कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

बम्बई टु मुम्बई

फिल्म र वेब सिरिजको दुनियाँमा थोरै रमाउनेका लागि नेटफ्लिक्स दैनिक जीवनको अभिन्न पक्ष बनिरहेको छ । यो भिडियो स्ट्रिमिङ साइट फिल्मको विश्वव्यापी भण्डार नै हो ।
हिन्दी भाषीमाझ मात्र होइन, संसारका झन्डै १ सय ९० देशमा धमाका मच्चाइरहेको छ, नेटफ्लिक्सको पहिलो इन्डियन ओरिजिनल वेब सिरिज सेक्रेड गेम्सले ।
हेलो शुक्रबार

काठमाडौँ — समाजमा आवेग छ, हिंसा छ, अन्याय छ, कुण्ठा छ, प्रेम छ, यौन छ । यिनै कुरालाई सिनेमामा जस्ताको त्यस्तै देखाउन खोज्छन्, बलिउड निर्देशक अनुराग कश्यप । तर संसारको सबभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा यो यथार्थ चित्रण पाच्य हुन्न । सेन्सरका नाममा अनुरागका फिल्ममाथि लगाम लगाइन्छ । त्यसैले अनुराग र सेन्सर बोर्डबीच लफडा परिरहन्छ ।

बम्बई टु मुम्बई

उनले जति फिल्म बनाएका छन्, सेन्सरले सबैलाई विवादित बनाइएको छ । उनी यस्तो ‘प्लेटफर्म’ को खोजीमा थिए, जहाँ आफूले सोचेको कथा निर्धक्क देखाउन पाइयोस् । अर्थात्, सेन्सर हुँदै नहोस् । अनुरागका लागि त्यस्तै वरदान बनेको छ, नेटफ्लिक्स ।


फिल्म र वेब सिरिजको दुनियाँमा थोरै रमाउनेका लागि नेटफ्लिक्स दैनिक जीवनको अभिन्न पक्ष बनिरहेको छ । यो भिडियो स्ट्रिमिङ साइट फिल्मको विश्वव्यापी भण्डार नै हो । त्यसैले हलको व्यापारलाई चौपट भइरहेको छ । अरूले बनाएको फिल्म किनेर आफ्नो साइटमा राख्दै आएको नेटफ्लिक्स केही समययता आफैं फिल्म र वेब सिरिज निर्माणमा लागेको छ । उसले पहिलो इन्डियन ओरिजिनल सिरिज बनाएको छ, सेक्रेड गेम्स ।


सेक्रेड गेम्सका दुई निर्देशकमध्ये एक हुन्, अनुराग । अर्का निर्देशक बलिउडमा फरक धारका फिल्म बनाइरहेका अनुरागकै साथी विक्रमादित्य मोट्वानी हुन् । जुलाई ६ बाट रिलिज भएको आठ एपिसोडको सेक्रेड गेम्स अहिले हिन्दी भाषी मात्र होइन, संसारका झन्डै १ सय ९० देशका दर्शकमाझ प्रिय बनिरहेको छ । अर्थात् नेटफ्लिक्सको इन्डियन डेब्यु दमदार भएको छ ।


सेन्सर नभएको अनुराग र विक्रमादित्यको सेक्रेड गेम्स कति यथार्थपरक होला ? काटमार र गालीगलौज त भइहाल्यो, न्युड दृश्य पनि उत्तिकै छन् तर यति कलात्मक र कथाको बहावअनुसार राखिएको छ कि ‘भल्गर’ लाग्दै–लाग्दैन । निर्देशकद्वयको सफलता हो यो । अनुरागले भनेका छन्, ‘सेन्सर बिनाका कन्टेन्ट निर्माण गर्नु हाम्रा लागि सपनाजस्तै थियो । सेक्रेड गेम्सबाट त्यही सपना पूरा भएको छ ।’ निर्देशक मात्र होइन, कलाकार पनि उस्तै धुरन्धर छन् । सैफअली खान, नवजुद्दिन सिद्धिकी, राधिका आप्टे, गीताञ्जली थापादेखि गिरीश कुलकर्नीसम्म ।


