कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

दुई अभागीको कथा

साम्राज्ञी भन्छिन्– ‘आर्यन दा’सँग काम नगर भनेर धेरैले भनेका थिए तर मलाई उहाँसँग एकपटक काम गर्ने मन थियो । यसो भन्नु राम्रो नहोला तर मेरा लागि त उहाँ नेपाली शाहरूख खानजस्तै हो ।’
ट्ेरलरअघि दर्शकले मन पराउलान् कि के गर्लान् भन्ने चिन्ता थियो । तर त्यसपछि भने जोडी सुहाएन भनेर कसैले भनेको थाहा छैन ।
हेलो शुक्रबार

काठमाडौँ — होस्टेलमा बसेर सात कक्षा पढ्दै गरेकी साम्राज्ञी राज्यलक्ष्मी शाहलाई एक दिन आमाले नेपाली फिल्म हेर्न जाऊ भनिन् । आमाले अंग्रेजी, कोरियन फिल्मकी फ्यान साम्राज्ञीले नाक खुम्च्याएको चाल पाएपछि फिल्म राम्रो भएको भन्दै बल गरेरै लगिन् । फिल्म थियो आर्यन सिग्देलको डेब्यु मेरो एउटा साथी छ । साम्राज्ञीले उक्त फिल्मको सक्कली कोरियन फिल्म यति धेरै हेरेकी थिइन् कि त्यसको सबै कुरा थाहा थियो । तैपनि उनलाई नेपाली पनि मन परेछ ।

दुई अभागीको कथा

आर्यन र नम्रता श्रेष्ठको जोडीलाई साम्राज्ञीले खुब मन पराइन् । प्राय: पुस्तक पढ्दा वा फिल्म हेर्दा साम्राज्ञी त्यसको मन परेको पात्रलाई आफ्नै शैलीमा नक्कल गर्न खोज्थिन् । एक्लै डायलग बर्बराउँथिइन् । ‘कुनै चरित्र मन पर्‍यो भने म आफूलाई त्यसैमा ढालेर एक्लै डायलग हान्दै बस्थें,’ उनले भनिन् । तर त्यस बेला पनि साम्राज्ञीलाई नायिका बन्ने कुनै रहर जागेको थिएन ।


मेरो एउटा साथी छ रिलिज भएको नौ वर्षपछि कहानीमा नयाँ ट्वीस्ट आएको छ । साम्राज्ञी यतिबेला आर्यनको अपोजिटमा देखिएर फिल्म कायरामा आउँदैछिन्, जसमा साम्राज्ञी कायराकै भूमिकामा छिन् भने आर्यन जयको भूमिकामा छन् । आर्यनले कायरा ग्रिक शब्द भएको उल्लेख गर्दै त्यसको अर्थ इमानदार र मायालु युवती रहेको बताए । त्यसो त साम्राज्ञी डेब्यु फिल्म ड्रिम्सदेखि नै घमण्डी चरित्रका रूपमा फिल्ममा दोहोरिँदै आइन् । ‘त्यसैले त यसपटक उनको भूमिका दर्शकलाई केही फरक लाग्न सक्ने ठानेका छौं,’ आफ्नै कथामा फिल्म पनि बनाइरहेका आर्यन विश्वस्त देखिए ।


सबै चीजमा भाग्यमानी तर प्रेमका मामिलामा अभागी जय सम्बन्धबाट भागेर फिलिपिन्स पुगेका हुन्छन् । कायरा पनि एउटा सम्बन्धलाई त्यागेर अर्कोको खोजीमा फिलिपिन्स नै पुगेकी हुन्छे । फिल्मको स्क्रिप्ट लेख्दादेखि नै कायराको भूमिकाका लागि दिमागमा साम्राज्ञी झल्झली आएको बताउँछन् आर्यन । आखिर साम्राज्ञी पनि अभिनय गर्न राजी भइन् । तर त्यो बेला आर्यनसँगको जोडी नसुहाउने जिकिर गर्दै साम्राज्ञीलाई उनकै नजिकका साथीभाइले सजग पार्न खोजेका थिए ।


‘आर्यन दा’सँग काम नगर भनेर धेरैले भनेका थिए तर मलाई उहाँसँग एकपटक काम गर्ने मन थियो । यसो भन्नु राम्रो नहोला तर मेरा लागि त उहाँ नेपाली शाहरुख खानजस्तै हो । एकदम रोमान्टिक, नबोलिकनै अभिनय प्रस्तुत गर्ने उहाँको जस्तो खुबी सायदै कसैमा होला,’ प्राय: फिल्ममा आफ्ना सहकर्मीलाई नै सिकाउनुपर्ने अनुभव गरेकी साम्राज्ञीले यसपटक भने आर्यनबाटै सिक्न पाएको बताइन् ।


आर्यनसँग काम गर्न एकदम सहज भएको बताउँदै साम्राज्ञीले थपिन्, ‘मलाई अभिनयमै पनि रुन एकदमै गाह्रो लाग्छ । आर्यन दा नजिक भएर दृश्य बुझाएर छेउमा बसिदिएपछि म फिलमा आएर रोइहाल्थें ।’


आर्यन अभिनयमा लागेको १८–१९ वर्ष भइसक्यो । उनी काम गर्न चाहने र खोज्नेलाई सिकाउन मज्जा लाग्ने बताउँछन् । त्यसैले पनि होला निर्देशकले बुझाउन नसकेको दृश्य आर्यनले एकैपटकमा बुझाइदिएको साम्राज्ञी बताउँछिन् । फिलिपिन्सको मनिलामा सुटिङका ४५ दिन कसरी सकिए साम्राज्ञीलाई पत्तै भएन ।


साउन १८ देखि प्रदर्शनमा आउन लागेको लक्ष्मण रिजाल निर्देशित कायरा आर्यन र आफ्नो जोडीका लागि मात्रै नभई फिल्मकै लागि पनि हेर्नुपर्ने बताउँछिन् साम्राज्ञी । ‘यो फिल्म हेरेर निस्कँदा दर्शक रुने र हाँस्ने एकसाथ हुनेछन्,’ साम्राज्ञीकै कुरामा सही थाप्दै आर्यनले पनि भने, ‘फिल्मले दर्शकलाई छुट्टै दुनियाँमा लगेर रमाइलो दिलाउनुपर्छ । त्यसरी रमाउनलाई लायक फिल्म बनाएको छु ।’


यतिबेला फिल्मको गीत र ट्रेलरबाट शतप्रतिशत सुखद प्रतिक्रिया मिलेको भन्दै आर्यन मख्ख छन् । ‘मैले यो फिल्म खेल्न सम्झौता गर्नेबित्तिकै साथीभाइले रोमान्स गर्दा नसुहाउला, दाजुबहिनी जस्तो देखिएला भनेर चिन्ता गर्थे । ट्ेरलरअघि दर्शकले मन पराउलान् कि के गर्लान् भन्ने चिन्ता थियो । तर त्यसपछि भने जोडी सुहाएन भनेर कसैले भनेको थाहा छैन,’ साम्राज्ञीले भनिन् ।

[email protected]

प्रकाशित : श्रावण ११, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?