भर्चुअल मैदान
काठमाडौँ — ई–स्पोर्ट्स अर्थात् इलेक्ट्रोनिक स्पोर्ट्स । विद्युतीय माध्यममा खेलिने खेलकुद गतिविधिले विश्वभर द्रुत गतिमा प्रभाव जमाइरहँदा नेपाल पनि अछुतो छैन । तर नेपालले विश्व बजारमा आफूलाई प्रतिस्पर्धामा उतार्न भने धेरै मिहिनेत गर्नुपर्ने अवस्था छ । विश्वका ठूला राष्ट्रको कुल गार्हस्थ उत्पादनमै स्थान बनाइसकेको ई–स्पोर्ट्स नेपालमा भने मनोरञ्जनको माध्यम बन्नलाई संघर्ष गरिरहेको वर्तमान परिस्थिति छ ।
अर्को महिनाबाट इन्डोनेसियामा सुरु हुने १८ औं एसियाली खेलकुदमा ई–स्पोर्ट्स पनि डेमो खेलका रूपमा राखिएको छ । यस खेलमा उपाधि जित्ने खेलाडीले पदक पाउँछन् तर समग्र मेडल तालिकामा भने समावेश हुन्न । यद्यपि सन् २०२२ मा चीनमा हुने एसियाली खेलकुदमा भने यो खेल समावेश हुने पक्का भइसकेको छ । इन्डोनेसियामा ई–स्पोर्ट्सअन्तर्गतका ६ खेलमा प्रतिस्पर्धा हुँदै छ । लिग अफ लेजेन्ड्स, स्टारक्राफ्ट २, हर्थस्टोन, प्रो इभोलुसन सकर, क्लास रोयल र एरिना अफ भलोर समावेश खेल हुन् । यी खेलका लागि छनोट प्रतियोगिता पनि सम्पन्न भइसकेका छन् ।
नेपालले लिग अफ लेजेन्ड्समा सहभागिता जनाउन दक्षिण एसियाली छनोट खेले पनि सफल हुन सकेन । नेपाल ओलम्पिक कमिटीले नेपाल ई–स्पोर्ट्स संघ (नेसा) सँग सहकार्य गर्दै नेपाली टोलीलाई त्यसतर्फ पठाएको थियो । नेपालबाट सौरभ रञ्जित, सौरभ मास्के, एलेन भट्टराई, एलेन बान्तवा, सुमित महर्जन र सिद्धिरत्न शाक्यको टोलीले नेपालको प्रतिनिधित्व गरेको थियो । भिएतनामको हो चि मिन सहरमा भएको छनोटमा नेपाल सबै खेलमा पराजित हुँदै पुछारमा रह्यो । पाकिस्तानले अपराजित रहँदै एसियाली खेलकुदमा स्थान पक्का गर्न सफल रह्यो । नेपालले कुनै पनि ई–स्पोर्ट्सको प्रतियोगितामा सहभागिता जनाएको यो पहिलो पटक हो ।
टेकुस्थित गेमिङ गराजले विश्वकप फुटबलको माहोल छोप्दै फिफा–१८ को खुला प्रतियोगिता आयोजना गर्यो । विजेताले २५ हजार रुपैयाँ जितेका यस प्रतियोगिताको दर्ता शुल्क १ सय ५० तोकिएको थियो । राजधानीबाहिरका ५ सहित कुल ८५ खेलाडीले यस प्रतियोगितामा सहभागिता जनाए । गराजका मालिक दिपांकर डंगोलका अनुसार यस प्रतियोगिताको आयोजनापछि उनको गेम स्टेसनमा खेलाडी संख्यामा केही वृद्धि भएको छ । १२ लाखको लागतमा उनले गत वर्ष खोलेको गेम स्टेसनमा ४ वटा ४८ इन्चको स्क्रिन छ । दैनिक ६ घण्टा पूर्ण भरिभराउ रहने उनको स्टेसनमा फिफा, यूएफसी, स्ट्रिट फाइटर लगायतका खेल पीएस–४ मा खेल्न पाइन्छ ।
