ह्यान्डसम मुख्यमन्त्री

काठमाडौँ — गोरो अनुहार । उचाइ ६ फिट । सधैं चिटिक्क परेको ढाका टोपी, दौरासुरुवालमा सजिने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई देख्ने जो कोही पनि पहिलो भेटमा उनकै पोसाक र सुन्दरताको बयान गर्छन् । प्राय: हरेक दिन फरक रङका दौरासुरुवालमा सजिने उनलाई अन्य पोसाकमा विरलै देखिन्छ ।

ह्यान्डसम मुख्यमन्त्री

स्पष्ट वक्ता राईको पहिचान दौरासुरुवाल पनि बनेको छ । उनलाई बाल्यकालमा पनि दौरासुरुवाल र स्टकोट लगाएको याद छ । ‘कक्षा ६ मा पढ्दा गाउँमै सिलाइएको चिटिक्क परेको दौरासुरुवालले खुबै सुहाएको छ भनी आमा र साथीहरूले त्यस बेला पनि भन्थे,’ उनले सुनाए । माध्यमिक तह पढ्दासम्म दौरा सुरुवाल त्यसपछि कलेजमा जिन्स–पाइन्ट र टिसर्ट लगाउँथे । खेलाडी भएकाले पनि उनले क्याम्पसमा अध्ययरत छँदा दौरासुरुवाल कमै लगाउँथे ।
भोजपुरको आमचोक गाउँपालिका–३ मा ४८ वर्षअघि जन्मेका उनी परिवारका एक्ला छोरा हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेका उनको राजनीतिक यात्रा २०४४ सालमा सुरु भएको थियो । ०५६ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा चुनाव जित्ने सबभन्दा कान्छो उनी नै थिए । त्यसै बेलादेखि फेरि उनले दौरासुरुवाल लगाउन थाले, जुन अहिले उनको अघोषित ‘ड्रेस कोड’ नै भएको छ ।


२०६५ सालमा प्रतिनिधिसभाको सदस्य चुनिएपछि दौरासुरुवालसँग उनको सम्बन्ध अझ प्रगाढ बन्यो किनभने संसद्को सुशासन समितिको सभापति हुँदा उनैले बैठकमा सहभागी हुँदा दौरासुरुवाल अनिवार्य लगाउनुपर्ने नियम बनाइदिएका थिए । २०७२ सालमा जब राई सूचना तथा सञ्चारमन्त्री बने, त्यसपछि राईले दौरासुरुवालभन्दा अरू विरलै लगाए । अहिले मुख्यमन्त्री जिम्मेवारीमा पनि उनलाई दौरासुरुवाल बिना दुर्लभै देखिन्छ ।


‘दौरासुरुवाल लगाउँदा सान नै बेग्लै हुन्छ । आफैंलाई भिन्न खालको महसुस हुन्छ,’ उनले भने, ‘जब म दौरासुरुवाल लगाएर बाहिर निस्कन्छु, मेरो पार्टीका नेता/कार्यकर्ता मात्र हैन, सर्वसाधारणले पनि निकै प्रशंसा गर्छन् । त्यसले मलाई दौरासुरुवाल लगाउन थप उत्साहित बनाउँछ ।’ दौरासुरुवाल लगाएपछि उनी आफूलाई परिपक्व महसुस गर्छन् । पाइन्ट लगाउँदा आफूलाई बेलायती लाहुरेजस्तो देखिइने गरेको उनी बताउँछन् । ‘दौरासुरुवाल लगाउँदा आफैंलाई नेताजस्तो लाग्छ,’ उनले भने ।


मुख्यमन्त्री राईलाई दौरासुरुवाल लगाउनका लागि गर्मी वा जाडो मौसमले कुनै फरक पार्दैन । उनी ५० जोर दौरासुरुवाल फटाइसकेको बताउँछन् । अहिले उनीसँग विभिन्न रंगका २८ जोर दौरासुरुवाल छन् । हातले बुनिएको खाँडीदेखि सेतो, खैरो, नजिलोलगायत धेरै किसिमका रङका दौरासुरुवाल हरेक दिन बदलेर लगाउने गर्छन् ।


सबैभन्दा राम्रा दौरासुरुवाल उनी आफ्नै जिल्ला भोजपुरमा नै उत्पादन भएको खाँडीलाई मान्छन् । कपासको धागोबाट हातले बुनेर तयार पारिएको कपडाबाट सिलाएको खाँडीको दौरासुरुवाल उनको प्रिय हो । मुख्यमन्त्रीसँग विभिन्न रंगका ६ वटा कोट रहेका छन् । उनले लगाउने दौरासुरुवालको मूल्य एक सेटको १२ सय रुपैयाँदेखि १० हजारसम्म परेको बताइन्छ । सिलाइको मूल्य एक जोरको १५ सय जति पर्छ ।


तत्कालीन एमाले प्रदेश १ को संसदीय दलको नेतामा निर्वाचित भएपछि पत्रकारहरूको पहिलो प्रश्न थियो, ‘मुख्यमन्त्रीज्यू, विवाह कहिले गर्नु हुन्छ ?’ त्यसमा निकै गम्भीर भएका राईको जवाफ थियो– ‘अवश्य पनि मेरो जीवनको एउटा पाटो अपूरो छ, त्यसलाई चाँडै पूरा गर्ने सोचमा छु ।’ उनी पहिले मुख्यमन्त्री नै बने तर अहिलेसम्म अविवाहित नै छन् ।


प्रदेश १ का अविवाहित मुख्यमन्त्रीको विवाहले सुरुका दिनदेखि नै चर्चा पाइरहेको छ । धेरैलाई कहिले र कोसँग विवाह हुन्छ भन्ने कौतुहलता छ । ‘आउने असोजमा विवाह गर्ने तयारीमा छु । भ्याएन भने मंसिर कट्दैन,’ मुख्यमन्त्री राईले भने, ‘मुख्यमन्त्री भएपछि व्यस्तता बढेको छ । मन्त्रालयको व्यवस्थापन कानुन निर्माण मात्र हैन, जिल्ला–जिल्लामा हुने कार्यक्रममा सहभागी हुनैपर्ने बाध्यताले अलि बढी नै व्यस्त पार्दोरहेछ ।’


दुलहीको छनोट कसरी हुन्छ त ? ‘परम्परागत रूपमा मागी विवाह हुने कुरामा कुनै शंका छैन,’ उनले भने, ‘घरको एक्लो छोरा हो । आमाको इच्छा आफ्नो जात, धर्मकी बुहारी ल्याओस् भन्ने छ । उहाँको इच्छा पूरा गर्नुपर्छ ।’ यति बेला मुख्यमन्त्रीका आफन्तहरू उपयुक्त बधुको खोजीमा जुटेका छन् । ‘धेरै आफन्तबाट विवाहका लागि दबाब पनि आउँदोरहेछ । तर मैले निर्णय गरिसकेको छुइनँ,’ उनले भने, ‘आफन्तले फेसबुकमा फोटा देखाउँछन् । केटीसँग प्रत्यक्ष भेटघाट चाहिँ गरेको छैन ।’ राजनीतिमा लागेपछि यसमा करिअर बढाउन अफेयरबाट टाढै बसेको उनले बताए ।

प्रकाशित : असार ८, २०७५ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?