नयाँ क्षेत्र

काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेसनले यस वर्षदेखि नयाँ विषयको पढाइ सुरू गर्दै छ । यो विषय दक्षिण एसियामै नौलो हुने विश्वविद्यालयको दाबी छ ।
मकर श्रेष्ठ

काठमाडौँ — व्यावसायिक सीप र तालिममा सरकारी क्षेत्रबाट मात्रै वार्षिक १० अर्ब रुपैयाँभन्दा बढी खर्च हुन्छ । दाताको ऋण र अनुदानमा समेत सरकारले तालिम प्रदान गर्ने विभिन्न प्रोजेक्ट सञ्चालन गरिरहेका छन् । यी प्रोजेक्ट म्यानेजर भने आफ्नो योग्यता र क्षमताभन्दा पनि भनसुनको आधारमा नियुक्ति भइरहेका छन् । यस्ता संस्थाको नेतृत्व प्रशासनिक व्यक्तिले गरिरहेका छन् ।

नयाँ क्षेत्र

दाताको लगानीमा होस् वा सरकारी लगानीमा सञ्चालित प्रोजेक्टमा लक्ष्यअनुसार प्रगति हासिल गर्न सकिएको छैन । यस्तो किन हुन्छ ? यसको उत्तर सहजै छ । व्यावसायिक तालिम सञ्चालन गर्ने दक्ष योजनाकार र नेतृत्वकर्ताको कमी छ ।


सरकारले हरेक निर्वाचन क्षेत्रमा कम्तीमा एउटा विद्यालयमा १२ कक्षासम्म प्राविधिक शिक्षाको पढाइ सुरु गरिसकेको छ । यी विद्यालयमा पढाउने जनशक्तिको अभावले यसको प्रभावकारिता पनि न्यून छ । छोटो अवधिको तालिमदेखि विद्यालय तहमा पढाइ हुने प्राविधिक विषयको पाठ्यक्रम बनाउने दक्ष जनशक्ति पनि छैनन् । काम चलाउन अन्य क्षेत्रका विज्ञलाई प्राविधिक क्षेत्रको पनि पाठ्यक्रम बनाउने जिम्मेवारी सुम्पिएको छ । प्राविधिक र व्यावसायिक संस्थाको नेतृत्व लिन सक्ने र पाठ्यक्रम बनाउन सक्ने जनशक्ति उत्पादन हुनै सकेको छैन । तालिम प्रदान गर्ने संस्थाको नेतृत्व प्रदान गर्न होस् वा सरकारले सुरु गरेको प्राविधिक शिक्षालयमा शिक्षकको भूमिका निर्वाह गर्ने जनशक्ति उत्पादन गर्न काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेसनले यस वर्षदेखि नयाँ विषयको पढाइ सुरु गर्दै छ ।


विश्वविद्यालयले सुरु गरेको मास्टर इन टेक्निकल एन्ड भोकेसनल एजुकेसन एन्ड ट्रेनिङ (एमटीभीईटी) अध्ययन जुनसुकै फ्याकल्टीमा स्नातक सकाउनेले पनि पढ्न सक्छन् । आउँदो अगस्टदेखि यो विषयको पढाइ सुरु हुँदै छ । व्यावसायिक सीप प्रदान गर्ने संस्थाको नेतृत्व दिने व्यक्तिको अभाव पूर्ति गर्न यो विषयको पढाइ सुरु गर्न लागेको स्कुल अफ एजुकेसनका डिन प्रा. महेशनाथ पराजुलीले बताए । ‘स्किल सेक्टरका म्यानेजर, एडुकेटर र लिडर उत्पादन गर्ने लक्ष्य राखेका छौं,’ उनले भने । प्राविधिक व्यावसायिक शिक्षा र तालिम प्रदान गर्ने संस्थामा आवश्यक दक्ष जनशक्तिको पूर्ति गर्न यो कार्यक्रम सुरु गरिएको उनले बताए । यो कार्यक्रमको उद्देश्य टीभीईटी प्रणालीका लागि आवश्यक योजनाकार, नेतृत्वकर्ता उत्पादन गर्ने पनि हो । त्यस्तै आफैं व्यवसाय गर्ने जनशक्ति उत्पादन गर्ने नेतृत्वको पूर्ति गर्ने पनि यो विषयले लक्ष्य राखेको छ । टीभीईटी केन्द्रित अनुसन्धान गर्न पोख्त हुने पनि यसले लक्ष्य राखेको छ ।


यो विषय अध्ययन गरेका विद्यार्थीले पोलिटेक्निक्स, टेक्निकल एन्ड भोकेसनल स्कुल, ट्ेरनिङ सेन्टर प्रमुख आकर्षकको रोजगारी पाउन सक्छन् । त्यसबाहेक प्राविधिक क्षेत्रको अनुसन्धान गर्ने रिसर्च संस्थाहरू, सरकारी तथा गैरसरकारी संस्था, उद्योग र व्यापारिक संस्थामा रोजगारीको अवसर प्रशस्त खुला छ । ‘यो विषय पढेपछि बेरोजगार भएर बस्नु पर्दैन,’ डिन पराजुली भन्छन् ।


यो विषय अध्ययन गर्दा भविष्य देखेर हुनुपर्छ, विदेशी विद्यार्थीले समेत अध्ययन गर्न रुचि देखाएका छन् । दक्षिण एसियामा यो कार्यक्रम काठमाडौं विश्वविद्यालयमा मात्रै पढाइ हुन लागेको पराजुलीको दाबी छ । ‘स्वदेशी पनि काम गरिरहेका र भर्खर स्नातक तह सकाएका विद्यार्थीले पनि यो विषयको स्कोप देखेर भर्ना हुन चाहेका छन्,’ पराजुलीले भने ।
स्नातकमा ४५ प्रतिशत वा २.५ सीजीपीए ल्याएका विद्यार्थीले यो विषय अध्ययन गर्न सक्ने स्कुल एजुकेसनले जनाएको छ । दुईवर्षे कोर्स अध्ययन गर्न २ लाख २५ हजार रुपैयाँ खर्च हुने विश्वविद्यालयले जनाएको छ । विदेश व्यक्ति वा संस्थाको आर्थिक सहयोगमा अध्ययन गर्ने हो भने दोब्बर शुल्क तिर्नुपर्ने विश्वविद्यालयले नियम बनाएको छ ।

प्रकाशित : श्रावण ४, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?