चिजबिनाको पिज्जा
काठमाडौँ — आफूलाई मनपरेको टिम, अझ भनौं, आफूले लामो समयदेखि समर्थन गरिरहेको टिम नै छैन भने विश्वकप किन हेर्ने ? फुटबलका केही खास समर्थकले यस्तो पनि भन्न सक्छन् । प्रत्येक विश्वकप फुटबलमा कुनै न कुनै ठूलो टिम अनुपस्थित रहने गरेको छ । विश्वकपको अन्तिम चरण खेल्नु जति गाह्रो छ, त्यो भन्दा गाह्रो विश्वकपमा छनोट हुनु भनिन्छ । केही ठूला टिम यही छनोटमै अड्किने गर्छन् । जस्तो, यसपल्ट इटाली नराम्रोसँग छनोटमै फस्यो ।
रुसी भूमिमा हुने यसपालिको विश्वकपमा इटाली हुने छैन । त्यसैले इटालीलाई भित्री मनदेखि समर्थन गर्नेहरूले भन्न सक्नेछन्, यसपल्टको विश्वकप हेरिन छैन । हेरे पनि त्यति गम्भीर भएर हेरिने छैन । साँच्चै, यसअघिका विश्वकपमा पनि केही ठूला नाम नछुटेका होइनन् । तर यसपल्टको विश्वकपमा इटाली नहुनुको अर्थ हो, यस संस्करणमा फुटबल खेल्ने एक खास शैलीको अनुपस्थिति रहनेछ । त्यसैले यसपल्टको विश्वकपले पस्कने स्वाद पनि यसअघिका संस्करणभन्दा फरक हुनेछ ।
इटालीको फुटबलले एक खास प्रकारको स्वाद पस्कने गर्छ । त्यो हो, डिफेन्समा बढी जोड दिएर खेल्ने तरिका । यसरी नै खेलेर इटालीले चारपल्ट विश्वकप जित्यो । अन्तिम पटक
सन् २००६ मा इटालीले विश्व फुटबलको सबभन्दा ठूलो उपाधि जितेको थियो । भनिन्छ, आक्रामक फुटबलले खेल त जितिन्छ, तर उपाधि दिलाउने त रक्षात्मक खेलले नै हो । इटालीसँग प्राय: तगडा चार डिफेन्डर हुने गर्थे । अनि त्यसैलाई सुहाउँदो अब्बल गोलरक्षक ।
तिनीहरूलाई काटेर बल अगाडि लैजानु असम्भव जस्तै हुन्थ्यो । इटालीको आक्रमण सम्हाल्ने पनि कम्तीका हुने थिएनन्, तिनैले के एक गोल गर्यो, त्यो नै निर्णायक हुन्थ्यो । त्यसलाई डिफेन्सले जबरदस्त तरिकाले रक्षा गथ्र्यो । यसरी नै खेलेर इटाली दुईपल्ट विश्वकपको उपविजेता पनि त रह्यो । प्राय: इटालीले विश्वकपमा सुस्त सुरुआत लिने गर्छ । तर इटालीलाई राम्रोसँग थाहा छ, ठूलो प्रतियोगितामा टिमलाई कसरी जीवन्त राख्नुपर्छ भनेर । इटाली जति अगाडि बढ्दै जान्छ, उत्तिकै सटिक हुन थाल्छ । सायद पछिल्लो समय इटालीले त्यसरी फुटबल खेल्न बिर्सेको थियो । इटालीको फुटबल त्यति दमदार रहेन अथवा अरु जस्तोसुकै कारण, फुटबलको विशिष्ट एक सिद्धान्त ‘स्कुल अफ थट्स’ यसपल्ट रुसमा देखिन छैन । दु:ख त्यसैमा हुनेछ । यहाँनिर प्रश्न उठ्ने गर्छ, के रक्षात्मक फुटबलका दिन गए त ? निकै रक्षात्मक भएर खेल्दा अचेल प्रशिक्षकलाई आलोचकहरूले उडाउनसम्म उडाउने गर्छन् ।
