२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सनसनीपूर्ण पाँच सरुवा

कान्तिपुर संवाददाता

काठमाडौँ — युरोपेली क्लब फुटबलको सिजन सकिँदा रुसमा विश्वकप सुरु भइसकेको थिएन । तर, सिजन सकिएलगत्तै युरोपका क्लबहरू नयाँ खेलाडी भित्र्याउन अघि सरेका थिए । विश्वकपलगत्तै क्रिस्टियानो रोनाल्डोले म्याड्रिड छाडे । इटालीका गोलकिपर जियानलुइजी बुफोन पहिलोपल्ट देश बाहिर गए ।

सनसनीपूर्ण पाँच सरुवा

यो सिजनका यस्तै पाँच चर्चित स्थानान्तरण :


क्रिस्टियानो रोनाल्डो, पोर्चुगल
रियल म्याड्रिड (स्पेन) देखि युभेन्ट्स (इटाली)
१० करोड युरो
रियल म्याड्रिडमा रोनाल्डोको युग आश्चर्यजनक रूपमा समाप्त भयो । तर पूरै स्तब्धपूर्ण भने होइन । ३३ वर्षीय उनले लिभरपुललाई हराएर लगातार तेस्रोपल्ट च्याम्पियन्स लिगको उपाधि जित्दा नै संकेत दिएका थिए । तर उनको गन्तव्य इटाली नै हुने भन्ने थिएन ।


च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ताको कीर्तिमानी रोनाल्डोको आगमनले तुरिन क्लबलाई पक्कै पनि उत्साहित बनाउनेछ । त्यसैले युभेन्ट्सले युरोपको सबभन्दा ठूलो प्रतियोगिता सन् १९९६ यता पहिलोपल्ट जित्ने आशा राखेको छ । केहीले उच्च तहमा रोनाल्डोको समय सकिएको सोचेका पनि होलान् तर हालैको उनको लयले अर्कै बताउँछ । पछिल्लो सिजन पोर्चुगलका कप्ताले रियलका लागि सबै किसिमको प्रतियोगितामा ४४ गोल गरेका थिए । स्पेनविरुद्ध ह्याट्रिकसहित उनले विश्वकपमा पनि चार गोल गरेका थिए । त्यसैले युभेन्ट्समा मैदानभित्र र बाहिर पनि उनले ठूलै प्रभाव पार्नेमा शंका छैन ।

जियानलुइजी बुफोन, इटाली
युभेन्ट्स (इटाली) देखि पेरिस सेन्ट जर्मेन (फ्रान्स)
फ्रि–ट्रान्सफर
रोनाल्डोले भिन्न तेस्रो देशको क्लबबाट च्याम्पियन्स लिग उपाधि जित्ने योजना बनाएका बेला बुफोन भने पहिलोपल्ट चर्चित प्रतियोगिताको ट्रफी इटाली बाहिर पहिलो सिजन खेल्दै जित्नेमा आशावादी छन् । ४० वर्षीय उनले गएको सिजनको अन्त्यमा संन्यास लिने अपेक्षा गरिएको थियो तर उनले अर्को निर्णय लिँदै युरोपेली सफलता पाउने आशामा ठूलो लगानी गरिरहेको पीएसजीसँग सम्झौता गरे ।


रियलविरुद्ध क्वाटरफाइनलमा रोनाल्डोले प्रहार गरेको पेनाल्टीको निर्णयलाई लिएर इंग्ल्यान्डका रेफ्री मिकेल ओलिभरविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएपछि कारबाहीमा परेका बुफोनले च्याम्पियन्स लिगमा सुरुका तीन खेल भने गुमाउने छन् । उनले पीएसजीका सबै ठूला खेलमा पहिलो रोजाइमा अवसर पाउन सक्छन् । बढ्दो
उमेरमा उनका लागि लिग वानको निम्न स्तर उपयुक्त हुन सक्छ । कम महत्त्वपूर्ण खेलमा उनलाई आराम दिएर फ्रान्सेली अन्तर्राष्ट्रिय गोलकिपर अल्फोन्सो एरिओलालाई अवसर दिन सक्छ ।


एलिसन, ब्राजिल
रोमा (इटाली) देखि लिभरपुल (इंग्ल्यान्ड)
७ करोड २५ लाख युरो
च्याम्पियन्स लिग फाइनलमा लोरिस कारियसको लज्जास्पद प्रदर्शनले वर्षौंयता लिभरपुललाई नयाँ गोलकिपरको आवश्यकता रहेको प्रस्ट पारेको थियो । व्यवस्थापक योर्गेन क्लोप लामो समयदेखि ब्राजिलको नम्बर एक गोलकिपर एलिसनसँग सम्पर्कमा थिए । र, २५ वर्षीय उनले किपरका लागि विश्व कीर्तिमान मूल्यमा विश्वकपपछि रोमा छाडे । लिभरपुलका समर्थकले एलिसनको सहयोगमा २९ वर्षयता पहिलोपल्ट लिगको उपाधि जित्ने आशा गरेको छ ।

रियाम महारेज, अल्जेरिया
लेस्टर सिटी (इंग्ल्यान्ड) देखि म्यानचेस्टर सिटी (इंग्ल्यान्ड)
६ करोड ७५ लाख युरो
गत सिजन पूर्ण रूपमा प्रभाव जमाएको पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटी प्रिमियर लिग उपाधिका लागि सबभन्दा बलियो दाबेदार टिम हो । क्लबको अबुधाबीका मालिकले लगानीका लागि आफ््नो खल्ती रित्याउन छाडेको छैन ।


जनवरीमा ‘फक्सेस’ ले भनेको मूल्य नतिरेको सिटीले यसपालि महारेजलाई भित्र्यायो । ठूलो मूल्य लगाएको भए पनि महारेज इस्टल्यान्डमा लेरोय साने, डेविड सिल्भा र बर्नाडो सिल्भासँगै पहिलो रोजाइमा पर्ने निश्चित छैन । तर उनले अहिलेको युरोपको बसभन्दा राम्रो टिमलाई अझ बढी विकल्प दिएका छन् ।

थोमस लेमार, फ्रान्स
मोनाको (फ्रान्स) देखि एट्लेटिको म्याड्रिड (स्पेन)
१० करोड युरो
एट्लेटिको म्याड्रिडले लेमारका लागि मोनाकोलाई १० करोड युरो तिर्न सहमत भएर पनि विश्वकपको दुई दिनअघि भएको यस स्थानान्तरणले इतिहासमै कमै चर्चा पायो । फ्रान्सको च्याम्पियन यात्रामा २२ वर्षीय उनले रुसमा डेनमार्कविरुद्ध गोलरहित सकिएको खेलमात्र खेल्ने अवसर पाएका थिए । उनले पछिल्लो सिजन ३८ खेलमा ३ गोल मात्र गरेका थिए ।
तर, लेमार २०१७ मा चोट लाग्नुअघिसम्म निकै उत्कृष्ट र क्षमतावान् देखिएका छन् । एट्लेटिको पनि उनलाई अनुबन्ध गर्न पाएकोमा उत्साहित छ । उसले स्पेनमा बार्सिलोना र रियलसँगको गतिलाई कायमै राख्न चाहेको छ ।
–एएफपी

प्रकाशित : श्रावण १८, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?