नयाँ कमान्डर

अभिनय मात्र होइन, नाटक निर्देशनमा पनि युवतीको हस्तक्षेप दरिलो बन्दै छ । यसका प्रतिनिधि पात्र हुन्, आकांक्षा कार्की र नम्रता केसी ।
आफू दबिने वा चाहेको कुरा नाटकमा व्यक्त गर्न नसक्ने भन्ने नै हुन्न ।
गोकर्ण गौतम

काठमाडौँ — राजधानीको टेकुमा नयाँ नाटकघर खुलेको छ, कौसी थिएटर । संस्थापक हुन्, आकांक्षा कार्की । महिलाले आफ्नो एकल लगानीमा स्थापना गरेको नेपालको पहिलो नाटकघर हो यो । कौसीमा ‘दयालु रूख’ मञ्चन भइरहेको छ, जसको परिकल्पना तथा निर्देशन आकांक्षा आफैंले गरेकी हुन् ।

नयाँ कमान्डर

अनामनगरस्थित मण्डला थिएटरमा चाहिँ डान्स ड्रामा ‘राजेन्द्रलक्ष्मी’ चलिरहेको छ । नेपालकी पहिलो महिला शासनकर्ताका रूपमा चिनिएकी रानी राजेन्द्रलक्ष्मी देवी शाहको जीवन कथामा आधारित यस नाट्य प्रस्तुति परिकल्पना र निर्देशन नम्रता केसीले गरेकी हुन् । नाटकमा नम्रता पनि देखिन्छिन् ।


कुनै जमाना यस्तो पनि थियो, नाटकमा महिला चरित्र निर्वाह गर्ने कलाकार हुन्थेन । पुरुष कलाकारले नै सारी–चोलो, धोती–फरिया लगाएर महिलाको अभिनय गर्थे । निशा शर्मा, सरिता गिरीको पुस्ताले त्यो नियति तोडिदिए । कलाकार अभावमा महिलाको चरित्र पुरुषले निर्वाह नगरेको वर्षौं बित्यो तर महिलाहरू अभिनयमै सीमित भए । निर्देशनमा महिलाको उपस्थिति शून्यप्राय: थियो । पछिल्लो समय भने नाटक निर्देशनमा पनि महिला अघि बढेका छन् । यसैका प्रतिनिधि पात्र हुन्, आकांक्षा र नम्रता । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा लुनिभा तुलाधर निर्देशित ‘कोरा’ मञ्चन सकिएको दुई साता बितेको छैन । अभिनय र निर्देशनमा उत्तिकै सक्रिय आकांक्षा भन्छिन्, ‘निर्देशन कठिन काम हो । महिलाले गर्न सक्दैनन् कि भन्ने भ्रम थियो । विस्तारै तोड्न खोज्दै छौं । यसमा पुरुषको साथ उत्तिकै उल्लेखनीय छ ।’


‘दयालु रूख’ आकांक्षाको तेस्रो नाटक हो । यसअघि उनले ‘यौनीका कथाहरू’ र ‘लाइन’ निर्देशन गरेकी थिइन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा तीन वर्षयता लगातार मञ्चन भइरहेको ‘यौनीका कथाहरू’ मा त अभिनयसमेत गरेकी थिइन् । नाटकघर टिकाउन मुस्किल छ । उनलाई भेउ नभएको होइन तर नाटकघर खोल्नुको आफ्नै कथा/व्यथा र सपना छ उनीसँग ।


आकांक्षा मनोविज्ञानमा स्नातकोत्तर गरेर सन् २०१५ भारतबाट नेपाल फर्केकी थिइन् । स्नातकमा नाटक अध्ययन गरेकी उनको रंगमञ्च प्रेम पुरानै हो । ‘पार्ट टाइम’ भए पनि नाटक जारी राख्ने योजनामा थिइन् । त्यहीअन्तर्गत ‘यौनीका कथाहरू’ गरिन् । तर यतिले मात्र तिर्सना मेटिएन । एक निजी विद्यालयमा परामर्शदाताको जागिर थियो । त्यसैले नाट्यकर्मलाई समय छुटाउन मुस्किल पथ्र्यो । छटपटी मात्र हुने । एक वर्ष ‘फ्रस्टेसन’ मा बित्यो । फेरि विदेश पढ्न जाने ध्याउन्नमा लागिन् । आकांक्षा भन्छिन्, ‘आफ्ना लागि आफैंले अवसर सिर्जना गर्नुपर्छ जस्तो लागेर जागिर छोडें र रंगमञ्चमै होमिएँ ।’


उनले सुरुमा आफ्नै घरको माथिल्लो तलामा काम गर्ने ठाउँ बनाइन् । सामान जुटाउँदै जाँदा लगानी बढ्दै गयो । अनि लाग्न थालेछ, नाटकघर नै किन नबनाउने ? र, नाटकघर नै तयार भयो । ‘दयालु रूख’ को सुरुवाती शोबाट उत्साही आकांक्षाले सुनाइन्, ‘यो यात्रा अप्ठ्यारो छ नै तर सन्तुष्टि र सफलता मिल्नेमा ढुक्क छु ।’


