२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जसले तहल्का मच्चाउन सक्छन्

सुबास हुमागाईं

काठमाडौँ — विश्वभरका उत्कृष्ट राष्ट्रिय फुटबल टोली आउँदो साताबाट रुसमा हुने फुटबल महोत्सवमा आमनेसामने हुँदै छन् । उपाधि भिडन्तमा स्टार नामहरू सम्मिलित ठूला टोलीको दाबेदारी भए पनि साना टोली दाबेदार टोलीका लागि बाधक बन्न सक्छन् । नाम चलेका स्टार नहँ‘दा पनि केही टोलीले अनपेक्षित नतिजा ल्याउने सम्भावना देखिन्छ ।

जसले तहल्का मच्चाउन सक्छन्

सेनेगल

सन् २००२ पछि पहिलोपल्ट विश्वकपमा स्थान बनाउन सफल सेनेगल यसपालि पनि आश्चर्यजनक नतिजा ल्याउने सुरमा हुनेछ । तत्कालीन डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पहिलो खेलमा पराजित गर्दै सेनेगल क्वाटरफाइनल पुगेको थियो । सेनेगलको टोलीमा क्लब स्तरमा गत सिजन राम्रो प्रदर्शन गरेका खेलाडीहरू छन् । समूह ‘एच’ को सेनेगलले लिग चरणमा पोल्यान्ड, कोलम्बिया र जापानको सामना गर्नेछ । सबै टोली उस्तै स्तरका रहेका कारण पनि यो समूहलाई विश्वकपको सबैभन्दा खुला समूह मानिएको छ । स्तरीय खेलाडीसँगै अफ्रिकन राष्ट्रको परिचय बनेको शक्ति र तीव्र गतिले भरिपूर्ण टोली सेनेगल नकआउट चरणमा ठूला टोलीको टाउको दुखाइ बन्नसक्छ ।
प्रभाव पार्ने खेलाडी : साडियो माने, किटा बाल्डे, चिखु कोउआटे


डेनमार्क
डेनमार्कका मुख्य हतियार मिडफिल्डर क्रिस्टियन एरिक्सन सन् २०१० को विश्वकपमा सबैभन्दा कम उमेरका खेलाडी थिए । पछिल्लो संस्करण विश्वकप छनोट हुन नसकेको डेनमार्क यसपालि बलियो टोली लिएर रुस जानेछ । पछिल्लो वर्ष उत्कृष्ट प्रदर्शन गरेको डेनमार्कले विश्व वरीयतामा देखाएको सुधारलाई विश्वकप नतिजाले सिद्ध पार्ने प्रयासमा हुनेछ ।
समूह ‘सी’ मा रहेको डेनमार्कले फ्रान्स, अस्ट्रेलिया र पेरुको सामना गर्नेछ । युवा प्रतिभाका साथै अनुभवले भरिपूर्ण खेलाडीको मिश्रणले टोली राम्रो नतिजा ल्याउने सुरमा छ । प्रशिक्षक अगे हराइडेले सन् २०१६ मा टोलीको जिम्मेवारी लिएयता नतिजामा मात्र नभएर टोलीको प्रदर्शन पनि उकालो लागेको छ । विश्वकपमा युरोपेली टोलीको वर्चस्वलाई कायम राख्न डेनमार्कले पनि आफ्नो भूमिका निर्वाह गर्न हरप्रयास लगाउने छ ।
प्रभाव पार्ने खेलाडी : क्रिस्टियन एरिक्सन, कास्पर डोलबर्ग, कास्पर स्माइकल

इजिप्ट
अफ्रिकन फुटबलमा विगत केही वर्षयता लगातार सफलता हात पारे पनि इजिप्टले २८ वर्षपछि विश्वकपमा पुनरागमन गर्दै छ । इजिप्टको विश्वकप यात्रामा नायक रहेका फरवार्ड मोहमद सलाह च्याम्पियन्स लिगको फाइनलमा घाइते भए । उनले अभ्यास खेलसहित टोलीको उद्घाटन खेल गुमाउने सम्भावना रहे पनि सलाहबिनाको इजिप्ट विपक्षीका लागि भारी पर्न सक्छ ।
समूह ‘ए’ मा आयोजक रसिया, उरुग्वे र साउदी अरेबियासँग रहेको इजिप्टको पहिलो लक्ष्य दोस्रो चरणमा प्रवेश गर्नु हुनेछ । सलाहको उपस्थितिमा शंका भए पनि अन्य अनुभवी खेलाडीले प्रशिक्षकको रणनीति अवलम्बन गरेमा आयोजक रुस र बलियो टोली उरुग्वेलाई सहज हुने छैन ।
प्रभाव पार्ने खेलाडी : मोहमद सलाह, अहमद हेगाजी, रमदान सोभी

दक्षिण कोरिया
छनोट चरणमा कतार र चीनजस्ता कमजोर टोलीसँग पराजित दक्षिण कोरियाले नयाँ प्रशिक्षक पाएको छ । विश्वकपसम्म ल्याएका प्रशिक्षक उलि स्टेलाइक बर्खास्त भएपछि युवा टोलीको जिम्मेवारी सम्हाल्दै आएका सिन टा योङले विश्वकपमा टोलीको प्रशिक्षण सम्हाल्दै छन् ।
एसिया महादेशले निकै आश राखेको दक्षिण कोरियाली टोलीले यसपटक फरवार्ड हयुङ मिन सनबाट धेरै अपेक्षा राखेको छ । टोटेनहम हट्स्परका लागि गत सिजन १८ गोल गरेका सनमाथि विश्वकपमा गोल गर्ने जिम्मेवारी आएको छ । मिडफिल्डमा स्वान्सी सिटीबाट खेल्दै आएका कप्तान की सुङ युङले उनलाई पास उपलब्ध
गराउने छन् । कोरियाको समूहमा डिफेन्डिङ च्याम्पियन जर्मनी रहे पनि मेक्सिको र स्वीडेनलाई हराएर कोरिया अगाडि बढ्न सक्षम छ । जर्मनीसँगको खेल अन्तिममा रहेको हुनाले पनि कोरियालाई फाइदा पुग्न सक्छ ।
प्रभाव पार्ने खेलाडी : हयुङ मिन सन, की सुङ युङ, कू जा चेल

पेरु
दक्षिण अमेरिकी छनोटमा नाम चलेका टोलीलाई कडा चुनौती दिएको पेरुले यसपालि विश्वकपमा आफ्नो लय कायम गर्न सके आश्चर्य पार्ने नतिजा निकाल्ने क्षमता राख्छ । प्रतिबन्धित कप्तान पाउलो गुरेरोको पुनरागमनले टोलीको मनोबल अहिले उच्च छ ।
पेरुको समूहमा उपाधि दाबेदार मानिएको फ्रान्ससँगै अस्ट्रेलिया र डेनमार्क छन् । पेरुले विश्वकपअघि अभ्यास खेलमा देखाएको प्रदर्शनले
पनि समूहका अन्य टोलीले पेरुलाई नजिकबाट नियाल्ने छन् भन्ने आकलन गर्न सकिन्छ । कोपा अमेरिकामा बटुलेको अनुभव प्रयोग गरेर पेरु विश्व फुटबलको सबैभन्दा ठूलो प्लेटफर्ममा आफ्नो नाम राख्न तत्पर छ ।
प्रभाव पार्ने खेलाडी : जेफरसन फार्फान, पाओलो गुरेरो, आन्द्रे क्यारिलो

प्रकाशित : जेष्ठ २९, २०७५ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?