नयाँ डिजाइनमा पल्सर
काठमाडौँ — नेपालमा १५० सीसीको पल्सर सबैभन्दा लोकप्रिय र प्रयोग भइरहेको बाइकमा पर्छ । पल्सरको डिजाइन र यसको पर्फमेन्सका कारण यो लोकप्रिय बनेको हो । १५० सीसी पल्सरमा उपलब्ध नयाँ डिजाइनले पनि नयाँ पुस्ताका उपभोक्ताको ध्यान तानिरहेको हुन्छ ।
दुई वटा डिस्क ब्रेक भएको नयाँ मोडलको पल्सर नेपाली बजारमा उपलब्ध भएको छ । यो मोडलको नाम पल्सर १५० टीडी राखिएको छ । दुई वटा डिस्क ब्रेक, डिजाइनमा परिवर्तनका कारण यो बाइक १५० सीसीका पल्सरका अन्य मोडलभन्दा केही भिन्न छ । नेपालमा तीन वटा रङमा यो उपलब्ध भएको नेपालका लागि बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले जनाएको छ । यो कालो नीलो, कालो रातो र हल्का कालो रङमा उपलब्ध छन् ।
विशेषत: युवा पुस्तालाई लक्षित बाइकमा चक्का, च्यासिस र सकर अन्य डिजाइनभन्दा मोटा छन् । यसबाहेक बाइकमा स्प्लिट सिट राखिएको छ । स्वीङआर्म पनि अन्य डिजाइनभन्दा मोटो छ । पछाडिको टायर अगाडिको टायरभन्दा मोटो छ । रियर टायर १२९ एमएमको छ । बाइकको ‘मस्कुलर लुक’ का कारण युवा वर्गलाई यसको डिजाइन मन
पर्न सक्छ ।
पल्सर १५० टीडीमा १४९.५ सीसीको सिंगर सिलिन्डर डीटीएसआई इन्जिन राखिएको छ । यसमा दुई भल्भ छन् । बाइकको ट्यांकी १५ लिटर पेट्रोल अट्ने छ । यसमा ५ गियर उपलब्ध छन् । यसको टप स्पिट ११० किमि प्रतिघण्टा हो । यसको तौल १ सय ४४ केजी छ । यसको आवाज, भाइब्रेसन र हार्नेस लेभल अघिल्ला मोडलका भन्दा सुधार गरिएको कम्पनीले दाबी गरेको छ । नेपाली बजारमा यसको मूल्य २ लाख ५५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
पल्सरको नेपालमा आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले पल्सर १५० टीडीले नेपालमा पल्सरको लिगेसीलाई धान्ने दाबी गरेका छन् ।