२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

उत्कृष्ट फिल्म

काठमाडौँ — १. द ड्याम्ड युनाइटेड, सन् २००९
यो खेलकुदको बायोग्राफिकल फिल्म हो, जसमा बेलायती फुटबल व्यवस्थापक ब्रायन क्लाफको कथा समेटिएको छ । सन् १९७४ मा लिड्स युनाइटेड क्लबमा आबद्ध हुँदा उनले के–के गरे भन्नेमा फिल्म केन्द्रित छ ।

उत्कृष्ट फिल्म

१. द ड्याम्ड युनाइटेड, सन् २००९
यो खेलकुदको बायोग्राफिकल फिल्म हो, जसमा बेलायती फुटबल व्यवस्थापक ब्रायन क्लाफको कथा समेटिएको छ । सन् १९७४ मा लिड्स युनाइटेड क्लबमा आबद्ध हुँदा उनले के–के गरे भन्नेमा फिल्म केन्द्रित छ । लिड्समा उनको कार्यकाल यति विवादास्पद रह्यो कि ४४ दिनमै क्लबले उनलाई पदच्युत गर्नुपर्‍यो । झेली खेल र खेलाडीलाई विभाजन गर्ने मामलामा उनी
बद्नाम भए । यही सत्य घटनामा आधारित भएर लेखिएको डेभिड पिसको उपन्यासलाई टम हुपरले फिल्ममा प्रस्तुत गरेका थिए । यसमा माइकल सिन, टिमोथी स्पाल, जिम ब्रोडबेन्ट आदिको अभिनय छ ।

२. गोल : द ड्रिम बिगिन्स, सन् २००५
यसलाई प्रेरणादायी फिल्म मान्न सकिन्छ । फुटबलमा कौशल भएका एक साधारण अमेरिकी युवाले कसरी बेलायतको प्रख्यात क्लबमा स्थान बनाउँछ भन्ने कथा यसमा समेटिएको छ । विश्वकप आयोजक फिफाको सहयोगमा बनेको फिल्ममा कतिपय वास्तविक खेलाडी कलाकारका रूपमा संलग्न छन् । तर, मुख्य भूमिकामा रहेका मेक्सिकन अभिनेता कुनो बेकरले सान्टियागो मुनेजका रूपमा आफूलाई अब्बल साबित गर्न सकेको जस पाए ।
डेनी क्याननले निर्देशन गरेको फिल्मका ‘गोल २ : लिभिङ द ड्रिम’ र ‘गोल ३ : टेकिङ अन द वल्र्ड’ शृंखला उत्तिकै राम्रा मानिन्छन् ।

३. स्केप टु भिक्ट्री, सन् १९८१
दोस्रो विश्व युद्धताका ‘प्रिजनर्स अफ वार’ का रूपमा नाजी जर्मन क्याम्पमा रहेकाहरू र जर्मन खेलाडीबीच पेरिसमा मैत्रीपूर्ण खेल आयोजना गर्ने कुरा हुन्छ । त्यही खेललाई माध्यम बनाएर कैदीहरूले भाग्ने योजना बनाउँछन् । यसमा उनीहरू सफल हुन्छन्, हुँदैनन् ? भन्ने थाहा पाउन फिल्म हेर्नु आवश्यक छ । मुख्य विषय फुटबल भए पनि यसमा कैदीलाई गरिने व्यवहार र तिनको दैनिकी पनि उतारिएको छ । सिल्भेस्टर स्टेलन, माइकल केन जस्ता चर्चित अभिनेता आबद्ध फिल्म जोन हुस्टनले निर्देशन गरेका हुन् । यसमा पेले, बबी मुर, जोन वार्क जस्ता फुटबल स्टार केमियो भूमिकामा छन् ।

४. ग्रिन स्ट्रिट हुलिगन्स, सन् २००५
करातेका पूर्वखेलाडीसमेत रहेकी लेक्सी एलेक्जेन्डरले निर्देशन गरेको यस फिल्ममा फुटबल मैदानमा हुने उपद्रो वा हूलदंगा देखाइएको छ । सन् १९६० को दशकमा बेलायतमा फुटबल प्रतियोगिता चलिरहँदा प्यारापिटमा तोडफोड र झैंझगडा सामान्यझैं हुन्थ्यो । त्यसलाई ‘बेलायती रोग’ समेत भन्न थालिएको थियो । यस्ता गतिविधिबाट खेलाडीलाई सुरक्षित राख्न मैदानवरिपरि काँढे तार बार्न थालियो । ‘ग्रिन स्ट्रिट’ फिल्ममा ‘ग्रिन स्ट्रिट एलिट’ नामक उपद्रियाहरूको भूमिगत समूहमा आबद्ध दुई युवाको कथा बुनिएको छ । एलिज उड र चार्ली हुन्नामको मुख्य अभिनय यसमा देख्न सकिन्छ ।

५. साओलिन सकर, सन् २००१
फुटबलको सहायताले कुङ फु प्रवद्र्धन गर्ने एक चिनियाँ युवा भिक्षुको अठोट यसमा समाविष्ट छ । आफैं लिड रोलमा रहेका निर्देशक स्टेफन चाउको यो फिल्म कमेडी शैलीमा बनेको छ । चीनको हेनान प्रान्तमा रहेको साउलिन गुम्बाका सिङ नामक भिक्षु कुङ फुको शक्ति आधुनिक समाजलाई बुझाउन चाहिरहेका हुन्छन् । तर, कुनै उपाय काम नलागेका बेला उनले फुटबलमा आशाको किरण देख्छन् । मार्सल आर्टमा निपुण आफ्नै दाजुभाइ संलग्न टोली बनाएर फुटबल खेल्दा तिनको प्रदर्शन चामत्कारिक बन्न पुग्छ । अन्तत: साओलिन कुङ फुसँगै सकर (फुटबल) का लागि चर्चित बन्छ ।