सन् २००६ मा इन्डो–अमेरिकन लेखक विक्रम चन्द्रले सेक्रेड गेम्स नामक उपन्यास लेखेका थिए । निकै प्रशंसा बटुलेको यस उपन्यासले भोडाफोन क्रसरोड बुक अवार्ड पनि जित्यो । सन् ८० र ९० को दशकमा बम्बईमा मौलाएको गुन्डागर्दी र धार्मिक द्वेषलाई बुनिएको छ यसमा । अझ गहिरिएर नियाल्ने हो भने बम्बई कसरी मुम्बई बन्यो भन्ने फेहरिस्त हो, सेक्रेड गेम्स ।


प्रहरी अधिकृत सरताज सिंह (सैफअली) लाई एउटा रहस्यमयी फोन कलमा ‘२५ दिनमा मुम्बई ध्वस्त हुने’ धम्की आउँछ । यो धम्की दिने अरू कोही नभएर, कुनै समय बम्बईमा आतंक मच्चाएका नामुद ग्याङस्टार गणेश गाइतोन्डे (नवाजुद्दिन) हुन्छन् । इमानदार भएर पनि विभिन्न कारणले सरताज सिंहको जागिर धरापमा पर्छ । तैपनि उनी गाइतोन्डेको अनुसन्धानमा लाग्छन्, सहर बचाउन । बिस्तारै यावत् स्वरूपमा रहस्यको पर्दाफास हुन थाल्छ । अनेक उपकथा र सहायक पात्र जोडिन्छन् । सन्स्पेन्स बढ्दै जान्छ । धर्म, राजनीति, सेक्स, फिल्मी दुनियाँ, दुई नम्बरी धन्दा, दमन अर्थात् हिजो बम्बईमा जे–जे थिए, सबथोक देख्न पाइन्छ, सेक्रेड गेम्समा ।


नवाजुद्दिन सिद्धिकी त सदाबहार बुलन्द भइहाले । गणेश गाइतोन्डेले अभिनेताका रूपमा उनको आयु अझ बढाएको छ । गाइतोन्डेको चरित्र चित्रण साँच्चै अद्भुत लाग्छ । पछिल्ला फिल्मबाट नमीठो अनुभव भोगेका सैफअलीलाई सेक्रेड गेम्सले धेरै हदसम्म राहत दिन्छ । चरित्रको मनोविज्ञानलाई समात्न सफल छन् उनी । खुफिया एजेन्सी ‘र’ की एजेन्ट बनेकी राधिकाले उस्तै राम्रो काम गरेकी छन् । यही सिरिजबाट ‘हटकेक’ बनेकी छन्, कब्रा साइत । ट्रान्सजेन्डर मोडलका रूपमा कब्राको अभिनयलाई भारतीय मिडियाले ‘साहसिक र ‘जादुयी’ भनेका छन् । तसर्थ कलाकारबाट सशक्त काम लिने मामलामा अब्बल छौं भनेर फेरि एकपटक प्रमाणित गरेका छन्, अनुराग र विक्रमादित्यले ।


खासमा सेक्रेड गेम्सलाई फिल्ममा ‘एडप्ट’ गर्न यसअघि नै एक हलिउड कम्पनीले स्वीकृति लिएको थियो । तर अढाई घण्टाको फिचर फिल्ममा पूरा किताब समेट्न सम्भव भएन । फिल्म निर्माण त्यहीं तुहियो । त्यसो भए, नेटफ्लिक्सको ६ घण्टा लामो आठ भागको सिरिजमा सबै कथा अटाइएको छ त ? छैन । उपन्यासको जम्मा एक चौथाइ कथा मात्र हो यो । सोही कारण नेटफ्लिक्सले दोस्रो सिजन बनाउँदै छ भन्ने चर्चा चलिरहेको छ । दर्शकको माग पनि त्यस्तै छ । औपचारिक घोषणा भएको छैन । तर, नेटफ्लिक्सले सेक्रेड गेम्सको दोस्रो सिजन मात्र होइन, सवा अर्ब जनसंख्या भएको भारतका अन्य विषयमा पनि निर्माण गर्छ भन्नेमा चाहिँ शंका छैन ।

[email protected]

प्रकाशित : भाद्र १, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?