काठमाडौँ — मोबाइल म्यासेजिङ एपले गलत जानकारीहरू छिटोछिटो फैलिने समस्या रोक्न भारतका लागि मात्रै नयाँ फिचर सार्वजनिक गरेको छ । भारतमा ह्वाट्सएपमार्फत गलत जानकारीहरू सेयर हुने र यसले मानिसको ज्यानै लिनेसम्मका घटनाहरू दोहोरिन थालेपछि कम्पनीले म्यासेज फरवार्ड गर्ने सुविधालाई सीमित पार्न खोजेको हो ।
ह्वाट्सएपको ब्लगमार्फत अब एक पटकमा ५ जनालाई मात्रै एउटै म्यासेज फरवार्ड गर्न सकिने जानकारी दिएको छ । ह्वाट्सएपको भारतमा मात्रै २० करोड प्रयोगकर्ता छन् । संसारभरका प्रयोगकर्ताले भन्दा भारतीय प्रयोगकर्ताले एक दिनमा सबैभन्दा धेरै म्यासेज र फोटो फरवार्ड गर्ने ह्वाट्सएपको तथ्यांक छ । ह्वाट्सएपमा भिडियो तथा फोटो म्यासेजको छेउमा देखिने क्वीक फरवार्ड अप्सनसमेत हटाइने कम्पनीले ब्लगमा जनाएको छ । ह्वाट्सएपमा बनेको ग्रुपहरूबाट एकआपसमा आदानप्रदान हुने फोटो, म्यासेज तथा भिडियोका कारण भारतमा हिंसात्मक घटना बढेका थिए ।
प्रकाशित : श्रावण ११, २०७५ १०:४३