६. बेन्ड इट लाइक बेकह्याम, सन् २००२
घुमाएर बल प्रहार गर्ने र अनौठो किसिमले गोल हान्ने डेभिड बेकह्यामको शैलीबाट प्रभावित भारतीय मूलकी बेलायती युवतीले फुटबलका लागि गरेको संघर्ष नै यो फिल्मको मूल विषय हो । महिला भएर खेलकुदमा लाग्नु हुन्न भन्ने आफ्नो परिवारविरुद्ध उसले गर्नुपर्ने विद्रोहको स्थिति यसमा समेटिएको छ । केन्याली मूलकी बेलायती निर्देशक गुरिन्दर चढाले यो फिल्म निर्देशन गरेकी हुन् जसमा पर्मिन्दर नाग्रा, कायरा नाइट्ली, जोनाथल मेयर्स, अनुपम खेर लगायतको भूमिका छ । फिल्मलाई ५ मध्ये ४ स्टार दिएर ‘यसमा आफ्नो नाम हुनुलाई डेभिडले गौरव ठान्नुपर्छ’ भन्दै बीबीसीले समीक्षा गरेको थियो ।

७. किकिङ एन्ड स्क्रिमिङ, सन् २००५
फुटबललाई लिएर बाबु–छोराबीच व्याप्त प्रतिस्पर्धी भाव र त्यसले निम्त्याउने अनेक मोड यो फिल्मको रोचक पक्ष हो । यसमा फिल वेस्टन (विल फेरेल) आफ्नै बाबु बक वेस्टन (रोबर्ट डुभाल) को स्वभावबाट आजित हुन्छन् । बक सधैं हार–जितमा अड्किएका हुन्छन् र छोरासँगै बाजी थापिरहेका हुन्छन् । बाबुलाई हराउने लहडमा फिलले पनि आफ्नै छोरा आबद्ध रहेको ‘लिटल–लिग सकर टिम’ लाई पेल्न खोज्छन् । अन्तमा उनलाई पश्चताप हुन्छ । जेसी डिलनको निर्देशनमा बनेको फिल्मलाई फुटबल, अभिभावकत्व र हाँसोको सम्मिश्रण मानिन्छ ।

८. युनाइटेड, सन् २०११
यो सत्य घटनामा आधारित फिल्म हो । इंल्यान्डको क्लब म्यानचेस्टर युनाइटेडका ‘बस्बी बेब्स’ भनेर चिनिने आठ खेलाडी सन् १९५८ को म्युनिख विमान दुर्घटनामा दिवंगत भएका थिए । त्यो बेला च्याम्पियन्स लिगमा लगातार जितेर सनसनी मच्चाइरहेका युवा खेलाडीको मृत्युलाई लिएर ‘एन्ड अफ अ ड्रिम’, ‘वि विल नेभर डाई’ ‘म्यानचेस्टर युनाइटेड ट्रयाजिडी’ जस्ता फिल्म र डकुमेन्ट्री पनि बनाइएका छन् । क्रिस चिबनलको लेखन र जेम्स स्ट्रङको निर्देशनमा बनेको ‘युनाइटेड’ मा विमान दुर्घटनामा परेर बाँचेकासँगको अन्र्तवार्ता र मृतकका आफन्तको अभिव्यक्ति समावेश गरिएको छ ।

९. द फुटबल फ्याक्ट्री, सन् २००४
इंग्लिस क्लबहरू चेल्सी र मिलवाल समर्थकबीचको दुश्मनीलाई आधार बनाएर फिल्म तयार पारिएको छ । लन्डन फुटबलको तत्कालीन हूलदंगा देखाएर फिल्मले खेलप्रेमीलाई सभ्य हुन आग्रह गरेको छ । लेखक जोन किङको पुस्तकलाई निक लभले फिल्मको ढाँचामा उतारेका हुन् । यसमा डेनी डायर, तमर हसन, फ्रयांक हार्पर, रोल्यान्ड मनुकियानलगायतको अभिनय छ । हत्या–हिंसा, यौन, लागूऔषध र मदिरामा चुर्लुम्म डुबेको एक फुटबलप्रेमीको जीवन नियाल्न यो फिल्म उपयोगी हुने बताइन्छ ।

१०. द मिराकल अफ बर्न, सन् २००३
जर्मनका सर्वाधिक सफल फिल्ममध्येको एक मानिने यसमा विश्व युद्धपछिको मनोभाव देखाइएको छ । सर्बियामा ११ वर्षसम्म प्रिजनर्स अफ वारका रूपमा थुनामा परेर मुक्त भएका रिचार्ड आफ्नो परिवारसँगको मिलनमा घुलमिल हुन नसकेको देखाइन्छ । उनका कान्छा छोराको फुटबलप्रतिको आकर्षणले फिल्ममा अर्को मोड लिन्छ । बाबु–छोरा विश्वकपका खेल
हेर्न स्विट्जरल्यान्डको बर्न पुग्छन् । जादुयी संयोगले भरिपूर्ण फिल्ममा सन् १९५४ मा जर्मनले फिफा विश्वकप जितेको प्रसंग जोडिएको छ । निर्देशक जंक वर्टम्यानको फिल्ममा लुइस क्लामोर्थ र पिटर लोमेयर लिड रोलमा छन् ।स्रोत: आईएमडीबी

प्रकाशित : जेष्ठ २९, २०७५ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?