पछिल्लो ६ वर्षदेखि राजधानीमा गेमिङ स्टेसन चलाइरहेका अमन क्षत्रीका अनुसार नेपालमा पनि ई–स्पोर्ट्सको क्रेज बढ्दो छ । संख्यात्मक रूपमा वृद्धि त छँदै छ, स्तरको हिसाबमा पनि अहिलेका खेलाडीले राम्रो सुविधा खोज्न थालिसकेका छन् । मध्य बानेश्वरमा साइबर र केही पीएस–४ बाट सुरु गरेको उनको ‘अनरियल गेम स्टेसन’ अहिले नयाँ बानेश्वर पुगेको छ । खेलाडीको मागअनुसार नयाँ सामग्री र सुविधा थप्दा ठाउँ नै परिवर्तन गर्नुपरेको उनले बताए ।
क्षत्रीले हालसम्म गेम स्टेसनका लागि २५ लाख बराबर खर्च गरिसके । उनले व्यावसायिक रूपमा स्टेसन राम्रो स्थितिमा रहेको बताए । ‘सुरुआतमा सुविधा नभएर कम्प्युटरमा खेल्न पाए पुग्ने खेलाडी थिए । अहिले परिवर्तन भएर राम्रो सुविधा खोज्ने प्रचलन आइसकेको छ । पछिल्ला दिन छोटो समयमै टेक्नोलोजीमा नयाँ परिवर्तन आएका कारण त्यससँगै परिवर्तन हुन केही समस्या भएको छ । तर खेलाडीको मागअनुसार सुविधा दिन सकेर नै हामीले नियमित उपभोक्ता पाएका छौं,’ उनले भने ।
विश्वभर सन् २०१६ मा ई–स्पोर्ट्समा संलग्न हुनेको संख्या झन्डै २८ करोड थियो । सन् २०१७ मा यो संख्या १९.३ प्रतिशत वृद्धि भएर ३३ करोड ५० लाख पुग्यो । सन् २०१८ मा यसले ३८ करोडको आँकडा पार गर्ने आकलन गरिएको छ । सन् २०२१ सम्म ५५ करोडले ई–स्पोर्ट्समा आबद्ध हुने अपेक्षा अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स महासंघ (आईएसईएफ) को छ । विश्व ई–स्पोर्ट्समा मुख्यत: पाँच पक्षहरू सक्रिय छन् । खेलाडी र टिम, ब्रान्ड र प्रायोजक, मिडिया, इभेन्ट आयोजक र खेल बनाउने कम्पनी ई–स्पोर्ट्सका मुख्य साझेदार हुन् । यिनैको वरपर ई–स्पोर्ट्सको वर्तमान र भविष्य जोडिएको छ ।
नेपालमा स्कुल कलेजहरूले पनि अतिरिक्त क्रियाकलापमा आजकाल ई–स्पोर्ट्सलाई प्राथमिकतामा राख्दै आएका छन् । गत साता मात्र एपेक्स कलेजको आईटी क्लबले खुला फिफा तथा डोटा–२ प्रतियोगिताको आयोजना गर्यो । पुरस्कार राशिसहित आयोजना गरेको उक्त प्रतियोगिताले विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने क्लबका अध्यक्ष योगेश पाण्डेले बताए । उनले नेपालमा ई–स्पोर्ट्समा सहभागी हुने अधिकांश खेलाडी कलेज स्तरमै पढ्ने भएकाले यस्ता प्रतियोगिताले खेलको समग्र विकासमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे ।
