कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँच खेलाडी, पाँच कथा

काठमाडौँ — रुसमा भइरहेको २१ औं विश्वकप फुटबलमा रोमाञ्चक प्रतिस्पर्धा चलिरहेको छ । खेलाडीहरु मैदानमा व्यस्त छन् र त्यसैको नतिजालाई लिएर करोडौं मानिस उत्साहित छन् । त्यसमध्ये रुस पुगेका फरक विशेषता भएका पाँच खेलाडीबारे सुबास हुमागाईं लेख्छन् :

पाँच खेलाडी, पाँच कथा


पोस्टर प्रेरणा
पेसाले भिडियो निर्देशक रहेका आइसल्यान्डका गोलरक्षक हान्स पोर हाल्डर्सनले २७ वर्षको उमेरमा डेब्यु गरेका थिए । सन् २०११ मा डेब्यु गरेयता उनले युरोपेली च्याम्पियनसिप र विश्वकप पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेले । युरो खेलेपछि उनले हरेक दिन विश्वकप खेल्नुपर्छ भन्ने याद गराउन कोठामा पोस्टर नै टाँसेका थिए । विश्वकप छनोटका नौ खेलमा ५ क्लिन सिटसहित उनको प्रदर्शन उल्लेख्य थियो । समूह चरणको पहिलो खेलमा अर्जेन्टिनालाई बराबरीमा रोक्दा उनले लिओनेल मेसीको पेनाल्टी पनि रोके ।

प्रयांकको असर
स्पेनमा जन्मिएका सेनेगलका केइटा बेल्डेले बार्सिलोनाको एकेडेमीबाट फुटबल सुरु गरेका थिए । १५ वर्षको हुँदा एकेडेमीका अर्का खेलाडीलाई प्रयांक गर्ने सुरमा उनको ओछ्यानमा आइस राखेपछि कारबाहीका रूपमा उनलाई लोनमा पठाइयो । लोन सकिएपछि बार्सिलोनाले फिर्ता बोलाए पनि उनी फर्कन मानेनन् । लगत्तै लाजियोको सिनियर टोलीमा मौका पाएका उनले त्यसयता पछाडि हेर्नुपरेको छैन । गत सिजन २ करोड २० लाख पाउन्डमा एएस मोनाको पुगेका उनले राम्रो प्रदर्शन गरिरहेका छन् । विश्वकपमा अर्का स्टार साडियो मानेसँग तालमेल मिले सेनेगल विपक्षी डिफेन्सका लागि टाउको दुखाइ बन्न सक्नेछ ।

७० युरोको खेल
किशोर अवस्थामा लुका जोभिचको खेल्ने कौशल देखेर एक प्राइभेट स्कुलले उनका बुबालाई हरेक खेल खेलेबापत ७० युरो तिर्ने गरेको थियो । उनका बुबाले हरेक दिन उनलाई प्रशिक्षणका लागि ल्याउने–लाने गर्थे । बेलाबखत दुवै जना कारमै रात बिताएर भोलिपल्ट प्रशिक्षण सकेर मात्र फर्कन्थे । सर्बियाका २० वर्षीय फरवार्डले सिनियर टोलीमा अहिले नै स्थान बनाए पनि सुरुआती रोजाइमा पर्न भने थप मिहिनेत गर्नुपर्नेछ । पछिल्लो सिजन लोनमा फ्रान्कफर्ट पुगेका उनले चोटका कारण यु–२० विश्वकप गुमाए पनि उनले अर्को सिजन बेन्फिकामै खेल्ने सम्भावना बढेको छ ।

बुबा ब्राजिली, छोरा स्पेनी
स्पेनका थियागो अलाकान्टाराका पिता माजिन्हो सन् १९९४ मा विश्वकप जित्ने ब्राजिली टोलीको सदस्य हुन् । उनको जन्म भने इटालीमा भएको थियो । पाँच वर्षको उमेरदेखि बार्सिलोनाको ला मासिया एकेडेमीमा हुर्केका थियागोले क्लबको सिनियर टोलीमा पनि खेले । उनको सहोदर भाइ राफिन्हा अझै पनि बार्सिलोनामै छन् । सन् २०१३ मा पेप गुआर्डीओला बायर्न पुगेपछि थियागोलाई पनि बायर्नमा अनुबन्धित गरे । थियागो मिडफिल्डमा बल कब्जा गर्न र सटिक पास खेल्न माहिर छन् । उनको यो स्किल स्पेनको विश्वकप यात्रामा प्रभाव जमाउन सक्छ ।

याकुबको पुनरागमन
आधुनिक पोलिस फुटबलका सदाबहार खेलाडी ब्लास्जीकोस्कीको विश्वकप यात्रा उतारचढावले भरिपूर्ण रहयो । बाल्यकालमा आफ्नै बुबाले आमाको हत्या गरेको निर्मम दृश्य देखेका उनले केही समय फुटबल छाडे । पोल्यान्डको राष्ट्रिय टोलीबाट खेलिसकेका यी मिडफिल्डरका काका जर्जी ब्रेज्चेकले उनलाई फेरि मैदानमा फर्काए । यस वर्ष पनि ढाडको चोटका कारण उनले पाँच महिना मैदानबाहिर रहनुपर्‍यो । निरन्तर मिहिनेत गरिरहने बानीले गर्दा समर्थकमाझ ब्लास्जीकोस्कीले छुट्टै पहिचान बनाएका छन् । उनको अनुभव र खेल्ने शैली पोल्यान्डका लागि फाइदाजनक हुन सक्छ ।

प्रकाशित : असार ८, २०७५ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?