कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

फेसनमा जीवन

सिक्किमबाट सीए पढ्न दिल्ली पुगेका युवा काठमाडौं प्रवेश गरेको एक दशकभित्रै चर्चित डिजाइनरमा स्थापित भए ।
मधु शाही

काठमाडौँ — सीए (चार्टर्ड एकाउन्टेन्ट) बन्ने लक्ष्य लिएर सिक्किमबाट दिल्ली पुगेका थिए । कलेज पढ्दै फुर्सदमा घुम्दा फेसन उद्योग देखे, जुन उनको सोचाइभन्दा विल्कुलै फरक थियो । कहिलेकाहीँ हिँड्दाहिँड्दै गन्तव्य फेरिन्छ र यस्तै भयो तेन्जिङ छेतेन भुटियाका लागि पनि ।

फेसनमा जीवन

सीए अध्ययनरत छँदा उनको ध्यान ड्रेस डिजाइनिङतर्फ मोडियो । घरमा स्वीकृति लिनका लागि सोध्दा आमाले उनलाई भनेकी थिइन्, ‘फेसन डिजाइनिङ पढेर के गर्छौ ?’ मुस्किलले फेसन डिजाइनिङ पढ्ने अनुमति पाए । नेसनल इन्स्टिच्युट आफ फेसन टेक्नोलोजी, बेङ्लोरमा दुईवर्षे कोर्स गरे र उतैतिर केही समय काम पनि गरे ।


तर उनले बेङ्लोर बसाइलाई त्यति सजिलो मान्न सकेनन् । ‘काममा आत्मसम्मान भएन भने सिर्जना मर्ने रहेछ,’ सिक्किमका तेन्जिङले भारत बसाइलाई सम्झिए, ‘आफ्नै देश (भारत) मा हुँदा पनि मैले पराई जस्तै महसुस भयो ।’ उनी साथीको निम्तोमा नेपाल आइपुगे । उनको पुख्र्यौली पूर्वी नेपालको इलाम हो ।


नेपाल बसाइलाई उनी आफ्नै घर ठान्छन्, अनुभव गर्छन् । एक दशकअघि काठमाडौं ओर्लिएका तेन्जिङलाई त्यसपछि करिअर बनाउन भनेर भारत फर्किनुपरेन । ‘अचेल अतिथि बनेरमात्र उता (भारत) जान्छु,’ उनले भने । यसबीच एक दशकमा नेपाली फेसन उद्योग तीव्र गतिमा परिवर्तन भइरहेको उनको अनुभव छ । उनी काठमाडौं आउँदा यहाँ डिजाइनरको संख्या एकदमै न्यून थियो । डिजाइन गरेर बेचिनेभन्दा पनि रेडिमेड पसल धेरै थिए । बाहिरबाट कपडा ल्याउने र बेच्ने काम धेरै हुन्थ्यो । ‘लुगा लगाउनु पनि कला हो भन्ने थाहा थिएन,’ उनी भन्छन्, ‘अहिले डिजाइनर पनि सेलेब्रिटी स्थितिमा आइसकेका छन् ।’


तेन्जिङले मिस नेपाल २०१० मा साहना वज्राचार्यका लागि ‘इभिनिङ गाउन’ बनाएका थिए । त्यसले उनलाई परिचित बनाएको थियो । नीलो–हरियो रङको गाउनमा साहना निकै खुलेकी थिइन् । त्यस कामप्रति तेन्जिङलाई पनि खुबै चित्त बुझेको थियो । उनी भारतीय च्यानल जुम टेलिभिजनको रियालिटी शो ‘लेट्स डिजाइन सिजन–२’ मा पनि सहभागी भए र फिनालेसम्मै पुगे ।


मिस अर्थ नेपाल रोजिशा शाहीले फिलिपिन्समा भएको मिस अर्थमा लगाएकी ‘ब्लु मर्मेट गाउन’ पनि तेन्जिङकै सिर्जना थियो ।


