१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

ईपीएल होड

म्यानचेस्टर सिटी र लिभरपुल उपाधि होडतर्फ अघि बढिरहँदा माउरिन्होको टिम युनाइटेड, चेल्सी र टोटेनहम भने शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने प्रतिस्पर्धामा सीमित बन्न सक्छन् ।
राजु घिसिङ

काठमाडौँ — विश्वकै सर्वाधिक लोकप्रिय घरेलु फुटबल प्रतियोगिता इंग्लिस प्रिमियर लिगको नयाँ सिजन गत साता सुरु भयो । पछिल्लो सिजन उपाधि होडमा म्यानचेस्टर सिटीलाई कसैले चुनौती दिन सकेको थिएन । यसपालि उसलाई लिभरपुलले कडा टक्कर दिने अपेक्षा गरिएको छ ।

ईपीएल होड

स्पेनी प्रशिक्षक पेप ग्वार्डिओलाको टिम म्यानचेस्टर सिटीले गत सिजन (सन् २०१७–१८) कीर्तिमान १ सय अंक बनाएर प्रिमियर लिगको उपाधि जितेको थियो । सिटीभन्दा २५ अंक पछाडि रहेको लिभरपुल चौथो भएको थियो । योर्गेन क्लोपले सम्हालेको त्यही लिभरपुल यो सिजन (२०१८–१९) को उपाधि होडमा सिटीलाई चुनौती दिने क्लब बन्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।


गएको सिजन स्टार मिडफिल्डर फिलिप काउटिन्होलाई बार्सिलोना पठाउन बाध्य भएको लिभरपुल यसपालिको स्थानान्तरण बजारमा सबभन्दा बढी चलखेल गर्ने क्लब बन्यो । एन्फिल्ड क्लबले स्थानान्तरणमा सबभन्दा धेरै २१ करोड ७० लाख अमेरिकी डलर लगानी गर्‍यो । उसले आइतबार वेस्टह्यामलाई ४–० ले हराएर नयाँ सिजनको सुरुआत गर्‍यो । पछिल्लो सिजन ४४ गोल गरेका मोहम्मद सलाहले उस्तै लयलाई कायम राख्ने अभियानमा सिजनको पहिलो खेलमै गोल गरे । साडियो मानेले पनि खाता खोले । यिनै सलाह, माने, रोबर्टो फिरमिनोको अग्रपंक्तिलाई यसैपालि भित्र्याइएका नाबी केइटाले गतिलो साथ दिने अपेक्षा गरिएको छ ।


लिभरपुल आठ महिनाको मिहिनेतपछि गत सिजन युरोपेली च्याम्पियन्स लिगको फाइनल पुगेको थियो । तर, युक्रेनी राजधानी किभमा रियल म्याड्रिडविरुद्ध भएको फाइनलमा गोलकिपर लोरिस कारियसले साह्रै नै कमजोर प्रदर्शन गरे । त्यसैले लिभरपुल युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगिताको ट्रफी चुम्ने होडमा रियलविरुद्ध चुकेको थियो । हुन त पछिल्लो सिजन प्रिमियर लिगमा पनि लिभरपुलको गोलकिपर कमजोर नै देखिएका थिए । त्यसैले उसले विश्वकै सर्वाधिक महँगा गोलकिपरका रूपमा ब्राजिलमा एलिसन बेकरलाई इटालियन क्लब एएस रोमाबाट यसैपालि भित्र्यायो ।


