्भेज चोटका कारण विश्वकपको टोलीबाट बाहिरिएका छन् । ३५ वर्षे मोटालाई राखिएको छैन । अन्य सबै खेलाडी ब्राजिलको विश्वकप टोलीमा छन् । भलै नेयमर विश्वकपमा उत्रन आफ्नो फिटनेससँग संघर्ष गरिरहेका छन् । एउटा निश्चित के हो भने ब्राजिली टोली एक वर्ष अगाडिदेखि नै खारिँदै आएको थियो ।


त्यही सदाबहार ब्राजिल विश्वकप उपाधिका लागि दाबेदार टोली हो । हरेक विश्वकपमा सहभागिता जनाउँदै आएको ब्राजिल पाँचपल्ट विश्व च्याम्पियन बनिसकेको छ, जुन आफैंमा कीर्तिमान हो । टिटे प्रशिक्षक भएर आएयता ब्राजिलले दक्षिण अमेरिकी छनोट चरणमा रवाफिलो प्रदर्शन गरेको थियो । टोली १० राष्ट्र सहभागी छनोटमा शीर्ष स्थानमा थियो । यही प्रदर्शनले ब्राजिललाई छैटौं विश्वकपको प्रवल दाबेदारमा उभ्याएको हो । ‘लगातार राम्रो प्रदर्शन गर्दै आएकाले ब्राजिललाई एउटा दाबेदारको रूपमा राखिएको छ,’ प्रशिक्षक टिटेले आफ्नो टोलीले आक्रामक रूपमा गोल गर्ने पहिचान बनाएको बारे हालै भनेका थिए, ‘मैले यो घमण्ड गरेको होइन, सत्य बोलिरहेको हो ।’


गोलरक्षकमा एएस रोमाका एलिसन र म्यानचेस्टर सिटीका एडरसनबीच प्लेइङ ११ मा पर्न चर्को प्रतिस्पर्धा छ । रक्षापंक्तिको जिम्मेवारी मार्सेलो, थियागो सिल्भा, मारक्विन्होज र डानिलोले लिन सक्छन् । ४–३–३ को रणनीतिमा प्राय: खेल्ने ब्राजिलले मध्यपंक्तिमा कासेमिरो, कोटिन्हो र रेनाटो अगुस्टो तथा अग्रपंक्तिमा नेयमर, जेसस र विलियन प्रशिक्षक टेटेको संरचनामा देखिएका छन् । नेयमर फिट हुन नसकेमा कोटिन्हो र फिर्मिन्होलाई जेसससाथ अग्रपंक्तिमा ल्याए फर्नान्डिन्होले मध्यपंक्ति सम्हाल्ने सम्भावना देखिन्छ ।


नेयमर केन्द्रित हुनाले विश्वकप मुखैअगाडि ब्राजिललाई अप्ठयारो तुल्याएको छ । तर टिटे आएयता ब्राजिलले विश्वकप छनोटमा १० खेल जित्दा २ मा बराबरी नतिजा निकाल्दै ३० गोल गरेको थियो । छनोटमा ब्राजिलले पछिल्ला ८ खेल लगातार जितेको थियो । यसले ब्राजिलको पछिल्लो समयको शक्ति देखाउँछ । रुस विश्वकपमा छनोट हुने ब्राजिल पहिलो टोली पनि हो । त्यसको एक वर्ष अघिमात्र ब्राजिल विश्वकप छनोटमा धर्मराइरहेको थियो । २०१४ को विश्वकपपछि डुंगालाई पुन: जिम्मेवारी दिँदा ब्राजिल त्यो स्थितिमा आएको थियो । डुंगाको स्थानमा टिटे ल्याएपछि नै ब्राजिलले धारमात्र समाएन विश्वकपमै सदाझैं आफ्नो दाबेदारिता पनि देखायो ।


ब्राजिललाई मुख्य चुनौती दिने टिममा फ्रान्स र जर्मनी देखिएका छन् । पछिल्लो विश्वकपको क्वाटरफाइनल पुगेको फ्रान्स युरो २०१६ को फाइनलमा पोर्चुगलसँग पराजित भएको थियो । जर्मनी त्यही टोली हो, जसले ब्राजिललाई उसैको घरमा ४ वर्षअगाडि सेमिफाइनलमा ७–१ ले माथ दिएको थियो । ब्राजिलको आधिपत्यलाई तोड्ने प्रयासमा रहेको जर्मनी आफैं पाँचौंपल्ट विश्वकप जित्ने दाउमा छ ।


