१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रेडियोदेखि टेलिभिजनसम्म

आधा रातमा पनि खेलको कमेन्ट्रीलाई उत्साहपूर्वक प्रत्यक्ष रूपमा सुनिरहनु भनेको फुटबल दोस्रो रोजाइको खेल होइन भन्ने हो ।
केहीका लागि समर्थकको हल्ला रुचिकर नहुन सक्छ तर विश्वकप चार वर्षमा एकपल्ट मात्र हुने भएकाले खासै वास्ता गरिँदैन ।
श्याम केसी

काठमाडौँ — फुटबलको जन्म बेलायतमा शताब्दीअघि भएपनि अहिले जुन फुटबल देखेका छौं, जानेका छौं, यो रग्बी फुटबल र फुटबल आ–आफ्नै बाटोतर्फ अगाडि बढ्दा आइपुगेको हो । बेलायती फुटबल संघ विश्वकै पहिलो फुटबल संगठन हो । त्यसपछि बीसौं शताब्दीतिर आइपुगेर फेडरेसन इन्टरनेसनल डे फुटबल एसोसिएसन (फिफा) बन्यो ।

रेडियोदेखि टेलिभिजनसम्म

सन् १९३० मा विश्वकपको पहिलो संस्करण भयो र त्यसपछि हरेक चार वर्षको अवधिमा निरन्तर भइरहेको छ । तर दोस्रो विश्वयुद्धको कारण १९४२ र २०४६ मा भने विश्वकप भएन । रक्षापंक्ति र अग्रपंक्तिमा खेल्नु नै फुटबल हो । रक्षापंक्तिले गोलबाट जागाउने प्रयास गर्छ र अग्रंपंक्तिले सबभन्दा धेरै गोल गर्ने कोसिस गर्छ ।


सन् १९४० को अन्त्यतिर फर्केर हेर्दा म १० वर्षभन्दा पनि कान्छो थियो । त्यसबेला काठमाडौंमा राणाहरूको दरबारमा फुटबल खेलिन्थ्यो कि त उनीहरूका नजिकका मानिसहरू नै खेल्ने गर्थे । फुटबललगायत अन्य खेलकुदमा एउटा व्यक्तित्वका रूपमा पहिालेपल्ट नरशमशेर परिचित भए । त्यस बेला काठमाडौंमा मोटर गाडी पनि थिएन । सबैले हिँड्नैपथ्र्यो । चन्द्रागिरिसहित उपत्यकाबाहिर जाँदा पनि मानिसहरू पैदल हिँड्नुपथ्र्यो । पहाड उक्लिनुपथ्र्यो ।


मैले देखेको फुटबल नरेश ११ टिम नरशमशेरले नेतृत्व गरेका थिए । सिंहदरबार ११ पनि थियो । सामुदायिक टिमका रूपमा एनआरटी, भैरव ११ र ठमेल ११ थिए । सन् १९४० ताका नै विश्वकप भनेको के हो भन्ने हामी कसैलाई थाहा थिएन । राणाकालमा चाहिँ सर्वसाधारणलाई रेडियो राख्ने अनुमति थिएन । उनीहरूलाई विश्वमा के भइरहेको छ भनेर जानकारी नै हुँदैनथ्यो तर केहीसँग रेडियो थियो । जो–जोसँग रेडियो थियो, उनीहरू लुकेरै सुन्ने गर्थे ।


