कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सर्वकालीन महान् !

सुपरस्टारहरू लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई विश्वकपको उपाधि जित्ने अवसर छ । यसपालि विश्वकप जित्न नसके त्यसले उनीहरूलाई जिन्दगीभर पिरोल्नेछ ।
राजु घिसिङ

काठमाडौँ — विश्व फुटबलमा वर्षको सर्वोत्कृष्ट खेलाडीलाई दिइने अवार्ड हो– बेलन डि’अर । फ्रान्स म्यागजिनले सन् १९५६ मा सुरु गरेको यो अवार्ड लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले सर्वाधिक ५–५ पल्ट जितेका छन् । उनीहरूको यो सफलता अरूको तुलनामा झन्डै दोब्बर हो किनभने अन्य खेलाडीले तीनपल्टभन्दा बढी बेलन डि’अर जितेका छैनन् ।

सर्वकालीन महान् !

तसर्थ यी दुई सर्वकालीन महान् खेलाडी हुन् । पन्ध्र वर्षयता गरिरहेको प्रदर्शनले पनि त्यसलाई सावित गर्छ । यी दुई सुपरस्टार नै हुन् ।


पोर्चुगलका रोनाल्डो स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड हुँदै आठ वर्षयता रियल म्याड्रिडबाट क्लब फुटबल खेलिरहेका छन् । अर्जेन्टिनाबाट १३ वर्षको छँदै स्पेन पुगेका मेसीका लागि क्लब फुटबलमा स्पेनी महारथी बार्सिलोना पर्याय नै बनेको छ । रोनाल्डो र मेसीको मुख्य विशेषता के हो भने दुवैले क्लब फुटबलमा जित्न बाँकी कुनै पनि प्रतियोगिता छैन । रोनाल्डोले युरोपेली च्याम्पियन्स लिग, इंग्लिस प्रिमियर लिग, स्पेनी ला लिगा, क्लब विश्वकपसहित २७ उपाधि जितेका छन् । मेसीको खातामा च्याम्पियन्स लिग, ला लिगा, क्लब विश्वकपसहित ३२ उपाधि छन् ।


रोनाल्डोको कप्तानीमा युरोपियन च्याम्पियनसिप २०१६ मा पोर्चुगल च्याम्पियन नै भयो । फाइनलमा घाइते भए पनि उनकै बलबुतामा पोर्चुगल ट्रफी कब्जा गर्ने अवस्थामा पुगेको थियो । औसत खेलाडी रहेको टिमले पनि पोर्चुगलले सफलता पाएको थियो, जुन अनुमान गरेभन्दा विल्कुलै फरक नतिजा थियो । अन्तर्राष्ट्रिय फुटबलमा उनको उपाधि त्यही एउटा हो ।


अर्जेन्टिनी कप्तान मेसीको कथा झनै फरक छ । उनकै उत्कृष्ट प्रदर्शनको सहयोगमा अर्जेन्टिनाले बेइजिङ ओलम्पिक २००८ मा स्वर्णपदक जितेको थियो । तर त्यो उपाधि यु–२३ टिमको हो । सिनियर टिमको अन्तर्राष्ट्रिय फुटबलमा भने उनको यात्रा पीडादायी नै छ । त्यसैले त उनले संन्यासको घोषणा पनि गरेका थिए तर हतासको त्यो निर्णय बदलेर उनी फेरि अर्जेन्टिनी रङमै फर्किएका हुन् ।


मेसीयुक्त अर्जेन्टिनी टिम चारपल्ट फाइनलमा रोकिएको छ । उनको टिमलाई २०१५ र २०१६ को दक्षिण अमेरिकी च्याम्पियनसिप ‘कोपा अमेरिका’ मा चिलीले पराजित गरेको थियो भने २००७ मा ब्राजिलले हराएको थियो । अनि मेसीलाई विश्वकप २०१४ मा जर्मनीले उछिन्यो । त्यसैले पनि अर्जेन्टिना सन् १९९३ यता उपाधिविहीन छ ।


