१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

‘हाम्रो अर्जेन्टिना’

विनोद पाण्डे

काठमाडौँ — कृषि विकास आयोजना, नक्टाझिज, धनुषा । ढल्केबरबाट ६ किलोमिटर दक्षिणतर्फ र जनकपुर पुग्नु १८ किलोमिटर यतै रहेको यस स्थानमा भर्खर आएको १४ इन्चको ब्ल्याक एन्ड ह्वाइट टेलिभिजनले उज्यालोको किरण छरेको थियो । यसको विशेषता के थियो भने झन्डै एक सय सरकारी क्वार्टर रहेको त्यस क्षेत्रमा भित्रिएको त्यो पहिलो टेलिभिजन थियो । 

‘हाम्रो अर्जेन्टिना’

साथी राजेश श्रेष्ठको घरमा टेलिभिजन त्यसबेला ल्याइएको थियो, जतिखेर सन् १९९० को विश्वकप फुटबल सुरु हुँदै थियो । आफूले भ्याएसम्म सबै खेल खेल्नुपर्ने हाम्रो पुस्ताका राजेश, म लगायतले पहिलोपल्ट टेलिभिजनमा हेर्न पाउने भएका थियौं । ओ’हो हाम्रो कौतूहलता र उत्सुकताको कुरै नगरौं । त्यस्तै खेलेको टेलिभिजनमा हेर्न पाइने भयो भन्दै कल्पना गर्दा नै कति आनन्द आएथ्यो ।


त्यतिखेर दुई विदेशी फुटबल खेलाडीको नाम सुनिएको थियो । एउटा पेले र अर्को डिएगो म्याराडोना । सदाबहादर पेले हाम्रा लागि अलिक पुराना भइसकेका थिए । तराईको त्यो फाँटमा केहीले घुमाउरो किकले फुटबल हानिरहेको जर्सी लगाएको देखिन्थे । ती व्यक्तिले त्यस्तो जर्सी लगाएर हिँड्दा त्यति बेला म्याराडोनाजस्तै सम्मान पाउँथ्यो । फुटबल हान्न जान्ने र खेल्नेहरू त्यही जर्सी लगाउने मान्छेसँग बढी केन्द्रित हुन्थे । चर्चा पनि उसकै हुन्थ्यो ।


टेलिभिजन आउनुअगाडि म्याराडोनाको तस्बिर मेरा लागि त्यति नै थियो । राजेशले म लगायत अन्य साथीहरूलाई इटालिया ९० को उद्घाटन खेल हेर्न घरमा बोलाएको थियो । अर्जेन्टिना र क्यामरुनको घमासान खेल सुरु हुन लाग्दै थियो । मेरा लागि संयोग म्याराडोना त्यही अर्जेन्टिनी टिममा थिए । त्यसअघि मलाई म्याराडोना कुन टिमका हुन् भन्ने पनि थाहा थिएन । विष्णु अंकल (राजेशका बुवा) को अनुहार त्यति खुलेको कहिल्यै देखेको थिइनँ । क्यामरुनका खेलाडीको एकपछि अर्को टयाकलले म्याराडोना र उनको स्ट्राइकिङ पार्टनर क्लाउडियो क्यानिजिया ढलेका थिए । खेलमा पनि अर्जेन्टिना उठ्न सकेन । क्यामरुनसँग १–० ले पराजित भयो । हामी सबै मलिन भयौं अर्जेन्टिनाको हारमा । अंकल केही उज्यालो देखिनुभयो ।


त्यसपछिका लिग चरणका खेल नेपाल टेलिभिजनले प्रसारण गरेन । त्यही पनि विषालु करेन्ट र गोमन सर्पको डरलाई प्रवाह नगरी झाडीमा रहेको एन्टेना घुमाउँदै दूरदर्शन लगाएर समूह चरणका केही खेल पनि हेर्‍यौं । क्लाइमेक्स त तब आयो जब नकआउट चरणमा अर्जेन्टिना र ब्राजिल नै भिड्ने भयो । हाम्रो पुस्ता पूरा अर्जेन्टिनाको लाइनमा थियो । अंकल त ‘क्यारेका–क्यारेका’ भन्दै हुनुहुन्थ्यो । त्यसपछि मात्र थाहा भयो उहाँ ब्राजिली प्रशंसक हुनु हुँदोरहेछ । लौ आज हुटिङ गर्न पनि नपाइने भइयो भन्दै चुपचाप लागेर बसियो । अर्जेन्टिनाले बल अघि बढाउँदा भने राजेश चिच्याउँथ्यो । उसलाई समर्थन गर्न भए पनि दम दिइन्थ्यो । अंकललाई भने क्यारेकाले गोल हान्छ भन्ने विश्वास थियो । तर जित अर्जेन्टिनाकै भयो ।
बल्लतल्ल अर्जेन्टिना फाइनल पुग्यो । फाइनल पुग्दाको खुसी अहिले पनि वर्णन गरेर सकिन्न । फाइनलमा अर्जेन्टिनालाई जर्मनीले हरायो । उपाधि गुमाउँदा म्याराडोनाले बगाएको आँसुले पहिलोपल्ट खेलकुदको अर्थ बुझायो । जेहोस् त्यसयता अर्जेन्टिनाको समर्थन गर्दै आइरहेको छु । त्यसको खास कारण भन्नुपरेन ।


