१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

रानीकोटदेखि नालासम्म

काठमाडौँ — भक्तपुर प्राचीन राज्यको राजधानी हो, जहाँ कलात्मक कलाकृतिसँगै पुस्तौंअघिको संस्कृतिलाई नजिकबाट नियाल्न सकिन्छ । युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्र र चाँगुनारायणमात्र होइनन्, यस जिल्लामा आन्तरिक र बाह्य पर्यटकको मन जित्ने अन्य स्थानहरु पनि छन् । काठमाडौं उपत्यकाको कोलाहल, भीडभाड, धूलो र अस्तव्यस्त सहरी वातावरणलाई केही क्षण वा दिनका लागि भए पनि चटक्कै छाड्ने योजनाका लागि राम्रो विकल्पका रुपमा रहेका भक्तपुरका चार स्थानबारे लीला श्रेष्ठ लेख्छिन् :

रानीकोटदेखि नालासम्म

रानीकोट गढी
पानी परे हिलो । घाम लागे धूलो । मास्क नलगाई काठमाडौं उपत्यकामा हिँड्न मुस्किल छ । राजधानीमा थकाई मार्ने शान्त ठाउँ खोज्ने हो भने रमणीय गन्तव्यका रूपमा रानीकोट गढी रोज्न सकिन्छ । सूर्यविनायक नगरपालिका–७ मा अवस्थित रानीकोट गढीमा आन्तरिक पर्यटक बढ्दो छ । भक्तपुरको सूर्यविनायकबाट दक्षिणी पहाडमा अवस्थित रानीकोट गढीको मुख्य विशेषता भनेकै उच्च क्षेत्रमा रहनु हो । भक्तपुर, ललितपुर र काभ्रेको संगममा रहेको यस स्थानबाट काठमाडौं उपत्यकालाई नियाल्न पाइन्छ ।


अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक चोकबाट दक्षिण पाइलट बाबा, घ्याम्पेडाँडा हुँदै रानीकोट गढी पुग्न सकिन्छ । सूर्यविनायकबाट झन्डै सात किलोमिटरमा पर्छ रानीकोट । पाइलट बाबा र घ्याम्पेडाँडा पर्यटकीय आकर्षण बनेपछि मानिसको ध्यान त्योभन्दा माथिको रानीकोटतिर मोडिएको हो । रानीकोटमा मोटर बाटो विस्तार भइसकेको छ । सूर्यविनायक चोकबाट सूर्यविनायक गणेश मन्दिर हुँदै पाइलट बाबा, घ्याम्पेडाँडासम्म सडक कालोपत्रे भइसकेको छ । घ्याम्पेडाँडादेखि भने कच्ची बाटो पार गर्नुपर्छ । उपत्यकाभित्रै शान्त जंगल छिचोल्दै काठमाडौंको दृश्य हेर्दै रानीकोट पुग्नुको मज्जा नै अर्कै हुन्छ ।


अग्र्यानिक खानेकुराको स्वाद पनि लिन पाइन्छ । रानीकोट गढी दरबारसम्म पुग्न करिब १४ सय सिँढी निर्माण गरिएको छ । रानीकोट गढीमा बाइकमा धाउने र पैदल यात्रुको संख्या दैनिक बढिरहेको छ । यस क्षेत्रको अर्काे आकर्षण बाघभैरव हो । रानीकोट चोकबाट दुई सय मिटर पश्चिममा ठूलो ढुंगामा रहेको बाघभैरव रानीकोट घुम्न आउनेहरूको आकर्षणको केन्द्र बनेको छ । बाघको आकारमा रहेको ढुंगालाई स्थानीयले साक्षात् प्रकृतिरूपी श्री बाघभैरव मन्दिर नामकरण गरेका छन् । चोकबाट केही क्षणमै रानीकोट गढी भ्यु प्वाइन्ट पुग्न सकिन्छ । हाइकिङका लागि समेत मुख्य रोजाइमा पर्छ रानीकोट गढी ।


पर्यटक बढेपछि रानीकोट आसपासमा होटलहरू बनिरहेका छन् ।

आशापुरी, नैचाल
रानीकोट गढीको पूर्वमा आशापुरी महादेव मन्दिर रहेको छ । काभ्रे र भक्तपुरको संगम स्थल आशापुरी, नैचाल, काँक्राबारी क्षेत्र धार्मिक रूपले मात्र नभई रमणीय क्षेत्र पनि हो । अरनिको राजमार्गअन्तर्गत जगातीबाट १० किलोमिटरमा पर्ने आशापुरी नैचाल विशेषत: स्थानीय खानाको स्वाद लिनेहरूको गन्तव्य बनेको छ ।