उनीहरूलाई आरोप लाग्ने गर्छ, रक्षात्मक फुटबलले खेलको सुन्दरतालाई नै समाप्त पार्छ । फुटबल मीठो होइन, निरस हुन थाल्छ । केही हदसम्म यस्तो हुन पनि सक्छ, तर प्रत्येक अवसरमा होइन । जहाँ आक्रामक फुटबलमा पारखी हुनेछन्, त्यहाँ रक्षात्मक फुटबलका समर्थक पनि हुनेछन् । रक्षात्मक फुटबलको मज्जा कहिले पनि सकिने छैन । इटाली जम्माजम्मी यसअघि एकैपल्ट मात्र विश्वकपमा छनोट हुन असफल थियो । यो सन् १९५८ मा हो । यो त ६० वर्षअगाडिको घटना हो । इटाली सन् १९३० को पहिलो विश्वकप पनि खेलेको थिएन, तर त्यतिबेलाको कारण नै फरक थियो । अर्जेन्टिनी डिएगो म्याराडोनाले आफ्नो व्यावसायिक फुटबलको उत्कृष्ट क्षण इटालीमै बिताए । त्यसैले उनी अर्जेन्टिनापछि इटालीको समर्थन गर्ने गर्छन् । उनले भनेका छन्, इटाली नहुनुको मलाई सैह्य भइरहेको छैन । त्यसैले उनी थप्छन्, अबको विश्वकप फरक हुनेछ । एकथरी फुटबल विशेषज्ञ भने अलि फरक मत पनि राख्छन् ।
तिनको तर्क हो, खासमा रक्षात्मक फुटबल कहिल्यै पनि मर्ने छैन । यसपल्ट इटाली छनोट हुन नसक्नुको कारण अरु केही होइन, त्यहाँको फुटबल नै कमजोर भएर हो । पछिल्लो समय इटालीको सिरी ‘ए’ को चमक पनि त्यस्तो रहन छाडेको छ, जस्तो कुनै समय थियो । सायद त्यसैले इटालीले युरोपेली छनोटमा निकै खराब खेल्यो । इटालीसँग कुनै समय नामी खेलाडीको कमी थिएन । यसपल्ट इटालीले यसमै पनि टिमले धोका खायो कि ? इटाली छनोटको समूह ‘जी’ मा थियो र यसमा परेको अर्को ठूलो टिम थियो, स्पेन । छनोटका क्रममा इटालीले स्पेनलाई छुन पनि सकेन । त्यसैले दोस्रो स्थानमा रह्यो । दोस्रोमै रहेर इटालीले प्ले–अफको अवसर भने पाएको थियो । त्यसमा पनि स्वीडेनको हातबाट निराश हुनुपर्यो । प्ले–अफको पहिलो लेग १–० ले गुमाएको इटालीले दोस्रो लेग सानसिरोमा खेलेको थियो, तर नतिजा रह्यो गोलरहित बराबरी । खेल सकेयता एउटा दृश्यले धेरैलाई रुवाएको हुन सक्छ । इटाली छनोट हुन नसकेको पीडा गोलरक्षक जियानलुइजी बुफोनले सहनै सकेनन् । मैदानमै रोए । उनी के रोए । अरु धेरै रोए इटालीको फुटबललाई माया गर्नेहरू ।
‘पिज्जा’ इटालीको विशिष्ट परिकार हो, यसमा धेरैभन्दा धेरै ‘चिज’ प्रयोग हुन्छ । इटालीमा मात्र होइन, यो परिकार पूरा विश्वमै लोकप्रिय छ । जसरी इटालीको फुटबललाई पूरा विश्वमा मनपराइन्छ । यही ‘पिज्जा’ मा ‘चिज’ नहुँदो हो त कस्तो हुँदो हो ? इटालीका फुटबल समर्थकका लागि यसपल्टको विश्वकप यस्तै हुनेछ, ‘चिज’ बिनाको ‘पिज्जा’ ।
twitter : @himeshratna
प्रकाशित : जेष्ठ २९, २०७५ ११:२२