***


नेपाल टेलिजिभनको स्थापना २०४१ सालमा भयो । त्यही वर्ष सन् १९८६ को विश्वकप परेको थियो । नेपाल टेलिभिजनले उक्त विश्वकप रेकर्ड गरेर देखाएको थियो । म्याराडोनाको जादु यहींबाट सुरु भएको थियो । यसले धेरै नेपालीलाई लठयायो । नेपालमा अर्जेन्टिनाको ठूलो समर्थन बनाउने कार्यको सुरुआत यहींबाट भयो । म्याराडोनाको त्यही जादूकै वर्ष नेपालीको पहुँच टेलिभिजनमा पुगेकाले नेपालमा अर्जेन्टिनाको बाक्लो समर्थक देख्छन् वरिष्ठ खेलपत्रकार मुकुन्द दाहाल । उनी यसमा सन् १९८२ को फोकल्यान्ड युद्ध र १९८६ को विश्वकपलाई जोड्छन् । ‘फोकल्यान्ड युद्धको चर्चा पनि हो, त्यति खेर व्रिटिस सेनामा कार्यरत नेपालीहरू फोकल्यान्ड युद्ध जितेर आएका थिए, नेपालमा फोकल्यान्ड युद्धको गीत पनि आइरहेको थियो । अर्जेन्टिनाले फुटबलमार्फत देखाइदियो जादू, त्यो नेपालीलाई गजबको सन्देश भयो,’ दाहालले स्मरण गराए ।


सन् १९९० मा को विश्वकपको पहिलो खेलमा क्यामरुनसँग पराजित भएपछि नेपालका अर्जेन्टिनी समर्थक रोएको दाहाललाई अहिलेझैं लाग्छ । १९९४ को विश्वकपमा म्याराडोना डोपिङ परीक्षणमा असफल भई प्रतियोगिताबाट बाहिरिए । तर धेरै नेपाली समर्थकको सहानुभूति उनै म्याराडोना र अर्जेन्टिनासँग रहेको दाहालले पाए । ‘म्याराडोनाको ड्रग्स काण्डपछि उनका र अर्जेन्टिनी समर्थकले काठमाडौंमा जुलुस निकाल्दै भित्तेलेखन गरेका थिए,’ दाहालले सुनाए, ‘अमेरिकाले मन नपराउने क्युवाका नेता फिडेल क्यास्ट्रोको टयाटु म्याराडेनाले खोपेका थिए । त्यही कारण अमेरिका र फिफाले षड्यन्त्र गरेर उनलाई विश्वकपबाट निकालेको नारा लगाइरहेका थिए । म्याराडोनाले १९८६ को विश्वकपदेखि धेरै नेपालीलाई एकोहोरो बनाइदिएका छन् ।’


नेपालले बेलायतसँग कूटनीतिक सम्बन्ध गरेको २ सय २ वर्ष भइसकेको छ । कुनै पनि देशसँग यो सबैभन्दा पुरानो हो । अझ बेलायतसँग नेपालको रहनसहन धेरै छ । गोर्खा फौजले यो सम्बन्ध अझ जोडेको छ । जब विश्वकप र युरो कप आउँछ इंग्ल्यान्डको त्यस्तो माहोल देख्दैनन् नेपालमा दाहाल । भन्छन्, ‘कुनै पनि खुला ठाउँमा इंग्ल्यान्ड र अर्जेन्टिनाको म्याच हेर्नुपर्‍यो भने पनि इंग्ल्यान्डका समर्थकले हुटिङ गर्दा पिटाइ खानुपर्ने डर छ । जबकि अर्जेन्टिनी समर्थकहरू सानसाथ हाम्रो अर्जेन्टिना दिइरहेका हुन्छन् ।’