सेल स्लिभरस्टेनको ‘द गिभिङ ट्री’ बाट नेपालीमा रूपान्तरण गरिएको नाटक हो, ‘दयालु रूख’ । यसलाई आकांक्षाले भारतमै हुँदा निर्देशन गरेर तारिफ पाएकी थिइन् । नेपाली भाषामा गर्ने लोभ यसपटक पूरा गरिन् । नाटकमा भीमनिधि तिवारी, माधव घिमिरे, कमलमणि दीक्षित र रमेश खकुरेलद्वारा लिखित पाँच छन्द कविता प्रयोग गरिएको छ । नेपाली नाटकमा कविताको यस्तो सुन्दर प्रयोग असाध्यै विरलै हुन्छ । खासमा रूख र एउटा केटाबीचको करिब ५० वर्षको भावनात्मक सम्बन्धको कथा हो यो ।


‘कलाकारसँग आमाको जस्तो व्यवहार गर्छु,’ निर्देशक आकांक्षाले भनिन्, ‘मिलेर काम गर्न मज्जा आउँछ । आफू दबिने वा चाहेको कुरा नाटकमा व्यक्त गर्न नसक्ने भन्ने नै हुन्न । दयालु रूखमा शारीरिक भावभंगी, कोरस र संगीत प्रयोग गरिएको छ । नाटकमा इंगी होपो कोइज सुनुवार, रोशनी स्याङ्बो, आयान खड्का, अर्चना पन्थीलगायतले अभिनय गरेका छन् ।
नम्रता पनि भारतमा कत्थक नृत्यमा स्नातकोत्तर गरेर फर्किएकी हुन् । सन् २०१३ मै उनले मण्डलामा नाजिर हुसेनसँग सहकार्य गरेर डान्स ड्रामा ‘सन लेक’ निर्देशन गरेकी थिइन् ।

त्यसबाट उत्साहित उनले अघिल्लो वर्ष सरुभक्तको खण्डकाव्य ‘ज्यानमायामाथि’ नृत्य नाटिका नै गरिन् । भन्छिन्, ‘डान्स ड्रामा हाम्रो मौलिक शैली हो । तर विदेशबाट अन्य थिएटर फर्म भित्रिएपछि छायामा परिरहेको छ ।’ उनी डान्स ड्रामालाई ब्युँताउने प्रयास गरिरहेकी छन् ।


स्कुल छँदै नम्रताले राजेन्द्रलक्ष्मीका बारेमा पढेकी थिइन् । तर त्यो पात्रप्रति चित्त बुझेको थिएन । किनभने बहादुर शाहलाई सशक्त र उनलाई निरीह जसरी चित्रण गरिएको छ इतिहासमा । कतिसम्म भने उनको जन्ममिति समेत भेटिन्न । परिवारका बारेमा पत्तो छैन । बाबुको नाममा समेत एकमत छैन । पाल्पा कहाँ जन्मिएको उल्लेख छैन । पृथ्वीनारायण शाहले सुरु गरेको राज्य विस्तार अभियानकी एक अभियन्ताका रूपमा मात्र नेपाली इतिहासमा छिटफुट अध्ययन गरिएको छ ।


‘तर पुरुषप्रधान समाजमा पुरुष दृष्टिकोणबाट हेर्दा उनको योगदान एकदमै धमिलो देखिन्छ । उनलाई एक हिसाबले बहिष्कार र बेवास्ता गरिएको छ,’ नम्रता भन्छिन्, ‘त्यसैले राजेन्द्रलक्ष्मीको जीवन संघर्षलाई स्वयम् उनकै र समकालीन महिलाहरूको दृष्टिकोणबाट हेर्ने प्रयास गरेकी छु ।’ दुई सय वर्ष अगाडि सती जान इन्कार गरेकाले पनि राजेन्द्रलक्ष्मीलाई उनी साहसी मान्छिन् ।


यो नाटकमा पुरुष पात्र पनि छन्, तर स्टेजमा महिला कलाकारलाई मात्र देखिन्छन् । कत्थक नाच्ने पुरुष नभेटाएकी उनी भन्छिन्, ‘पहिले केटाहरूले केटीको चरित्र गर्थे । अहिले हामी केटीहरू केटाको चरित्र गर्दैछौं ।’ ‘राजेन्द्रलक्ष्मी’ मा निश्मा घिमिरे, कुन्ती सिमाली, मनीषा बस्नेत, पवन पाठक, निशा कार्कीलगायतले अभिनय गरेका छन् ।
नेपालको पहिलो महिला नाटक निर्देशक महिलाका रूपमा सुशीला कोइराला परिचित छिन् । उनकै नाममा विराटनगरमा सुशीला कोइराला नाटकघर खोलिएको छ । बिर्सन नहुने अर्को नाम हो, शकुन्तला शर्मा । जर्मनमा जन्मिएकी सविन लेमनले नेपालमै बसेर ‘थ्री पेन्नी अपेरा’, ‘लिटिङ प्रिन्स’ लगायत दुई दर्जन नाटक निर्देशन गरिन् । नाटक निर्देशनमा महिला उपस्थिति अपेक्षाकृत बाक्लो भएन तर विस्तारै आउन, बढ्न थालेको छ । शिल्पी थिएटरमा आबद्ध लुनिभा भन्छिन्, ‘महिलाका बारेमा पुरुषको दृष्टिकोणबाट मात्र नाटक बन्यो । अब
हामीले महिलाको दृष्टिकोणबाट आफ्नो कथा भन्ने मात्र होइन, पुरुषका कथाहरू पनि भन्नुपर्छ ।’

[email protected]

नाटकमा महिला निर्देशक

प्रकाशित : असार १५, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?