डिमिट्री पायेट र लरेन्ट कोसिइन्लीलाई चोटका कारण गुमाए पनि खेलाडीको हिसाबमा रुस विश्वकपमा सहभागी ३२ टोलीमा फ्रान्स उत्कृष्ट हो । प्रशिक्षक डिडियर डेसच्याम्पले एन्थोनी मार्सियल र एड्रियन राबिओटलाई टिममा नराखेकाले फ्रान्सको टोलीमा अझ कस्ता खेलाडी छन् भन्ने देखाउँछ । पाउल पोग्बा, एन्टोइन ग्रिजमन, एन’गोलो कान्टे, ओउसमाने, डेम्बेले, किलियन एमबाप्पे जस्ता खेलाडी फ्रान्सको चुनौती सम्हाल्न तयार देखिन्छन् ।


फ्रान्सको एकमात्र विश्वकप सफलता १९९८ मा डेसच्याम्पकै कप्तानीमा थियो । अहिले उनै डेसच्याम्पको प्रशिक्षण शैली आलोचनाको पक्ष बनेको छ । एक किसिमले उनले फ्रान्सेली फुटबलमा विश्वास गुमाउँदै गएका छन् । उनी २०१२ मा फ्रान्सको प्रशिक्षक बनेका थिए । दुई वर्षअघि उनको रणनीतिले युरो जित्ने अवसर फ्रान्सले गुमाएको आरोप डेसच्याम्पले खेप्दै आएका छन् । विश्वकप छनोटमै लक्जेम्बर्ग जस्तो कमजोर मानिएको टिमसँग फ्रान्सले जित्न नसकेपछि रुस विश्वकप डेसच्याम्पको अन्तिम हुनसक्ने सम्भावना बढ्दै गएको छ । अझ फ्रान्सका अर्का महान् खेलाडी जिनेदिन जिदानले रियल म्याड्रिडलाई तीनपल्ट युरोपियन च्याम्पियन्स लिगको उपाधि जिताएपछि राजीनामा दिएका छन् । डेसच्याम्प स्वयंले जिदानले एक दिन फ्रान्स राष्ट्रिय टोली हाँक्न तयार रहेको जनाइसकेका छन् ।


विश्वकप यस्तो प्रतियोगिता हो जहाँ अन्य टोली सहभागिता जनाउँछन् भने जर्मनी उपाधिका लागि खेल्छ । १९८२ यता जर्मनीले खेलेको नौ विश्वकपमा ५ फाइनल पुगेको छ र दुईपल्ट जितेको छ । यसले नै माथिको भनाइ पुष्टि गर्छ । त्यसबाहेक अन्य चारमा दुईमा तेस्रो भएको छ र दुईमा क्वाटरफाइनलमा पराजित भएको छ । संयोगले पछिल्लो दुवैपल्ट जर्मनीले फाइनलमा अर्जेन्टिनालाई पराजित गरेको छ ।


जर्मनीलाई २०१४ को विश्वकप जिताएयता कप्तान फिलिप लाहम, बास्टियन स्वेन्सटिगर, मिरोस्लाभ क्लोजले संन्यास लिइसकेका छन् । २०१४ को विश्वकप फाइनलमा अर्जेन्टिनाविरुद्ध गोल गर्दै जर्मनीलाई चौथोपल्ट विश्वकप दिलाएका बोरुसिया डर्टमन्डका स्ट्राइकर मारियो गोट्जेलाई यसपटक टिममै राखिएको छैन । जर्मनीको अर्को चिन्ता पहिलो रोजाइका गोलरक्षक म्यानुयल नोयरबारे छ । उनी सेप्टेम्बरयता चोटग्रस्त थिए र सिजनभर क्लब फुटबल खेल्न सकेनन् । विश्वकप सुरु हुनु १५ दिनअघि अस्ट्रियासँगको अभ्यास खेलबाट उनले जर्मन टोलीमा पुनरागमन गरेका थिए, जसमा उनको टोली २–१ ले पराजित भएको थियो । प्रशिक्षक जोचिम लोले बार्सिलोनाका मार्क एन्ड्रे टेर स्टेगनलाई अहिलेको स्थितिमा गोल पोस्टको जिम्मेवारी दिने तयारी गरिरहेका छन् । अस्ट्रियाअघि ब्राजिलसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि जर्मनी १–० ले पराजित भएको थियो । त्यसअघि स्पेनसँग १–१ र फ्रान्ससँग जर्मनीले २–२ को नतिजामात्र निकाल्न सकेको थियो । विश्वकपसम्म पुग्दा जर्मनी जहिल्यै पनि मजबुत हुने टोली हो । त्यसैले जर्मनी उपाधि रक्षा गर्नलाई सक्षम छ । म्याट हुमेल्स, डेविड अल्बा, टोनी क्रुज, मेसिट ओजिल, थोमस मुलरमा जर्मनीको प्रदर्शन अडिएको छ ।