ठीक चार वर्षअघि विश्वकप फुटबलको फाइनलपूर्व अर्जेन्टिनी कप्तान लियोनल मेसीको भनाइ जर्मन ट्याब्लोइड पत्रिका बिल्डमा छापिएको थियो, ‘मेरो व्यक्तिगत सबै कीर्तिमान विश्व च्याम्पियन हुनलाई दिनेछु । बेलन डि’अरभन्दा पनि विश्वकप नै जित्न चाहन्छु । खेलाडीका रूपमा विश्वकप जित्नु नै सबैभन्दा ठूलो उपलब्धि हो । मेरो सपना यही हो र त्यसबाट कहिल्यै टाढा भागेको छैन ।’ उनको टिम फाइनलमा जर्मनीको सामना गर्ने तयारीमा थियो ।


माराकाना स्टेडियमको फाइनल भने मेसीले चाहेजस्तो भएन । कुनै पनि क्षण खेलको नतिजा पल्टाउन सक्ने खेलाडी भएकाले उनलाई रोक्न जर्मन खेलाडी योजनाबद्ध रूपमा लागेका थिए । हुन त मेसी समावेश अर्जेन्टिनालाई विश्वकप २०१० मा जर्मनीले ४–० ले हराइसकेको थियो । त्यही टिमका बास्टिन स्वाइन्स्टेगरले मेसीलाई ब्राजिलको मैदानमा कडा निगरानी गरेका थिए । जर्मन युवा मारियो गोत्जको गोलसँगै विश्वकपको उपाधि जित्ने मेसीको सपना फेरि एकपल्ट चकनाचुर भयो ।


मेसी विश्वकपको २० औं संस्करणको सर्वोत्कृष्ट खेलाडी चुनिँदै गोल्डेन बल विजेता नै बनेका थिए तर उनले चाहेको ट्रफी भने त्यो थिएन । गोत्जको गोलले उनलाई पेले, डिएगो म्याराडोना, जिनेदिन जिदान, ब्राजिलका रोनाल्डोको दाँजोमा उभ्याउने अवसरबाट वञ्चित गराइदियो । पेले, जिदान र रोनाल्डोले त विश्वकप जितेका मात्र थिएनन्, आफंैले फाइनलमा गोल पनि गरेका थिए । अर्जेन्टिनाले सन् १९८६ मा जितेको विश्वकपका हिरो अरू कोही नभएर म्याराडोना नै थिए । यस्ता उपलब्धिको कुरा आउँदा मेसीमाथि सधैं प्रश्न तेर्सिने गरेको छ, जुन उनी सधैंका निम्ति मेटाउन चाहन्थे/चाहन्छन् । युरो जिते पनि विश्वकपलाई लिएर यस्ता प्रश्नले पोर्चुगिज रोनाल्डोलाई पनि सताउने गर्छ ।


चाहिएको खास समयमा अर्जेन्टिनाका लागि योगदान दिन नसक्ने खेलाडी भएको आरोप पनि मेसीलाई लाग्ने गरेको छ । त्यसलाई उनले पखाल्न सकेका छैनन् पनि । किनभने उनले स्पेनी क्लब बार्सिलोनाका लागि जुन स्तरको फुटबल खेल्ने गरेका छन्, उस्तै कला—कौशललाई अर्जेन्टिनी जर्सीमा उतार्न सकेका छैनन् । हुन त यसपालि छनोटबाटै बाहिरिने डर भएका बेला उनले इक्वेडरविरुद्ध ह्याट्रिक गरेपछि नै अर्जेन्टिनाले रुसको टिकट काट्ने मौका पाएको थियो । चार वर्षअघि विश्वकपको समूह चरणमा जादुयी खेल पस्कँदै चार गोल गरेपछि मेसीले अन्तिम १६ मा पनि निर्णायक गोलको अवसर सिर्जना गरेका थिए । त्यसपछि बेल्जियम, नेदरल्यान्ड्स र जर्मनीविरुद्ध भने उनको गति विस्तारै सुस्त भएको थियो । त्यसैले अर्जेन्टिनी नजरमा उनीप्रति शंका गर्नु स्वाभाविक हो ।