***
१९९० को विश्वकपमा म्याराडोनाले अघिल्लो विश्वकपमा जस्तो जादू देखाउन सकेनन् । तर अर्जेन्टिनालाई फाइनल पुर्‍याएकाले नेपाली समर्थकको यही दक्षिण अमेरिकी राष्ट्रको फुटबलप्रति ठूलो मोह छ । अहिले लियोनल मेसीलाई पछयाउँदै अर्जेन्टिनालाई समर्थन गर्ने पनि उस्तै छन् । १९८६ यता अर्जेन्टिनाले विश्वकप जित्न सकेको छैन, त्यही पनि किन अर्जेन्टिनाको समर्थन गरिरहन्छस् भनेर साथीभाइहरू कहिलेकाहीँ खिस्याउँछन् पनि । केहीले फोकल्यान्ड युद्धमा अर्जेन्टिनी सेनाले बेलायती सैनिकमा भित्र रहेका नेपालीलाई हेपिएका तर्क गर्दै त्यही अर्जेन्टिनालाई समर्थन गर्ने भनेर प्रश्न गर्छन् । बेलायती सैनिकका रूपमा फोकल्यान्ड युद्धमा लडेका गणेश राईले आफ्नो पुस्तक ‘फोकल्यान्ड जर्नल’ मा स्पष्ट लेखेका छन्, ‘नेपालीहरू त्यहाँ हेपिएका होइनन्, उल्टो अर्जेन्टिनी सैनिकलाई पराजित गरेर आएका हुन् । एक जना बेलायती सैनिकमा रहेका नेपालीको उपचारको क्रममा फर्किंदा मृत्यु भएको थियो, अरू केही भएको छैन ।’


नेपाल र अर्जेन्टिनाको द्विपक्षीय सम्बन्ध स्थापना भएको साढे चार दशकभन्दा बढी भइसकेको छ । यी दुई देशबीचमा उल्लेखनीय सम्बन्ध त्यस्तो केही छैन । तर फोकल्यान्ड युद्धपछि अर्जेन्टिनाले नेपालीलाई हेर्न नजर खासै राम्रो पनि छैन । २००७ मा ओमान विश्वकप छनोट खेल्न नेपाल आएको थियो । ओमानका प्रशिक्षकमा अर्जेन्टिनी ग्याब्रियल क्यालडेरोन थिए । उनले म्यारोडानासँगै राष्ट्रिय टोलीबाट खेलेका थिए । उनले नेपालमा अर्जेन्टिनी समर्थकको ठूलो संख्या छ भन्दा आश्चर्य मानेका थिए । पत्रकार दाहाल भन्छन्, ‘जबकि हामी नेपालीहरू अर्जेन्टिना भनेपछि हुरुक्कै हुन्छौं ।’
***


सन् २००२ को विश्वकपमा अर्जेन्टिना पहिलो चरणबाटै बाहिरिँदा साथीहरू उज्ज्वल आचार्य, प्रेम ढकाल, विकास कार्की लगायतले जर्सीमा ‘स्टिल अर्जेन्टिनी फ्यान’ अक्षर प्रिन्ट गराएका थिए । यो झट्का त्यतिखेर लागेको थियो, जतिखेर अर्जेन्टिना दाबेदारसाथ जापान–कोरिया गएको थियो । इंग्ल्यान्डसँगको हारपछि अर्जेन्टिना समूह चरणबाटै बाहिरिएको थियो । त्यसपछि त्यो संकटमोचन गर्न प्रेमले अर्जेन्टिनाको त्यो जर्सी पुरुषोत्तम कट्टेललाई मलेसिया पठाइदिए । तथापि अर्जेन्टिनाले जितेन । बरु पुरुषोत्तमले समर्थन गरिरहेको जर्मनीले पछिल्लोपल्ट अर्जेन्टिनालाई फाइनलमा हराएर चौथो पटक विश्वकप उपाधि जित्यो । अर्जेन्टिना भने त्यही दुई विश्वकप उपाधिमा अड्किएको छ ।
***


यसअघिका प्रतियोगितामा जस्तो अर्जेन्टिनालाई यसपालि दाबेदार राखिएको छैन । स्वयं कप्तान लियोनल मेसीले पनि यो मानेका छन् । अर्जेन्टिना ‘अन्डर डग’ को रूपमा बसेको छ । यस्तोमा अर्जेन्टिनालाई फाइदा हुन सक्छ, किनभने ठूला टोलीको नजरमा बस्नुपर्दैन । विश्वकपअगाडि पहिलो रोजाइका गोलरक्षक सर्जियो रोमेरो घाइते भएर विश्वकपबाट बाहिरिन पुगे । यसलाई अर्जेन्टिनालाई धक्का लाग्न पुग्यो । १९९० को विश्वकपको एक्कासि याद आयो मलाई । अर्जेन्टिनालाई विश्वकप जिताएर आएका गोलरक्षक नेरी पम्पिडो सोभियत संघसँगको दोस्रो खेलको सुरुमै घाइते हुन पुगेपछि सर्जियो गोयकचिया आएका थिए । अन्तत: अर्जेन्टिनाको फाइनल यात्रामा उनी नै एक प्रमुख नायक बनेका थिए ।

twitter: @dearbinod

प्रकाशित : जेष्ठ २९, २०७५ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?