कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रमोदको प्रतीक्षा

आधा शताब्दीसम्म मूलधारका नेपाली फिल्ममा मधेसी चरित्रले मुख्य भूमिका पाएनन् । अझै उस्तै अवस्था छ । प्रमोद अग्रहरि यसलाई चिर्ने प्रयास गरिरहेका छन्, आफ्नो अभिनय कौशलमार्फत ।
गोकर्ण गौतम

काठमाडौँ — ‘उमा’ मा माओवादी छापामार छँदा प्रमोद अग्रहरिलाई नेपाली फिल्ममा आफ्नो भविष्य अन्योल लाग्थ्यो । नलागोस् कसरी, त्यस अगाडि उनले मधेसी चरित्रले मुख्य भूमिकामा खेलेको फिल्म हेरेका थिएनन् । मधेसी चरित्रलाई सधैं हँसिमजाक बनाइन्थ्यो, चटपटे र पान बेच्ने टाइपका भूमिकामा सीमित पारिन्थ्यो । भाषा र लवज बिगारेर बोल्न लगाइन्थ्यो ।

प्रमोदको प्रतीक्षा

सामाजिक र राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्ने यी अभिनेता भन्छन्, ‘सुरुका आधा शताब्दीसम्म नेपाली फिल्मको मूलधारमा मधेसी कलाकार र चरित्र अटाएनन् । त्यसैले आफ्नो क्षमतामा विश्वास भएर पनि डर लाग्थ्यो ।’


‘उमा’ रिलिज भएको ६ वर्ष बित्यो, यसबीचमा प्रमोद अभिनीत एक दर्जन फिल्म आए । जसले उनलाई जल्दाबल्दा अभिनेताका रूपमा परिचित गराएको छ । कम्तीमा उनी, हराउनुपरेन, मजाकको पात्र बन्नुपरेन । हरेक फिल्ममा उनको भूमिकाले तारिफ पाउँछ तर अझै अपेक्षाअनुरूप जम्न सकेका छैनन् । ठूला स्टार पुग्नै बाँकी छ । कारण पहिलेको तुलनामा मधेसी चरित्र बढेका छन् तर अझ मुख्य भूमिकामा पत्याइन्न ।


कतिपय फिल्म निर्मातालाई कुर्ता र पाइजामा लगाइदियो र टाउकोमा गम्छा बेरिदियो भने मधेसी चरित्र बन्छ भन्ने भ्रम छ । हाल नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको सिरियल ‘सिंहदरबार’ मा अर्थमन्त्री बनेका प्रमोद भन्छन्, ‘नेपाली फिल्म अझै काठमाडौंको आँखाबाट मात्र बन्छ । बाहिरी समाजलाई वास्तै गर्दैन ।’ थोरै कालो वर्ण र दाह्री–जुँगा भएकै कारण ‘तिम्रो अनुहार नेपालीजस्तो लाग्दैन’ भनेर फिल्म खोसिएको तीतो अनुभव छ उनीसँग । भन्छन्, ‘यसले समाजको अन्य तहमा जस्तै सिनेमा पनि विभेद बाँकी छ भन्ने देखाउँदैन र ?’ तर प्रमोद हिम्मत हार्दैनन् ।


उनमा आफ्नै अभिनय कौशलबाट आफूलाई प्रमाणित गर्ने ऊर्जा दिनानुदिन बढिरहेको छ । संसारका जुनसुकै फिल्म उद्योगमा पनि ‘आउटसाइडर’ यस्तै विभेद र संघर्षको सामना गर्न अभिशप्त हुन्छन् । भारतमा केही नाटक र सिरियल खेलेर नेपाल फर्कंदै यसको हेक्का थियो प्रमोदलाई । त्यसमाथि उनलाई मौका र हौसला दिने निर्माता पनि उत्तिकै छन् । उनलाई कुनै बेला काम नपाएर भाडाको कोठामा टोलाएर बस्दा मनोज पण्डिते (फिल्म निर्माता) ले झक्झकाउने गरेका थिए । उनै मनोजले प्रमोदलाई फिल्म ‘एक’ मा मुख्य भूमिका दिएका छन् । दुई नाटक स्वप्नमहल र उम्बुगल्यान्डको मुठभेड खेलेका यी अभिनेता भन्छन्, ‘चाहेजस्तो भूमिका गर्न नपाएको भोक त छँदै छ तर पाएको भूमिकालाई जीवन्त बनाउँछु । त्यसैले कामको अभाव छैन ।’


