कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

स्मार्टफोनका द्धिविधा

टीभी धेरै हेरेर बालबालिका बिग्रिए भन्ने गुनासोको सट्टा अब मोबाइल धेरै चलाएर मान्छे बिग्रिएकामा चिन्ता बढेको छ ।

काठमाडौँ — पछिल्ला वर्षमा स्मार्टफोनप्रति मानिसको आशक्ति यति बढेको छ कि जसले बनाएको हो, उसैले भन्नुपरेको छ– अब कम चलाऊ ।पछिल्ला केही सातायता यस्तै घटनाले चर्चा पाएका छन् । जस्तो कि अघिल्लो महिना गुगलले आफ्नो अपरेटिङ सिस्टमको नयाँ भर्सन एन्ड्रोइनपीको घोषणा गर्दै प्रयोगकर्तालाई स्मार्टफोन ठिक्क मात्रै चलाउन प्रोत्साहित गर्ने फिचरको घोषणा गर्‍यो ।

स्मार्टफोनका द्धिविधा

फेरि अघिल्लो साता एप्पलले आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्समा आगामी आईओएस अपरेटिङ सिस्टमको घोषणा गर्दै आइफोन कम प्रयोग गर्न प्रयोगकर्तालाई सघाउने फिचरको घोषणा गर्‍यो ।


एक दशक अघिसम्म पनि बालबालिकाले टेलिभिजन धेरै हेरेर उनीहरूले खेल्न बिर्सिए । उनीहरूको आँखा बिग्रियो भन्नेजस्ता गुनासा धेरै सुन्न पाइन्थ्यो । फेरि, केही वर्षयता यस्तै खालको भनाई स्मार्टफोनमा लागू भएको छ । टीभी धेरै हेरेर बालबालिका बिग्रिए भन्ने गुनासोको सट्टा अब मोबाइल धेरै चलाएर मान्छे बिग्रिएकामा चिन्तामा बढेको छ । साथीहरूसँग बस्दा होस् वा परिवारसँग । स्मार्टफोनमा आँखा जुधाएर बस्ने बानीले अहिले संसारभरका मानिसहरू आजित छन् । यस्तो खालको मानवीय स्वभावले मान्छेबीचको सम्बन्ध पनि न्यानो हुन नसक्ने भन्दै धेरैले चिन्ता जनाएका छन् । यसमा एप्पलकै प्रमुख लगानीकर्ता पनि थिए । जनवरी पहिलो साता एप्पलका लगानीकर्ताले कम्पनीको नाममा खुलापत्र लेख्दै बालबालिकाको बढ्दो स्मार्टफोन मोह कम गर्नका लागि केही कदम चाल्न आग्रह गरेका थिए ।


अघिल्लो महिना एन्ड्रोइड पीको घोषणा गर्दै गुगलले नयाँ फिचरको घोषणा गरेको थियो, जसले धेरैलाई आश्चर्यमा पार्‍यो । ड्यासबोर्ड नाम दिइएको उक्त फिचर एन्ड्रोइडको आगामी भर्सनमा उपलब्ध छ । सीमित स्मार्टफोनमा बेटा भर्सन उपलब्ध भएको एन्ड्रोइड पी यो वर्षको अन्त्यतिर सबैको लागि खुला हुनेछ ।


गुगलले सार्वजनिक गरेअनुसार एन्ड्रोइड पीको ड्यासबोर्डमा यस्ता केही फिचरहरू छन् जसले प्रयोगकर्तालाई कुन एप एक दिनमा कति घण्टा चलाउने, मोबाइल कति घण्टा प्रयोग गर्ने भन्नेजस्ता सुविधा दिनेछ । साथै, यसमा प्रयोगकर्ताले आफ्नो सुत्ने समय सेट गर्न मिल्ने र उक्त समयपछि फोन स्वत: श्यामश्वेत मोडमा जाने फिचर पनि राखिएको छ । प्रयोगकर्तालाई मोबाइलमा कम टाँसिन यस्तो फिचर ल्याएको गुगलले घोषणा गरेको थियो । जसले प्रयोगकर्तालाई धेरैभन्दा धेरै स्मार्टफोन प्रयोग गर्न लोभ्याउने फिचर ल्याउनुपर्ने हो, उसैले कम चलाउन सघाउने फिचर ल्याउने घोषणा गर्दा धेरैले आश्चर्य मानेका थिए ।


यही फिचर एप्पलले आफ्नो आइफोन र आइप्याडमा पनि प्रयोग गर्ने भएको छ । एप्पलले गत साता सम्पन्न आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्समा सार्वजनिक गरेअनुसार आईओएस १२ मा रहेको स्क्रिन टाइम फिचरले प्रयोगकर्तालाई कुन एप कति प्रयोग गरेको, कति घण्टा मोबाइल प्रयोग गरेको जानकारी दिनेछ । साथै, प्रयोगकर्ताले आफूले चाहेको एपबाट आउने नोटिफिकेसन बन्द गर्ने, सीमित नोटिफिकेसन मात्रै क्रिनमा देखाउन मिल्ने सुविधा पनि प्रयोग गर्न पाउने छन् ।


गुगल र एप्पल दुवैले आफ्ना अपरेटिङ सिस्टममा नोटिफिकेसनलाई पनि सुधारेको घोषणा गरेका छन् । दुवै अपरेटिङ सिस्टमको आगामी भर्सनमा डु नट डिस्टर्भ मोड प्रयोग गरेपछि स्मार्टफोन घडीजस्तो मात्रै रहनेछ ।


दुवै कम्पनीले आफ्नो अपरेटिङ सिस्टममा थपेको नयाँ फिचरले भने एउटा कुरा पुष्टि गरेको छ– अब स्मार्टफोनमा भुल्ने बानी फेर्ने बेला आइसकेको छ । मानिसहरू अहिले मुखले भन्दा पनि औंलाले बोल्न थालेका छन् । र, बालबालिका र किशोरकिशोरीमा यो समस्या झन् बढ्दो छ ।


तर, दुवै कम्पनीले आफ्नो अपरेटिङ सिस्टममा प्रयोगकर्ताले स्मार्टफोनको प्रयोगलाई कम गर्न सघाउने फिचर राखेको भए पनि प्रयोगकर्तालाई स्मार्टफोन साँच्चिकै कम प्रयोग गर्न मिल्ने गरी सुविधा भने कटौती गरेका छैनन् । बरु, दुवैले आफ्ना नयाँ अपरेटिङ सिस्टममा प्रयोगकर्तालाई स्मार्टफोन धेरै प्रयोग गर्न मन लाग्ने फिचरहरू थपेका छन् । आफ्नो भ्वाइस असिस्टेन्टलाई सुधारेका छन् र पहिलेका सुविधामा पनि आकर्षण थपेका छन् ।

प्रकाशित : असार १, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?