१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बिहेबारी बीस पारि

काठमाडौँ — घोराही उपमहानगरपालिका–२ मोतिपुरकी २० वर्षीया शिवा परियारको विवाह गर्ने उमेर भर्खर भएको छ तर उनले वैवाहिक जीवन बिताएको पाँच वर्ष बितिसक्यो । सिउँदोभरि सिन्दूर टल्काउँदै उनले भनिन्, ‘विवाह गर्ने उमेर त भर्खर भएछ । पाँच वर्ष छिटो भएछु । यो कुरा सबैलाई बुझाउनु छ ।’ उनी अचेल ‘बिहेबारी बीसपारि’ अभियानमा लागेकी छन् ।

बिहेबारी बीस पारि

घरमा आर्थिक अभाव थियो । उनका बुवाआमा सिलाइकटाइ गरेर जीविका चलाउँथे । आर्थिक समस्या भएको भन्दै उनलाई बाआमाले पढ्न पठाएनन् । त्यतिबेला किशोरावस्था भएपछि विवाह गर्ने उमेर भएको ठानिन्थ्यो । आफ्नै उमेरका साथीहरू विद्यालय जान्थे । उनलाई खासै व्यस्त हुनुपर्ने काम पनि थिएन । उनले बाआमाकै रोजाइमा विवाह पनि गरिन् । ‘छिट्टै विवाह गरेकामा अहिले पश्चताप लागिरहेको छ,’ उनले भनिन्, ‘त्यसैले बालविवाह नगर्न सन्देश दिँदै गाउँगाउँ हिँडिरहेकी छु ।’


आफूजस्तै अन्य साथीहरूसँगै उनी बालविवाहविरुद्धको घरदैलो अभियानमा सक्रिय छिन् । उनी बालबालिकाहरूलाई उमेर नपुगी विवाह नगर्ने सन्देश दिन्छिन्, विवाह गर्न खोजेकालाई सम्झाइबुझाइ गर्छिन् । ‘सानोमा केही थाहा नहुने रहेछ । लहैलहैमा लागेर या बाध्यताले उमेर नपुग्दै विवाह भइरहेको छ,’ उनले भनिन्, ‘बीस वर्ष नपुगी विवाह गर्नु कानुनविपरीतको काम रहेछ, जुन अहिले मात्रै थाहा भयो । त्यसकारण म अरूलाई यही कुरा भनिरहेकी छु ।’


उमेर नपुग्दै विवाह गर्दा शारीरिक र मानसिक समस्या भएको शिवाको अनुभव छ । आत्मनिर्भर नभएर विवाह हुँदा पनि समस्या हुने उनले बताइन् । बालविवाह बढ्न थालेपछि रामपुरका सचेत बालबालिका बालविवाहविरुद्ध लागेका छन् । बाल क्लबमा आबद्ध भएर उनीहरूले घरदैलो अभियान नै चलाइरहेका छन् । विवाहित बालबालिका नै आफ्ना अनुभव सुनाउँदै हिँडेपछि चेतना फैलाउन सजिलो भएको रामपुर बाल क्लबकी सदस्य प्रेरणा डीसीले बताइन् ।


‘बालविवाहले भविष्य बर्बाद पार्छ । यही सिकाइरहेका छौं । विवाहितले आफ्ना भोगाइहरू सुनाएका छन्,’ प्रेरणाले भनिन्, ‘उमेर नपुगी विवाह गर्दा पढाइ छुट्छ । बच्चा जन्माउन थाल्दा ज्यान नै जोखिममा पर्छ भन्ने कुरा वास्तविकता बताइरहेका छौं । परिपक्व नभई विवाह गर्दा जीवन नै अस्तव्यस्त हुने रहेछ ।’


बालविवाह गरेका धेरैले दु:ख पाउने मात्र होइन, घरेलु हिंसाको सिकार हुनुपरेको पीडा पनि उनीहरूले सुनाइरहेका छन् । ‘यस्ता गलत प्रवृत्तिलाई हामीले रोक्नुपर्छ,’ घोराही–२ रामपुरकी अभिभावक सरिता नेपालीले भनिन्, ‘बालविवाहविरुद्ध चेतना जगाउन बालबालिकाहरू नै घरदैलोमा हिँडेका छन् । हामीले उनीहरूलाई साथ दिइरहेका छौं । यस अभियानले प्रभावशाली देखिएको छ । बालविवाह रोक्न अभिभावक नै सचेत हुन आवश्यक छ ।’


घोराही उपमहानगरपालिका वडा नंं. २ का अध्यक्ष केशव आचार्य भन्छन्, ‘बालविवाह समाजमा विकृतिका रूपमा बढिरहेको छ । कतै अभिभावकले विवाह गरिदिने चलन छ त कतै बालबालिका आफैं भाग्ने क्रम पनि बढ्दो छ । घरमै पुगेर बालबालिका र अभिभावकलाई यसतर्फ सचेत गराइरहेका छौं । बालबालिकालाई गलत बाटोमा जानबाट रोक्न सबै अभिभावक समयमै सजग हुनुपर्छ । वडालाई हामी बालविवाहमुक्त बनाउने योजनामा छौं ।’ अभियानमा स्थानीय सरकार पनि गम्भीर देखिएको छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी आफंै पनि बालबालिकासँगै सचेतनाका लागि घरदैलोमा पुगेका देखिन्छन् । ‘बालबालिकालाई जोखिमबाट बचाउनुपर्छ,’ उनले भने ।

[email protected]

प्रकाशित : भाद्र १, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?