तेन्जिङ फेसनलाई व्यक्तिको परिचय ठान्छन् । मानिसको हरेक गतिविधिमा पहिरनको विशेष अर्थ हुन्छ । पहिरनले मानिसको व्यक्तित्व उजागर गर्छ । त्यसैले तेन्जिङ पहिरनमा जीवन देख्छन् । थुप्रै संस्थाहरूबाट वार्षिक करिब तीन सय फेसन डिजाइनर नेपालमै पनि निस्कन थालेका छन् । डिजाइनरको संख्या र प्रतिस्पर्धा बढ्दा आफ्नो सिर्जनशीलता पनि वृद्धि हुने तेन्जिङको धारणा छ ।


‘म चाहन्छु धेरै प्रतिस्पर्धा होस्,’ उनी भन्छन्, ‘फेसनको दुनियाँ प्रतिस्पर्धाकै लागि हो । यस्तै खेलमा नै त राम्रा सिर्जना फुर्ने गर्छ ।’ बसुन्धरा बस्ने तेन्जिङले आफ्नै नामको बुटिक सञ्चालन गरिरहेका छन् । प्रविधिको विकासले फेसन बजार पनि फराकिलो बन्दै गएको उनी बताउँछन् । उनका अधिकांश ग्राहक विदेशमा बस्ने नेपाली छन् । हङकङ, अस्ट्रेलिया, बेलायत, अमेरिकालगायतबाट अनलाइनमार्फत लिइने अर्डर लिएर तयार पारिएको पहिरनलाई उनी कुरियर गरेर पठाउने गर्छन् । तेन्जिङ स्वतन्त्र तरिकाले काम गर्न रुचाउँछन् । उनी डिजाइनलाई पहिरनअनुसार स्टाइलमा रूपान्तरण गर्छन् । पछिल्ला समय विवाहका पहिरनमा बलिउडको प्रभाव बढेको उनी मान्छन् । ‘नेपालीहरू विदेशमा पुग्ने क्रम जति बढ्छ, उति नै त्यहाँको पहिरन शैली र संंस्कृति पनि आदनप्रदान हुन्छ,’ उनले भने । ‘मौलिक कलामा फ्युजन गर्ने चलन बढेको छ ।’


तेन्जिङका उत्कष्ट ५ डिजाइन


स्प्रिङ सब्टल
जाडो छोडेर पूरै गर्मी नलाग्दासम्मको मौसममा आउने परिवर्तन चञ्चल र रोमाञ्चक हुन्छ । यही मनोविज्ञान समेटेर प्रिन्ट र कलर कम्पोजिसनसँग खेलेर यो ड्रेस तयार गरिएको हो । लेहेंगाको चोलीमा महिलाको पोट्रेट बनाएर फरक लुक्स दिने कोसिस गरेको थिएँ ।


गोल्डेन गर्ल
सुनौलो रङ आकर्षक मानिन्छ । सुनौला पदार्थ प्रयोग गरेर महिलाहरू चम्किला, सक्षम र हँसिलो छन् भन्ने भाव पस्किइन्छ । यो डिजाइन नारी सशक्तीकरणसँग जोडिएकाले पनि विशेष लाग्छ ।

सिमेन्ट ब्याग
जस्तोसुकै सामग्रीबाट पहिरन बनाउन सकिन्छ भन्ने देखाउन यो थिम अपनाएको थियो । सिमेन्टको बोरा काटेर महिलाका लागि गाउन तयार गरे । यो सिर्जना म आफैंलाई पनि नौलो लागेको थियो ।


स्प्रिङ सब्टल
नीलो–सेतो रङ संयोजन गरिएको यस ड्रेसको विशेषता नै तेर्सो धर्का हो । ब्लाउजमा इम्ब्रोइडरी गरिएको थियो भने सलमा पनि हातको काम देखाउने प्रयास गरेको छु । मौलिकलाई आधुनिक बनाउने प्रयास हो ।


समर ब्राइट
गर्मी मौसममा बेहुली हुनु गाह्रो हुन्छ । पहिरनले समस्या पार्छ । विवाहमा लगाउने पहिरनमा स्टोन धेरै हुन्छ, जसले भार बढाउँछ । मैले फूलबुट्टा कुँदेर यो पहिरन तयार गरेकाले अरुभन्दा विशेष लाग्छ ।

[email protected]

प्रकाशित : असार १, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?