कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बायोपिक लहर

अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बायोपिक सञ्जुले तीन हप्तामा भारू ३ सय करोडको व्यापार गरिसकेको छ । त्यसो त यसलाई कतिपय समीक्षकले इमानदार नभई बनाइएको बायोपिक पनि भनेका छन् ।
यतिबेला हलिउडदेखि बलिउडसम्म बायोपिकको लहर चलिरहँदा नेपालमा पनि बायोपिक बनाउने लहर देखिन थालेको छ ।
सुशील पौडेल

काठमाडौँ — यतिबेला मिलन चाम्स निर्देशित फिल्म बोबी राम्रै दर्शकको साथ पाएर चलिरहेको छ । यसमा एउटा भुइँमान्छे जोडीको कथा समेटिएको छ । आम रूपमा नचिनिएका उमेश थापा र कविता गुरुङको प्रेम, विवाह र संघर्ष समेटिएको बोबीलाई निर्देशक चाम्स बायोपिक भन्न रुचाउँछन् । त्यसो त केही अघि उनै चाम्सले दृष्टिविहीन सृष्टि केसीको जीवनीलाई नै उतारेर बनाएको ब्लाइन्ड रक्स पनि आएको थियो । त्यो फिल्म भने खासै चलेन ।

बायोपिक लहर

प्राय: बायोपिक फिल्म कुनै प्रख्यात वा कुख्यात व्यक्ति जसको जीवनबारे धेरैको चासो अडिएको हुन्छ, तिनैमा आधारित रही बनाइन्छ । नेपालमै पनि १९ वर्षअघि आदिकवि भानुभक्त होस् वा वीर गणेशमान आएका थिए । सात वर्षअघि गायक भक्तराज आचार्यको जीवनीमा आचार्य बनेको थियो । तर यी सबै फिल्मले व्यावसायिक रूपमा हावा खाएपछि बायोपिक फिल्म बनाउन हत्तपत्त कसैले आँट गर्न सकेनन् ।


यतिबेला हलिउडदेखि बलिउडसम्म बायोपिकको लहर चलिरहँदा नेपालमा पनि बायोपिक बनाउने लहर देखिन थालेको छ । थाहा आन्दोलनका अभियन्ता रूपचन्द्र विष्टमाथि बनेको रुदाने रिलिजका क्रममा छ भने शंखधर साख्वाको जीवनीमा आधारित एनिमेटेड फिल्म द लिजेन्ड अफ शंखधर पनि निर्माण भइसकेको छ ।


झमक घिमिरेको जीवनीमा आधारित रही जीवन काँडा कि फूल बायोपिक पनि बनिसकेर रिलिजका क्रममा छ भने राजा सहलेसको जीवनीमा रही अर्को बायोपिक सहलेसको पनि निर्माण घोषणा गरिएको दुई वर्ष भइसकेको छ । तर उक्त बायोपिक अझै प्रि–प्रोडक्सन चरणमै थन्किएको छ । गत वर्ष निर्माता सन्तोष सेनले पूर्वयुवराज दीपेन्द्र शाहबारे विवेककुमार शाह लिखित ‘मैले देखेको दरबार’ मा आधारित रही दीपेन्द्र सरकार बनाउने घोषणा गरेका थिए । यसको निर्माणको पनि टुंगो भने अझै लागेको छैन ।


अधिकांश फिल्मकर्मी अझै पनि नभनिएको कथाबारे फिल्म बनाइरहँदा केहीले भने पहिले नै धेरै थाहा पाइसकिएका र चिनिएका चर्चित पात्रलाई लिएर फिल्म बनाउन कस्सिन थालेका छन् । बलिउडमा बायोपिकको ट्रेन्ड यतिबेला निकै फस्टाएको छ । सिल्क स्मिताको जीवनीमा आधारित द डर्टी पिक्चर्स वा सात पटकको राष्ट्रिय च्याम्पियन धावक पान सिंह तोमरमाथिको फिल्म व्यावसायिक हिट र समीक्षात्मक रूपमा अब्बल मानिएपछि बलिउडमा बायोपिकको खेती यतिबेला फस्टाएको छ । त्यसयता खेलाडीकै जीवनीमा आधारित भई ‘मेरी कोम’, ‘भाग मिल्खा भाग’, ‘दंगल’, ‘एम एस धोनी : द अनटोल्ड स्टोरी’, ‘सचिन : अ विलियन ड्रिम्स’ बनिसकेका छन् । त्यसबाहेक पनि ‘मंगल पाण्डे : द राइजिङ’, ‘गान्धी’, ‘नीरजा’, ‘नेताजी सुवासचन्द्र बोस’ जस्ता बायोपिकले भारतमा मात्रै नभई विदेशी बक्स–अफिसमा समेत कमाल देखाइसकेका छन् ।


अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बायोपिक सञ्जुले तीन हप्तामा भारु ३ सय करोडको व्यापार गरिसकेको छ । त्यसो त यसलाई कतिपय समीक्षकले इमानदार नभई बनाइएको बायोपिक पनि भनेका छन् । उनीहरू फिल्मले सञ्जयका नराम्रा पक्षलाई ढाकछोप गर्न मिडियालाई जबर्जस्ती खलपात्र बनाइएको र सञ्जयसँग जोडिएका कैयन् खराब घटनालाई नजरअन्दाज गरिएको आरोप लगाउँछन् । जेहोस्, राजकुमार हिरानीले सञ्जुमा जति पोको पारेर सञ्जयको जीवनी दिए, दर्शकले भने खुबै रुचाइदिए ।


कतिपय आलोचकहरू हलिउडले भन्न बाँकी सामाजिक कथावस्तु नै पाउन छोडेकाले साइन्स फिक्सन, एनिमेटेड फिल्म र सुपरम्यानमा आधारित फिल्ममा आफूलाई केन्द्रित गरिरहेको टिप्पणी गर्छन् । बलिउडलाई पनि अब कथाकै समस्या पर्न थालेको हो त ? किनभने भारतीयका फिल्मकर्मी पनि डाकु वीरप्पनदेखि पूर्वप्रधानमन्त्री मनमोहन सिंहसम्मका बायोपिकमा लागेका छन् ।


हलिउडमा पनि बायोपिकको लहर राम्रै फस्टाएको छ । महात्मा गान्धीदेखि चार्ली च्याप्लिन, म्याल्कोम एक्स, मोहम्मद अली, अब्राहम लिंकनलगायत कैयन् चर्चित नेता, अभियन्ता वा व्यक्तिका बायोपिक बनेका छन् । बनेका मात्रै छैनन्, दर्शकलाई राम्रैसँग रिझाउन सफल पनि छन् ।

उत्कृष्ट बायोपिक
१. अमाडिअस
जीवनी : संगीतकार बुल्फग्याङ अमाडिअस मोजार्ट
निर्देशक : मिलोस फोरम्यान
२. गान्धी
जीवनी : महात्मा गान्धी
निर्देशक : रिचार्ड एटेनवर्ग
३. लरेन्स अफ अरेबिया
जीवनी : टी ई लरेन्स
निर्देशक : डेविड लिन
४. माल्कोम एक्स
जीवनी : माल्कोम एक्स
निर्देशक : स्पाइक ली
५. सिन्डलर्स लिस्ट
जीवनी : ओस्कार सिन्डलर्स
निर्देशक : स्टेभन स्पिलवर्ग
६. रेजिङ बुल
जीवनी : बक्सर जेक ला मोट्टा
निर्देशक : मार्टिन स्कोर्सिस
७. गुडफिलाज
जीवनी : हेनरी हिल
निर्देशक : मार्टिन स्कोर्सिस
८. द किङ्स स्पिच
जीवनी : राजा जर्ज छैटौं
निर्देशक : टम हुपर
९. ब्रेभहार्ट
जीवनी : विलियम वालेस
निर्देशक : मेल गिब्सन
१०. प्याट्टन
जीवनी : जर्ज एस प्याट्टन
निर्देशक : फ्रयांकलिन जे साफनर
–आईएमडीबी

[email protected]

प्रकाशित : श्रावण ११, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?