१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

फायरफक्सको ‘कमब्याक’

हामी हाम्रो गोपनीयता अनलाइनलाई दिन्छौं र त्यसको बदलामा पाउँछौं धेरैभन्दा धेरै झर्को लाग्दा विज्ञापन । यी सबै कारणले पनि केही भिन्न प्रकारको ब्राउजर चलाउने बेला आएको छ ।
हेलो शुक्रबार

काठमाडौँ — मोजिल्लाले आफ्नो वेब ब्राउजर फायरफक्समा केही सुधार गरेको छ जसले प्रयोगकर्तालाई अनलाइनमा सुरक्षित बनाउन मद्दत गर्छ । यसका केही फिचर :

फायरफक्सको ‘कमब्याक’

अनलाइनमार्फत केही किन्यो भने त्यस्तै सामानको विज्ञापनले हामीलाई कहीँ गए पनि छाड्दैन । वेब ब्राउजरमा केही वेबसाइट खोलेर चलाए ल्यापटपको ब्याट्री छिट्टै सकिन्छ । वेब पेजमा हेर्दै गर्दा आफैं प्ले हुने भिडियोहरूले पनि त वाक्क बनाउँछ नि ?


अनलाइन उदेकलाग्दो भइसकेको छ । वेब रिस उठ्दो मात्रै होइन, असुरक्षित पनि भएको छ । सबैभन्दा महत्त्वपूर्ण कुरो त यो व्यापारको थलो भएको छ । हामी हाम्रो गोपनीयता अनलाइनलाई दिन्छौं र त्यसको बदलामा पाउँछौं धेरैभन्दा धेरै झर्को लाग्दा विज्ञापन ।


यी सबै कारणले पनि केही भिन्न प्रकारको ब्राउजर चलाउने बेला आएको छ । फायरफक्स याद छ ? गैरनाफामूलक कम्पनी मोजिल्लाले बनाएको यो ब्राउजर सन् २००० ताका निकै प्रख्यात थियो । तर, जब गुगलले २००८ मा क्रोम रिलिज गर्‍यो, यसको पतन सुरु भयो । फायरफक्सभन्दा त्यतिबेला क्रोम निकै छिटो, सुरक्षित र बहुआयामिक थियो । यसको अर्को कारण पनि छ, गुगलले सार्वजनिक गरेको क्रोममा उसले आफ्ना प्रडक्टका लागि विशेष फिचरहरू पनि थप्दै गयो । यही लहैलहैमा प्रयोगकर्ता उसतर्फ आकर्षित भए ।


अहिले मोजिल्लाले फायरफक्सलाई पुनर्निर्माण गरेको छ । मोजिल्लाले गत वर्ष ‘क्वान्टम’ नाम दिएर फायरफक्सको नयाँ भर्सन सार्वजनिक गरेको थियो । फायरफक्सको नयाँ भर्सन देख्दै छरितो छ र काम गर्दा छिटो पनि छ । यसले सीपीयूको मेमोरी कम खपत गर्छ जसले गर्दा धेरै वटा ट्याब खोलेर ब्राउज गर्दा पनि कम्प्युटर ह्याङ हुँदैन ।


यस्तै फायरफक्समा अब प्राइभेसी टुल उपलब्ध छ जसले विभिन्न वेबसाइटले गर्ने ट्रयाकिङलाई निष्क्रिय पारिदिन्छ । जसले गर्दा तपाईंले ब्राउजरमा जे चलायो त्यस्तै खालका विज्ञापन देखिरहनु पर्दैन । साथै, तपाईंको वेब हिस्ट्रीका आधारमा अरू कसैले तपाईंले अनलाइनमा देख्ने सामग्री निर्धारण गर्दैन ।


नयाँ प्राइभेसी फिचर
अहिले सबैभन्दा चलेको क्रोम र नयाँ फायरफक्स दुवैमा हजारौं प्रकारका एक्सटेन्सन हालेर चलाउन सकिन्छ । जसले हामीले गर्ने वेब ब्राउजिङलाई सहज बनाउँछ । यद्यपि फायरफक्समा भन्दा क्रोममा धेरै एक्टेन्सनहरू हाल्न मिल्छ । त्यसो हुँदा पनि क्रोममा गर्न सकिने र फायरफक्समा गर्न नसकिने भन्ने त्यस्तो केही काम नै छैन । दुवैमा पासवर्ड व्यवस्थापन गर्नका लागि प्रयोग हुने ‘वानपासवर्ड’ चलाउन मिल्छ । दुवैमा कुनै वेबसाइट खोल्दा भिडियो आफैं प्ले हुन रोक्ने एक्सटेन्सन हाल्न मिल्छ । यस्तै धेरै अनलाइन सुरक्षाविद्ले एड ब्लक गर्न सिफारिस गरेको ‘यूब्लक ओरिजिन’ दुवैमा चल्छ ।


फायरफक्समा ‘फेसबुक कन्टेनर’ भन्ने एक्सटेन्सन छ । यो भने नयाँ हो । यसले फेसबुकले ट्रयाक गर्ने हाम्रो सबै ब्राउजिङ क्रियाकलापलाई बन्द गरिदिन्छ । उक्त एक्सटेन्सनले फेसबुकका लागि मात्रै छुट्टै ‘स्थान’ निर्धारित गरिदिन्छ जसका कारण त्यहाँबाट बाहिर के भइरहेको छ, फेसबुकले पत्तो पाउन कठिन हुन्छ । फायरफक्सको प्राइभेसी सेटिङमा गएर ट्रयाकिङ सुरक्षालाई अन गरे विभिन्न वेबसाइटले संकलन गर्ने हाम्रो अनलाइन क्रियाकलाप असम्भव तुल्याइदिन्छ ।


अनलाइन डेस्कटप ब्राउजरहरूको बजारमा अहिले पनि क्रोम नै सबैभन्दा अगाडि छ । क्रोमको बजार हिस्सा ६७ प्रतिशत छ भने दोस्रो स्थानमा रहेको फायरफक्सको जम्मा १२ प्रतिशत छ । यस्तै माइक्रोस्फट एजको बजार हिस्सा मात्र ७ प्रतिशत छ भने एप्पल सफारीको ५.५ प्रतिशत छ । उपभोक्ताका हिसाबले भन्दा मोजिल्लाको आगामी दिन राम्रो हुनेछ ।
अन्य सामान्य ब्राउजरभन्दा फरक मोजिल्लाले फायरफक्स फोकस नामको अर्को मोबाइल ब्राउजर उपलब्ध गराउँछ जसले ब्राउजरमार्फत हुने जानकारी संकलनलाई रोक्छ । फायरफक्स फोकस बन्द गर्नेबित्तिकै यसको ब्राउजिङ हिस्ट्री स्वत: डिलिट हुन्छ ।


ब्राउजर गैरनाफामूलक कम्पनी भएकाले यसका विज्ञापनकर्ताहरूसँग केही लिनु–दिनु हुन्न । यसले आफ्ना प्रडक्टमार्फत सर्च भएको हिसाबमा गुगल र बिङ जस्ता सर्च साइटबाट थोरै रकम भने पाउँछ ।
–एजेन्सी

[email protected]

प्रकाशित : श्रावण ४, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?