१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हिलमान्डु

भारी वर्षापछि शनिबार धुलिखेलको हिलाम्य ट्रयाकमा भएको डर्ट बाइक रेसमा चिप्लिएर पछारिनेदेखि च्याम्पियन भएर उफारिनेसम्म देखिए ।
तस्बिर : इलिट जोशी

काठमाडौँ — बसन्तपुर दरबार क्षेत्रबाट बिहान निस्कँदै ठूलो वर्षात् भइरहेको थियो । तैपनि साउनको पानीमा रुझ्दै ४५ मिनेटमा २३ किलोमिटर पार गरेर धुलिखेल पुगियो । गन्तव्य थियो– हिमालयन मोटरल्यान्ड, जहाँ बाइक रेसिङ प्रतियोगिता क्रसमान्डु नेसनल च्याम्पियनसिप भइरहेको थियो ।

हिलमान्डु

अघिल्लो दिन बेलुकादेखि नै भारी वर्षा भइरहेकाले शनिबार हिमालयन मोटरल्यान्डको ट्रयाक हिलाम्य भइसकेको थियो । अझ अघिल्लो दिन भएको अभ्यासले पनि हरियाली जंगलले घेरिएको ट्रयाक स्वाभाविक लयमा थिएन । बाइक चिप्लिने सम्भावना उच्च थियो । तैपनि जोसिला युवा रेसरहरू पछाडि हटेनन् । नेपाल मोटरसाइकल महासंघ (एनएमएफ) द्वारा शनिबार आयोजित च्याम्पियनसिपमा उनीहरूले करिब पाँच घण्टा प्रतिस्पर्धा मात्र गरेनन्, पानीमा रुझ्दै पुगेकाहरूलाई छाता ओढेको अवस्थामै पनि खुबै मनोरञ्जन दिलाए ।


डर्ट बाइक रेसिङका मोटरसाइकलहरू अफ–रोडका लागि उपयुक्त थिए । तर, ट्रयाक नै हिलाम्य भएपछि रेसरहरूलाई बाइक सम्हाल्नै गाह्रो भइरहेको थियो । त्यसमाथि उनीहरूलाई उपाधि होडमा प्रतिस्पर्धीलाई उछिन्दै अगाडि बढ्नुपर्ने बाध्यता त थियो नै । केही चालकहरू ट्रयाकमै लडे पनि । त्यसको मुख्य कारण हिलो नै थियो । हिलाम्य ट्रयाकमा विस्तारै भए पनि होसियारीपूर्वक बाइक हुइँक्याउने रेसर नै सफलता उन्मुख देखिएका थिए । भयो पनि त्यस्तै । हिलाम्य ट्रयाकमा चिप्लिएर लडेकाहरूलाई उठेर फेरि उपाधि होडमा फर्किने अवसर नै भएन । त्यसैले उपाधिका दाबेदारहरूका लागि पनि वर्षा र हिलो अवरोध बनेका थिए ।


क्रसमान्डु नेसनल च्याम्पियनसिपको उपाधि आशुतोष ध्वजुले जिते । सुजित ताम्राकार दोस्रो भए भने सुवास कटुवाल तेस्रोमा रहे । डर्ट बाइकको मुख्य स्पर्धामा सहभागी नौ रेसरमध्येका विजेतालाई भारत, श्रीलंका र नेपालमा हुने महादेशीय च्याम्पियनसिपमा सहभागी गराउने आयोजक एनएमएफले जनाएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी रेसलाई मात्र मुख्य स्पर्धामा मौका दिइएको थियो भने पहिले उपाधि नजितेका र पहिलोपल्ट रेसमा सहभागी हुनेहरू नोभिसतर्फ थिए । नोभिसमा सुशील थापा पहिलो भए । दुवै स्पर्धामा २५० सीसीसम्मका बाइक लिएर २९ रेसर सहभागी थिए । यसपालि बाइक कम्पनीहरूले केही रेसरलाई बाइक उपलब्ध गराएका थिए ।

[email protected]

प्रकाशित : श्रावण १८, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?