प्रमोदलाई प्राय: मधेसी चरित्रमा देख्न पाइन्छ, त्यो पनि नकारात्मक भूमिकामा । टाइपकास्ट त भएको होइन ? चरित्र निर्माणमा चनाखो प्रमोद भन्छन्, ‘त्यस्तै लाग्छ तर तराईमा बोलिने फरक–फरक भाषामार्फत चरित्रमा नयाँपन दिने प्रयास गरेको छु ।’ जस्तो : उनले ‘झुम्की’ मा थारू, ‘संरक्षण’ मा भोजपुरी, ‘ग्याङस्टार ब्लुज’ मा अवधी बोले । ‘सुन्तली’ मा हिन्दी र भोजपुरी मिसाए । निर्देशकले दिएको चरित्रलाई पटकथाभित्र रहेर जीवन्त र बलियो बनाउने प्रयास गर्छन् । हरेक चरित्रको ‘ब्याक स्टोरी’ बनाउँछन्, मनोविज्ञान बुझ्छन् । हुलिया अलग हुन्छ । त्यसैले उनी उस्तै भूमिकामा पनि फरकपन आभास गराउन सफल छन् ।


यद्यपि रिलिजका क्रममा रहेको केही फिल्ममा प्रमोदलाई मधेसी चरित्रबाट पर राखिएको छ । नम्रता श्रेष्ठको ‘जायरा’ मा काठमाडौंमा बोलिने ठेट नेपाली भाषा बोल्छन् । ‘कथा काठमाडौं’ को चरित्र पनि ताजै लाग्छ । अचेल यसैमा उनी र प्रियंका कार्कीको अन्तरंग दृश्ययुक्त ‘रातको कुरा...’ गीत चर्चामा छ । यसलाई ‘भल्गर’ भन्ने पनि छन् तर कथाकै महत्त्वपूर्ण पाटो भएको निर्माण पक्षको दाबी छ । उनी भन्छन्, ‘कलाकारका रूपमा प्रियंका र मैले अभिनय गरेका हौं । कसैलाई मन नपर्न सक्छ तर यसलाई ‘रियल लाइफ’ सँग जोड्दाचाहिँ चित्त दुख्दोरहेछ ।’ त्यस्तै, प्रमोद अभिनीत ‘सुश्री सम्पत्ति’ र ‘जय श्रीदाम’ प्रदर्शनको पर्खाइमा छन् ।


नवलपरासीको व्यापारिक घरानाका प्रमोद परिवारको चाहविपरीत अभिनय सिक्न भारत गएका थिए । नाटक र केही सिरियल खेलेर सात वर्ष बिताएर नेपाल फर्किए । नवीन सुब्बाको ‘गुडबाई काठमाडौं’ खेले । एकखालको सफलता हात पारे । रवीन्द्र झा, नाजिर हुसैन, कामेश्वर चौरासियाजस्ता मधेसी मूलका कलाकार पनि व्यस्त छन् । तर चिन्ता उही, मधेसका कथा, पात्र, कलाकार र जनजीवन मूलधारमा अपेक्षाकृत रूपमा आएन भन्ने नै हो । आफ्ना कथा र आफूजस्तै लाग्ने चरित्र देख्न नपाएकाले होला, बुटवल, नेपालगन्ज, जनकपुर, वीरगन्जजस्ता ठूला सहरमा स्वदेशी फिल्मको खास प्रभाव छैन । प्रमोद आफैंचाहिँ नेपालका हरेक वर्ग/समुदायको भूमिकामा काम गर्न लालायित छन् । भन्छन्, ‘मलाई पहाडे भूमिका गर्न पनि रक्तिभर समस्या छैन । प्रस्ट र शुद्ध नेपाली बोल्न सक्छु ।’

[email protected]

प्रकाशित : श्रावण १८, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?