विश्वकपमा रोनाल्डाको टिम पोर्चुगल त फाइनल पनि पुगेको छैन, २००६ मा सेमिफाइनल पुग्नु नै विश्वकपमा उनको टिमको सबभन्दा राम्रो नतिजा हो । तर त्यस बेला टिमको मुख्य खेलाडी रोनाल्डो थिएनन्, थिए त लुइस फिगो । फिगोपछिका सबभन्दा ठूलो पोर्चुगिज स्टार हुन्, रोनाल्डो । यता मेसी पनि म्याराडोनाले मैदान छाडेयताका अर्जेन्टिनी सुपरस्टार हुन् । कति विश्लेषकले त रोनाल्डो र मेसीलाई म्याराडोना र तीनपल्टका विश्वकप विजेता पेलेभन्दा उत्कृष्ट फुटबलर पनि भन्ने गरेका छन् । त्यसका कारण लगातार १५ वर्षसम्म पनि उनीहरूले गरिरहेको उत्कृष्ट प्रदर्शन र निरन्तर गोल नै हो । तर रोनाल्डो र मेसीको कटु आलोचक पनि धेरै छन्, जो विश्वकप जित्न नसक्ने खेलाडीलाई सर्वकालीन महान् खेलाडीको अग्रपंक्तिमा राख्न चाहँदैनन् । उनीहरूको तर्क छ, पेले, म्याराडोना, जिदानसँग दाँज्नका लागि पहिला विश्वकप जित्नुपर्छ । मेसी र रोनाल्डोलाई यस्ता आलोचकको मुख बन्द गर्ने समय आएको छ । आउन त त्यस्तो अवसर पहिला पनि आएको थियो तर त्यसमा यी दुई सफल भएनन् । अहिलेको अवसर भने दुवैका लागि अन्तिम मौकाजस्तै हो । त्यसैले यसपालि विश्वकप जित्न नसके त्यसले मेसी र रोनाल्डोलाई जिन्दगीभरि पिरोल्नेछ ।


मेसी र रोनाल्डोले सन् २००८ देखि विश्वको सर्वोत्कष्ट फुटबल खेलाडीको अवार्ड अरूको हातमा पर्न दिएका छैनन् । त्यसैले बेलन डि’अर यी दुईका लागि राखिएको अवार्डजस्तै पनि भएको छ । किनभने यी दुईले क्लब फुटबलमा गरेको प्रदर्शनकै आधारमा विश्वकप भएको वर्षमा पनि अवार्ड जितेका छन् । स्पेन विश्वकप २०१० च्याम्पियन हुँदा मेसीले जितेको अवार्ड र जर्मनी २०१४ मा विश्व च्याम्पियन हँ‘दा रोनाल्डोले कब्जा गरेको ट्रफी त्यसकै उदाहरण हुन् । मेसीको टिम अर्जेन्टिना २०१० मा क्वाटरफाइनलमात्र पुगेको थियो भने २०१४ मा रोनाल्डो कप्तान रहेको पोर्चुगल भने प्रारम्भिक चरणबाटै बाहिरिएको थियो ।


क्लब फुटबलमा जस्तै यी दुई आ–आफ्ना राष्ट्रिय टिमका लागि पनि कीर्तिमानका पर्याय नै हुन् । रोनाल्डोले पोर्चुगलका लागि सबभन्दा बढी ८१ गोल गरेका छन् । त्यसका लागि उनले १ सय ४९ खेल खेले । मेसीले पनि सर्वाधिक गोलको कीर्तिमान रच्दै अर्जेन्टिनाका लागि ६४ गोल गरेका छन् । यसका लागि उनले १ सय २४ खेल खेले । मेसी अहिले ३१ वर्षमा छन् भने रोनाल्डो ३३ । त्यसैले पनि उनीहरूका लागि विश्वकप जित्ने अन्तिम अवसर रुस २०१८ नै हो ।


सट्टेबाजीको बजार र सन्तुलित टिमको आधारमा भने मेसीको टिम ब्राजिल, डिफेन्डिङ च्याम्पियन जर्मनी, फ्रान्स र स्पेनभन्दा पनि पछाडि छ । अझ धेरै पछाडि छ, रोनाल्डोको टिम । टिमका सहकर्मी खेलाडी पनि उत्तिकै बलिया छैनन् । त्यसैले पनि ‘गड गिफ्टेड’ मेसी र मिहिनेतले बनेका रोनाल्डोलाई विश्वकप जित्न सजिलो छैन । तर उनीहरू एक्लै पनि टिमलाई जिताउने खुबी भएका खेलाडी हुन्, जसको क्षमताको मूल्यांकन रुसमा अर्को सातादेखि हुँदै छ ।

twitter: @rghising

प्रकाशित : जेष्ठ २९, २०७५ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?