१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रुसमा रोचक

काठमाडौँ — फिफा विश्वकप फुटबलको २१ औं संस्करण बिहीबार रूसमा सुरू भयो । रूसका ११ सहरका १२ रंगशालामा एक महिना सञ्चालन हुने विश्वकपमा ३२ टिमले प्रतिस्पर्धा गर्दैछन् । यसपालिको विश्वकपका केही रोचक पक्ष :

रुसमा रोचक

डेन्टिस्ट पनि प्रशिक्षक

आइसल्यान्डका ५१ वर्षीय प्रशिक्षक हाइमिर हाल्ग्रिम्सन पेसाले डेन्टिस्ट हुन् । उमेर छँदा औसत स्तरका खेलाडी हाल्ग्रिम्सनले खेल जीवन सकिएलगत्तै फुटबल प्रशिक्षण गर्न पनि थालेका थिए । उनी खेलाडी छँदै डेन्टिस्ट भइसकेका थिए । एक हजार जनसंख्या भएको भेस्टमन्यजार गाउँबाट उनले काम थालेका थिए ।
सन् २०११ मा आइसल्यान्डको सहायक प्रशिक्षक नियुक्त भएका हाल्ग्रिम्सनले २०१३ देखि लार्स लेगरब्याकसँगै संयुक्त रूपमा मुख्य प्रशिक्षकको भूमिका निभाए । युरो २०१६ पछि हाल्ग्रिम्सन एक्लो मुख्य प्रशिक्षक बनेसँगै डेन्टिस्टको काम पार्ट–टाइमका रूपमा मात्र गरिरहेका छन् । अचेल पनि टिमको प्रशिक्षण नहुँदा हाल्ग्रिम्सन दाँतको उपचारमा व्यस्त हुन्छन् । उनले दुवै करिअरलाई सँगै अगाडि बढाउने बताउँदै आएका छन् ।

४५ वर्षे खेलाडी !


इजिप्टका गोलरक्षक एसाम अल–हदारी ४५ वर्ष ५ महिनाका भए । यसपटक उनी मैदानमा उत्रिए विश्वकप खेल्ने सबैभन्दा बढी उमेरका खेलाडी हुनेछन् ।
पछिल्लो संस्करणमा कोलम्बियाका फरिद मोन्ड्रागनले ४३ वर्ष ३ दिनको उमेरमा विश्वकप खेलेर कीर्तिमान कायम गरेका थिए । यसपटक उक्त कीर्तिमान तोड्ने पक्षमा छन्, अल–हदारी । इजिप्टका कप्तानसमेत रहेका हदारीले व्यावसायिक फुटबल खेल्न थालेको २५ वर्ष भइसकेको छ । उनले १ सय ५८ खेल खेलिसकेका छन् ।

नाइजेरियन जर्सी मोह

विश्वकपमा कुनै देशको जर्सीले अर्को राष्ट्रको बजारमा तहल्का मच्चाएको घटना विरलै हुन्छ । यसपटक नाइजेरियाको जर्सीले विशेष चर्चा पाइरहेको छ । नाइजेरियाको सेतो र हरियो रङमा डिजाइन गरिएको जर्सी बजारमा आएको केही क्षणमै करिब ३० लाख जर्सी बिक्यो । अनलाइनमा ३ मिनेट पनि टिकेन । नाइकले स्टक सकिएको भन्दै कतिपय स्थानमा सोरुम नै बन्द गर्‍यो । जर्सी उत्पादक नाइकले घरेलु जर्सीमात्र नभएर ट्रयाक ज्याकेट, ह्याट, लगायत अन्य सामग्री पनि सोही डिजाइनमा रहेर उत्पादन गरेको छ । नाइकका म्याट वल्फले डिजाइन गरेको यो किट सन् १९९४ मा नाइजेरियाले प्रयोग गरेको जर्सीबाट प्रेरित छ ।

जुम्ल्याहा दाजुभाइ

आयोजक रुसबाट जुम्ल्याहा दाजुभाइ एलेक्सी र एन्टोन मिरान्चुक विश्वकप खेल्ने टिममा परेका छन् । यी दुवै रुसी क्लब लोकोमोटिभ मस्कोका नियमित खेलाडी हुन् ।
एलेक्सी फरवार्ड हुन् भने एन्टोन आक्रामक मिडफिल्डमा खेल्ने गर्छन् । गत सिजन एन्टोनले क्लबका लागि ४० खेलमा ५ गोल गर्दै थप ६ गोलका लागि अन्तिम पास दिएका थिए । एलेक्सीले क्लबका लागि ४० खेलमा ८ गोल गरेका थिए भने सात गोलमा अवसर सिर्जना गरेका थिए । अनुभवी खेलाडीको बाहुल्यता रहेको रसियाली टोलीमा दुवै खेलाडी पहिलो रोजाइमा खेल्ने सम्भावना भने न्यून छ ।

मार्केज पाँचौंपल्ट


मेक्सिकोका राफेल मार्केज पाँचौंपल्ट विश्वकप खेल्ने संघारमा छन् । उनी सन् २००२ देखि नियमित विश्वकपमा मेक्सिकोका लागि खेल्दै आएका छन् । उनी १९९८ को विश्वकपमा भने अन्तिम चरणमा टोलीमा अटाउन सकेका थिएनन् ।
यसपटक उनी मैदानमा ओर्लिएमा विश्वकपमा जर्मनीका लोथार म्याथुज र मेक्सिकोकै एन्टोनियो कार्बाहालको कीर्तिमान बराबरी गर्नेछन् । ३९ वर्षीय मार्केजले विश्वकपपछि संन्यास लिँदैछन् । बार्सिलोनामा सात वर्ष खेलेका उनी डिफेन्स र डिफेन्सिभ मिडफिल्ड दुवै भूमिकामा खेल्ने गर्छन् ।

प्रकाशित : असार १, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?