अर्जेन्टिना, स्पेन, इंग्ल्यान्ड त्यसपछिको सूचीमा आउँछन् । अर्जेन्टिनाले छनोट चरणमा अप्ठयारो स्थितिमा पुगेर झन्डै प्लेअफमा धकेलिएको थियो । स्पेनसँगको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा पनि टोली ६–१ ले पराजित भएको थियो । म्यानचेस्टर युनाइटेडका गोलरक्षक सर्जियो रोमेरो घाइते भएपछि अर्जेन्टिनालाई थप धक्का लागेको छ । लियोनल मेसी जस्ता खेलाडी भएकाले अन्य प्रतिद्वन्द्वीले अर्जेन्टिनालाई कम आँक्ने प्रयास गर्दैनन् । चेल्सी स्ट्राइकर अल्भारो मोराटाबिनै स्पेन विश्वकपमा प्रतिस्पर्धा गर्दै छ । स्पेनका प्रशिक्षक जुलेन लोपेटेगुईले मोराटाको स्थानमा अग्रपंक्तिमा इगो अस्पास र रोड्रिगो मोरेनोसहित एट्लेटिको म्याड्रिडका डिएगो कोस्टामाथि विश्वास देखाएका छन् । २००८ देखि २०१२ सुन्दर फुटबल खेलेको स्पेन अहिले त्यो लयमा छैन । २०१० को विश्वकप च्याम्पियन स्पेनमा अझै उपाधिको भोक देखिए पनि टिममा ८ वर्षअगाडि जस्तो त्यो जोश देखिन्न । ह्यारी केनको कप्तानीमा रहने इंग्ल्यान्डको टोलीमा युवा वर्चस्व छ । क्वाटरफाइनल पुग्नु नै टोलीको सफलता हुने धेरैले मानेका छन् । तर व्यवस्थापक गारेथ साउथगेट यसलाई गलत साबित गर्दै इंग्ल्यान्डलाई सन् १९६६ पछि पहिलो सफलता दिलाउने प्रयासमा छन् ।


बेल्जियम, पोर्चुगल, उरुग्वे, मेक्सिको, डेनमार्क, कोलम्बिया र आयोजक रुस ‘डार्क हर्स’ हुन् । राम्रो टोली भए पनि मार्क विलमोट्सको प्रशिक्षणमा बेल्जियमले २०१४ को विश्वकपमा क्वाटरफाइनलमा मात्र पुगेर निरास पारेको थियो । थिबोउट कोर्टियस, भिन्सेन्ट कोम्पनी, थोमस भेर्मेलिन, जान भोर्टेनगेन, मारोउनी फेलानी, केभिन डी ब्रुन, इडेन हाजार्ड, क्रिस्टियन बेन्टेके, रोमेलु लुकाकु जस्ता परिचित खेलाडीले बेल्जियमलाई कडा टक्कर दिने टोलीको रूपमा उभ्याएको छ । क्रिस्टियानो रोनाल्डोको पोर्चुगल, लुइस स्वारेजको उरुग्वे, हामेस रोड्रिग्वेजको कोलम्बियामा पनि केही उलटफेर गर्ने खुबी छ ।

twitter : @dearbinod

प्रकाशित : जेष्ठ २९, २०७५ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?