सन् १९५१ फेब्रुअरीमा प्रजातन्त्र आगमनसँगै परिस्थितिमा आमुल परिवर्तन आयो । तर फुटबलसहित अन्य खेलहरूलाई सरकार र शैक्षिक संस्थाहरूले खासै प्राथमिकता दिएन । रेडियोमा जसरी सर्वसाधारणको पहुँच बढ्यो, त्यसले देशको विभिन्न स्थानमा स्विट्जरल्यान्डमा १८५४ मा भएको विश्वकप फुटबलको परिणामका बारेमा चाख राख्ने बनाइदियो ।
टेलिभिजन नेपालमा मात्र होइन, छिमेकी देशहरूमा पनि आइसकेको थिएन । टेलिभिजन सेट भए तापनि अहिलेजस्तो विश्वकपको प्रत्यक्ष प्रसारण त्यसबेला गरिएको थिएन । रेडियोले राजनीतिक गतिविधिलाई प्राथमिकता दिएजस्तै विश्वकप फुटबलको समाचारलाई महत्त्व दिइँदैन थियो । त्यस बेला भर्खरै स्थापना भएको रेडियो नेपालले चाहेजस्तो विश्वकपको खेलको समाचार प्रसारण गरेन ।


क्रिकेटको लोकप्रियता दक्षिण एसिया, विशेषगरी भारतमा अचेलजस्तो अत्यधिक थिएन । त्यस बेला हकी र फुटबल लोकप्रिय थिए । यी खेलको लोकप्रियता क्रिकेटभन्दा पनि धेरै माथि थियो । यसको कारण भारतले १९५६ मा ओलम्पिकमा हकीमा जितेको स्वर्णपदक थियो र भारत मेलबर्न ओलम्पिकमा पनि अन्तिम १६ मा पुगेको थियो । भारतीय सञ्चार माध्यमले फुटबललाई अहिले जसरी एकदमै कम स्थान दिन्छ, त्यसताका भने अत्यधिक प्राथमिकता दिइने गरिन्थ्यो । त्यसैले विश्वकप र ओलम्पिकको समाचार हामीलाई भारतको सरकारी रेडियोबाट प्राप्त हुन्थ्यो । सन् १९४० को दशकको अन्त्य र ५० को दशकको सुरुतिर केही नेपालीले भारतीय पत्रपत्रिका खरिद गर्न थालेका थिए तर त्यो काठमाडौं आइपुग्न एक हप्ताभन्दा पनि बढी समय लाग्थ्यो ।


हामीले त्यस बेला विश्वकपबारे धेरैजसो रेडियोको समाचार र दक्षिणी छिमेकको रेडियो स्टेसनबाट थाहा पाउँथ्यौं तर बीबीसीजस्ता केही अन्तर्राष्ट्रिय रेडियो स्टेसनबाट पनि जानकारी मिल्थ्यो । हामीलाई जति थाहा हुन्थ्यो, त्यसको स्रोत यिनै रेडियो थिए । तर १९६० यता मैले थुप्रै युवालाई देखें, विशेषगरी पुरुष, जो मध्यरातमा पनि विश्वकपको खेलको कमेन्ट्री सुनिरहेका हुन्थे । यस्तो परिस्थिति विश्वकप आयोजक देश र हाम्रो देशको फरक समयको कारण भएको हो ।


सन् १९६२ को विश्वकप दक्षिण अमेरिकी देश चिलीमा भएको थियो र १९७० को संस्करण मेक्सिकोले आयोजना गरेको थियो । यी दुई देश पृथ्वीमा हामी बसेको स्थानभन्दा ठ्याक्कै विपरीत ध्रुवमा पर्दछन् । र, १९६६ को विश्वकपको फाइनल इंग्ल्यान्डमा भएको थियो, जुन नेपालको समयभन्दा ५ घण्टा ४५ मिनेट पछाडि पर्छ । आधा रातमा पनि खेलको कमेन्ट्रीलाई उत्साहपूर्वक प्रत्यक्ष रूपमा सुनिरहनु भनेको फुटबल दोस्रो रोजाइको खेल होइन भन्ने हो ।