तामाङ समुदायको बाहुल्य भएको यस क्षेत्रमा लोकल कुखुरा, ढिँडो, सिस्नु, निगुरोसँग भात खान पाइन्छ । काभ्रेको साँगा, भक्तपुरको जगाती र सूर्यविनायक घ्याम्पेडाँडा हुँदै नैचाल पुग्न सकिन्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने सिलसिलामा भक्तपुर आक्रमण गर्नका लागि निर्माण गरिएको बोकाचो गढी र रानीकोट गढीको बीचमा अवस्थित नैचाल पैदल मार्गका लागि उपयुक्त छ । ठूला होटलहरू नभए पनि धूलो/धूवाँबाट टाढा रहेर टहल्ने गन्तव्य नैचाललाई बनाउन सकिन्छ ।


नैचाल पुग्न सूर्यविनायकबाट पैदल दुई घण्टा लाग्छ भने सवारीसाधनमा आधा घण्टामै पुग्न सकिने स्थानीयवासी बताउँछन् । पहाडले घेरिएको यो स्थल प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ ।


नाला
उपत्यकाको पूर्वमा अवस्थित प्राचीन ऐतिहासिक सहर नाला आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ । ऐतिहासिक प्रमाणहरूका अनुसार काभ्रेपलाञ्चोक जिल्लाको सात प्राचीन नेवार बस्तीहरूमध्ये नाला प्रमुख हो । समुद्री सतहबाट १४ सय मिटर उचाइमा अवस्थित नालाको सिमानामा नन्यमाता र पुन्यमाता खोलाहरू रहेका छन् । चारैतिर हरिया पहाडहरूले घेरिएको नालामा परम्परागत नेवारी संस्कृति अनुभव गर्न सकिन्छ ।


नेपालका प्रख्यात चार भगवतीमध्ये एक उग्रचण्डी भगवती तथा प्रमुख चार करुणामयमध्ये सृष्टिकान्त लोकेश्वर करुणामय पनि यसै स्थानमा अवस्थित छ । भक्तपुरको च्याम्हासिंह एवं काभ्रेको बनेपाबाट पुग्न सकिने नाला प्राचीन सभ्यता अध्ययन गर्न चाहनेहरूका लागि समेत प्रिय क्षेत्र हो । गढ, पर्खाल, ढुंगाको मूल ढोकाहरू, प्रशस्तै ढुंगेधाराहरू, इनारहरू, मनोरञ्जनका लागि डबलीहरू, सडक चोकमा पाको इँटाले बिछ्याएको बाटो, लायकु (दरबार) रहेको अवशेषहरू पाइन्छन् । हालै निर्मित गुम्बाले पनि नालामा पर्यटकको आकर्षण बढाएको छ । फुर्सद मिलाएर घुम्नेका लागि मात्र होइन, पिकनिक खाने गन्तव्यको रूपमा समेत नाला परिचित स्थान हो ।

त्रिशूल डाँडा
युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश चाँगुनारायण मन्दिरबाट करिब १ किलोमिटरमै रहेको त्रिशूल डाँडा पछिल्लोपल्ट आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । यहाँबाट सुन्दरीजल, साँखुलगायत उपत्यकाको अधिकांश भाग अवलोकन गर्न सकिन्छ ।


पिकनिक गन्तव्यका रूपमा पनि चर्चित रहेको त्रिशूल डाँँडा भक्तपुर नगरको देकोचाबाट करिब ७ किलोमिटर दूरीमा पर्छ । हाइकिङका लागि समेत यो डाँडा मुख्य रोजाइमा पर्छ । चाँगुनारायण पौवासम्म पक्की सडक छ भने त्यसपछि कच्ची सडक तेलकोटसम्म रहेको छ । चाँगुनारायण, त्रिशूल डाँडा हुँदै नगरकोटसम्मको १५ किलोमिटर दूरीलाई पैदल मार्गका रूपमा विस्तार गरिसकिएको छ । तेलकोट भन्ज्याङ–त्रिशूल डाँडा–चाँगुनारायणको पैदल रुट उपत्यकाकै सुन्दर हाइकिङ वा ट्रेकिङ रुट हो ।

प्रकाशित : भाद्र १, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?