सन् २०१८ मा ई–स्पोर्ट्सको बजार झन्डै ९० करोड अमेरिकी डलर हुने आईएसईएफको आकलन छ । उत्तर अमेरिका र चीनको बजारले मात्र ५० करोड अमेरिकी डलर बराबरको कारोबार गर्नेछन् । ई–स्पोर्ट्सको महत्त्व पछिल्ला वर्षमा निकै बढेको पाइन्छ । युरोपका फुटबल क्लबहरूले खेलमा खेलाडी अनुबन्धन गरेजस्तै ई–स्पोर्ट्सका लागि पनि खेलाडी अनुबन्धन गर्न थालिसकेका छन् । दक्षिण कोरियामा ई–स्पोर्ट्सले कुल गार्हस्थ उत्पादनमा खेलेको भूमिकाको कदर गर्दै सरकारले सहयोग पनि गरेको छ । ई–स्पोर्ट्सकै निम्ति छुट्टै टेलिभिजन च्यानल नै खडा गरिएको छ । अमेरिकाले व्यावसायिक खेलाडीलाई स्थायी बसोबास कार्ड (ग्रिन कार्ड) दिँदै आएको छ भने चीनले ई–स्पोर्ट्सलाई आधिकारिक खेलको मान्यता दिएको छ ।
नेपालमा ई–स्पोर्ट्सको प्रवद्र्धन र नियमन गर्न नेपाल ई–स्पोर्ट्स संघ (नेसा) सन् २०१४ मा स्थापना भएको थियो । यसले सन् २०१६ मा मात्र आधिकारिकता पायो । संघले अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स महासंघ (आईएसईएफ) को मान्यता पनि पाइसकेको छ । नेपालमा ई–स्पोर्ट्सको सम्भावना प्रचुर भए पनि त्यसलाई सही ढंगले अगाडि बढाउन अझै कार्यक्रम ल्याउनुपर्ने संघका अध्यक्ष सुरज डंगोलले बताए ।
‘हामीले यसपटक एसियाली खेलकुदको छनोटमा सहभागी भएर पहिलो अन्तर्राष्ट्रिय सहभागिता जनायौं । अब आउने दिनमा अझै कार्यक्रम ल्याएर ई–स्पोर्ट्सको दायरा बढाउने लक्ष्य छ,’ डंगोलले भने ।
नेसाले अर्को महिना डोटा–२ र काउन्टर स्ट्राइक ग्लोबल अफेन्सिभको खुला राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै छ । दुवै खेलको विजेता टोलीले १ लाख ५० हजार तथा उपविजेताले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । अध्यक्ष डंगोलले अहिले एमेच्योर खेलाडीलाई प्लाटफर्म दिएर उत्कृष्ट खेलाडीलाई व्यावसायिक प्रतिस्पर्धा गर्ने वातावरण तयार पर्ने बताए ।
अन्तर्राष्ट्रियस्तरमा ठूला पुरस्कार राशिका प्रतियोगिता नियमित हुने गरे पनि नेपालको सहभागिता शून्यप्राय: छ । तर नेसाको सक्रियता बढेसँगै यो परिवर्तन हुने अपेक्षा गर्न सकिन्छ । अनलाइन हुने प्रतिस्पर्धामा अहिले नेपाली खेलाडीहरूको सक्रियता राम्रै भए पनि व्यावसायिक रूपमा विदेशमा हुने खेलमा भने नेपाली खेलाडी कमै सहभागी हुन्छन् । खेलाडीहरूमा संख्यात्मक वृद्धिले नियमित प्रतियोगिता बढाउने र यसले एकआपसको प्रतिस्पर्धा र प्रायोजक बढ्ने हुनाले ई–स्पोर्ट्सको भविष्य उज्ज्वल रहेको मान्न सकिन्छ । अपेक्षित सुधार आएको खण्डमा वास्तविक मैदानमा नेपालले पाएको सफलतालाई भर्चुअल रूपमा अझै माथि लैजान सकिने देखिन्छ ।
१८ औं एसियाली खेलकुदमा समावेश खेल
डलिग अफ लेजेन्ड्स (ब्याटल)
डस्टारक्राफ्ट २ (रियल टाइम स्ट्राटेजी)
डहर्थस्टोन (कार्ड गेम)
डप्रो इभोलुसन सकर (सिमुलेसन)
डक्लास रोयल (मोबाइल)
डएरिना अफ भलोर (मोबाइल)
@SubasTheOne
प्रकाशित : श्रावण ४, २०७५ ११:०१