कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

‘विश्वकप पर्वजस्तै’

काठमाडौँ — सन् १९९८ को विश्वकपताका म निकै सानो थिएँ । घर परिवारका अरू सबै त्यही विश्वकपमा झुमिँदा म भने सुतिहाल्थें । मैले पहिलोपल्ट राम्रोसँग हेरेको विश्वकप त्यसको चार वर्षपछिको थियो, सन् २००२ को । त्यति बेला दक्षिण कोरिया र जापानले विश्वकप आयोजना गरेको थियो, पहिलोपल्ट एसियामा विश्वकप हुँदै थियो । त्यति बेला हामी एन्फा एकेडेमीमा छनोट भइसकेका थियौं र हामी बुङमती खोकनाको ज्ञानोदय होस्टलमा थियौं ।

‘विश्वकप पर्वजस्तै’

त्यति बेला हामी २६ खेलाडी थियौं, अन्डर–१० को टिममा । खेल हुँदा त्यसलाई हेर्न हामीलाई स्कुलमा छुट्टी नै हुन्थ्यो । सरहरूले नै खेल हेर्न प्रोत्साहन गर्नु हुन्थ्यो । हामीलाई आफ्नो पोसिजनमा खेल्ने खेलाडीलाई पछयाउन भनिएको थियो, त्यसको खेल राम्रोसँग हेर्नुपथ्यो । मेरो भागमा ब्राजिलका रोबर्टो कार्लोस परेको थियो । उनी पनि लेफ्ट ब्याक, म पनि लेफ्ट ब्याक । त्यति बेलादेखि नै उनी मलाई सबैभन्दा मनपर्ने खेलाडी हुन् । त्यति बेलादेखि म ब्राजिली समर्थक हुँ ।


उनी जसरी डिफेन्समा मजबुत प्रदर्शन गर्छन्, जसरी ओभरल्यापमा गएर खेल्छन्, त्यो मलाई निकै मनपर्छ । म उनलाई आफ्नो आदर्श पनि मान्छु । त्यसैले पनि विश्वकप हुँदा मेरो पूर्ण समर्थन ब्राजिललाई नै हुने गर्छ । यसपल्ट पनि ब्राजिलले उपाधि जितोस् जस्तो लाग्छ । अहिलेको ब्राजिली टिम पनि बलियो छ । ब्राजिली टिमले जसरी कलात्मक फुटबल खेल्छ, म त्यसको पारखी हुँ । रियल म्याड्रिडमा छँदा पनि मैले कार्लोसको खेललाई पछयाएको थिएँ ।


घरमा पनि बुवादेखि काका र दाईहरू सबै ब्राजिली समर्थक रहेका छन् । घरमा सुरुदेखि फुटबल हेर्ने माहोल थियो । त्यसमाथि खेलाडीको पनि आफैंमा कमी थिएन । सानैदेखि म त्यस्तो परिस्थितिमा हुर्केको हुँदा फुटबलको त्यस्तो खाले छाप पर्नु स्वाभाविक हो । क्लब फुटबलमा भने म म्यानचेस्टर युनाइटेडको समर्थन गर्ने गर्छुं । यसको एक मात्र कारण, डेविड बेकह्याम पनि हुन् । उनी जति राम्रा खेलाडी हुन्, त्यतिकै राम्रो व्यक्तित्व भएका खेलाडी पनि हुन् ।


उनको जस्तो व्यक्तित्व अरु खेलाडीमा कमै पाइन्छ । बेकह्याम फेसनका आइकन पनि हुन् । बेकह्यामले जति समय म्यानचेस्टरमा खेले, त्यति बेला टिमको खेल नछुटाएर हेर्थें । अहिले पनि म्यानचेस्टरको खेल हुनुपर्छ, सकेसम्म त्यसलाई पछ्याउने गर्छुं । म्यानचेस्टर र बेकह्यामको प्रसङ्ग किन भन्दा अहिलेको विश्व फुटबलका दुई ठूला स्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको खेल यस तथ्यसँग जोड्न मिल्छ । मलाई रोनाल्डो भन्दा मेसी नै राम्रो खेलाडी हो भन्ने लाग्छ ।


तर रोनाल्डो पनि कम्तीका खेलाडी होइनन् । रोनाल्डो खासमा बेकह्याम जस्ता खेलाडी हुन्, राम्रो व्यक्तित्वका खेलाडी । उनले जे लगाउने गर्छ, त्यही फेसन बन्छ । रोनाल्डो पनि बेकह्याम जस्तै फेसन आइकन नै हुन् । टिमका रूपमा अर्जेन्टिना वा पोर्चुगलको समर्थन नगरे पनि म उनीहरूको पनि खेले हेर्नु छु । खासमा मलाई दुवै खेलाडी मनपर्छ । दुईमध्ये सबैभन्दा बढी को मनपर्छ भन्ने प्रश्नको जवाफ भने मसँग छैन, यो निकै गाह्रो प्रश्न जस्तो लाग्छ ।


फुटबल खेलाडीका रूपमा सबैले विश्वकपजस्तो ठूलो प्रतियोगितालाई राम्रोसँग गम्भीर भएर पछयाउनुपर्छ । आफू जुन पोसिजनमा खेल्ने हो, त्यही पोसिजनमा खेल्ने ठूला खेलाडीको खेल गम्भीर भएर नियाल्नु राम्रो हुन्छ । ठूला टिमले कसरी रणनीति बनाउने गर्छ र त्यसलाई मैदानमा कसरी लागू गर्छ, त्यो फुटबल खेलाडीका लागि शिक्षा हुने गर्छ । विश्वकप हेरेर त्यसै अनुसार आफूलाई सुधार्ने बानी पनि गर्नुपर्छ । खासमा विश्वकप हामी जस्ता फुटबल खेलाडीको ठूलो चाडपर्व जस्तै हो ।


खेल रणनीतिको चर्चा गर्दा मलाई रक्षात्मक भएर खेल्नु ठीक लाग्छ, किनभने म आफैं पनि डिफेन्डर हुँ । रक्षात्मक खेलले नै फुटबलमा जितिन्छ भन्ने मान्यताको म समर्थक हुँ । तर यो सधैं लागू हुनुपर्छ भन्ने छैन । विपक्षी टिम कस्तो हुन्छ, त्यसमा पनि भरपर्छ । विश्वकपमा खेल्न सबै टिम लगभग बलिया हुन्छन् नै । त्यसमध्ये केही टिम निकै बलियो र केही कमजोर हुन्छ । बलियो टिमले कमजोर र कमजोरले बलियो टिमसँग कसरी खेल्छ, यो हेर्नलायक हुन्छ ।

-विराज महर्जन
(महर्जन नेपाली राष्ट्रिय टोलीका कप्तान हुन्)

प्रकाशित : जेष्ठ २९, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?