जुन देश विश्वकपमा छनोट भएका हुन्छन्, त्यहाँका युवाजस्तै नेपाली पनि उत्साहित हुने गर्छन् । सन् १९८० मा नेपाल टेलिभिजनको स्थापनासँगै टेलिभिजनको युग सुरु भयो । नेपालमा टेलिभिजन सेट नै नभएको भने थिएन तर अत्यन्त थोरै थियो । उनीहरूले विशेष सूचकमार्फत विदेशी टेलिभिजन कार्यक्रम हेर्ने गरेका थिए । तर टेलिभिजन भित्रिएसँगै नेपालमा केबल टेलिभिजनको विकास क्रम सुरु भयो । त्यसले विश्वकप फुटबलसहित विभिन्न अन्तर्राष्ट्रिय खेलकुदका गतिविधि हेर्नको लागि ढोका खुल्यो ।


पछिल्ला वर्षमा विश्वकपका खेलको प्रत्यक्ष प्रसारण सहरका विभिन्न स्थानहरूमा ठूला स्क्रिनमा देखाइन थालेको छ । यस्तो दशक अघि पनि पनि गरिन्थ्यो, जसले अहिले पनि निरन्तरता पाउँदै छ । यसले अर्को साता रुसमा हुने विश्वकपले पनि निरन्तरता पाउँदैछ । केहीका लागि उनीहरूको समर्थनमा हुने हल्ला रुचिकर नहुन सक्छ तर विश्वकप चार वर्षमा एकपल्ट मात्र हुने भएकाले खासै वास्ता गरिँदैन ।


नेपाली युवा पनि विश्वकपका प्रतिस्पर्धा जतिसुकै ढिला भए पनि हेर्ने गर्दछन् । यहाँ अरू कुनै यस्तो खेल छैन, जसले फुटबलले भन्दा पनि बढी उत्साह जगाउँदछ । त्यसैले फुटबल विश्वकै सबभन्दा लोकप्रिय ‘टिम गेम’ भएको हो । युरोपेली देशहरूदेखि धेरै टाढा बस्ने मानिसहरू पनि युरोपका क्लब र खेलाडीहरूलाई उत्तिकै समर्थन गर्छन् । त्यो खेलाडी लियोनल मेसी पनि हुन सक्छ, क्रिस्टियानो रोनाल्डो पनि हुन सक्छ । तर मेरो लागि पेले नै सबभन्दा मनपर्ने खेलाडी हुन् । विश्वकै कीर्तिमानी गोलकर्ता भएरमात्र होइन, व्यक्तित्वको कारण उनलाई मन पराउँछु । उनी एक भलाद्मी व्यक्ति हुन्, जसले सफलताप्रति कहिल्यै घमण्ड गरेका छैनन् ।


जब रुसमा फिफा विश्वकप २०१८ सुरु हुन्छ, त्यसमा ३२ टिमले प्रतिस्पर्धा गर्दैछन् । धेरै बाहिरिए पनि यी टिमहरू लामो अवधिको छनोटबाट गुज्रिएर विश्वकपमा पुगेका हुन् । एसियामा विश्वको आधाभन्दा बढी जनसंख्या एसियामा बस्छन् तर यहाँका ५ देश मात्र विश्वकपमा खेल्दैछन् । त्यसमा पनि अस्ट्रेलिया आफैंमा एउटा बेग्लै महादेश हो । एसियाको जनसंख्या करिब ४ अर्ब ५० करोड छ । यसको तुलनामा युरोपमा जम्मा १ अर्ब पनि छैन । त्यही महादेशलाई १४ देशले प्रतिनिधित्व गर्दैछ ।


दक्षिण अमेरिका र अफ्रिकाका ५–५ देश छन् भने उत्तर अमेरिकी ३ देश सहभागी हुँदैछन् । दक्षिण अमेरिकी प्रतिनिधित्वका रूपमा पनि रहेको ब्राजिलले सर्वाधिक ५ पल्ट विश्वकप जितिसकेको छ । विश्वकप छनोटमा केहीलाई अन्याय भएको छ र यसमा छिट्टै सुधार पनि हुन सक्छ । त्यो सुधार फिफा र फुटबलका लागि उत्तिकै राम्रो हुनेछ ।


(लेखक दी काठमान्डु पोस्टका पूर्वसम्पादक हुन्)

प्रकाशित : जेष्ठ २९, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?