एलिसनलाई विश्वकै उत्कृष्ट एक गोलकिपर मानिएको छ । उनीसँगै लिभरपुलले केइटालाई लाइप्जिग, फाविन्होलाई मोनाको, जेरडान साकिरीलाई स्टोकबाट एन्फिल्डमा ल्याएको छ । त्यसैले योर्गेन क्लोपलाई गत सिजनजस्तो म्यानचेस्टर सिटीसँग २५ अंकले पछाडि पर्‍यो भने माफी माग्नका लागि कुनै बहाना छैन । क्लबको मुख्य चुनौती नै सन् १९९० यता लिभरपुललाई इंग्ल्यान्डको सर्वोच्च लिगमा पहिलोपल्ट च्याम्पियन बनाउनु हुनेछ । एन्फिल्डमा वेस्टह्यामविरुद्ध गरिएको चार गोललाई त्यस अभियानको राम्रो संकेतका रूपमा लिइएको छ । गिनीका मिडफिल्डर केइटाले पनि सुखद सुरुआत गरे । सहकर्मी जेम्स मिल्नरले उनी कति उत्कृष्ट छन् भन्ने कुरा सोच्न मात्रै सकिने प्रतिक्रिया दिएका छन् । त्यसैले केइटाको आगमनले लिभरपुल अझै बलियो भएको प्रस्ट पार्दछ ।


तर सबै खालका विश्लेषणअनुसार विश्वकै सबैभन्दा आकर्षक रहेको प्रिमियर लिगमा यसपालि च्याम्पियन हुने प्रबल सम्भावना भएको क्लब म्यानचेस्टर सिटी नै हो । सिटीले सन् १९९६ यता पहिलोपल्ट आर्सेन वेंगरबिना प्रतिस्पर्धात्मक फुटबल खेलेको आर्सनलमाथि २–० को जित रच्दै उपाधि रक्षाको अभियान थालेको छ । आर्सनलकै घरेलु मैदानमा ग्वार्डिओलाको टिमले पूर्णत: प्रभाव जमाएको थियो । विश्वकपमा अन्त्यतिरसम्मै व्यस्त भएकाले प्रि–सिजनमा टिमसँग सबै खेलाडी घुलमिल हुन नपाए पनि सिटीका स्टार खेलाडीहरूको खेल उच्चस्तरकै रह्यो । त्यसैले गनर्समा वेंगरको स्थान लिएका युनाई इमरेको स्वागत खल्लो नै बनेको थियो ।


एलेक्स फर्गुसनले सम्हाल्दासम्म म्यानचेस्टरको अर्को क्लब युनाइटेड शक्तिशाली थियो । उसले प्रिमियर लिगमा शासन नै गरेको थियो भने पनि फरक पर्दैन । तर, फर्गुसन युगको अन्त्यसँगै म्यानचेस्टरको शक्ति युनाइटेडबाट सिटीमा सर्‍यो । ‘स्पेसल वान’ जोसे माउरिन्होले पनि युनाइटेडलाई फेरि फर्गुसन छँदाकै लयमा फर्काउन सकेका छैनन् । र, फर्किने संकेत पनि देखिएको छैन । पछिल्लोपल्ट प्रिमियर लिगको उपाधि जोगाउने क्लब म्यानचेस्टर युनाइटेड नै हो । उसले यो उपलब्धि सन् २००९ मा हासिल गरेको थियो । यसपालि छिमेकी युनाइटेडको उपलब्धिलाई बराबरी गर्ने सिटीको योजना छ र त्यसका लागि ग्वार्डिओलाको टिम योग्य पनि छ ।


तेल बिक्रीबाट धनाढ्य बनेका अबुधाबीको लगानीमा शक्तिशाली भएको म्यानचेस्टर सिटी यसपालि लेस्टरका रियाद माहरेजलाई भित्र्याएर अझै सशक्त बनेको छ । कोलकातामा गत वर्ष यू–१७ विश्वकप विजेता भएको इंग्ल्यान्डका मिडफिल्डर फिल फोडेन सिटीको सिनियर टिममै पनि प्रभावशाली रूपमा प्रस्तुत हुन थालेका छन् । डिफेन्डर जोन स्टोन विश्वकपमा इंग्ल्यान्डको सेमिफाइनल यात्रामा विश्वकै उत्कृष्ट देखिएका थिए । बेन्जामिन मेन्डी पनि पूर्ण स्वस्थ भएर फर्किएका छन् । त्यसैले बल नियन्त्रण गर्दै आक्रामक खेल्ने ग्वार्डिओलाको रणनीतिमा सिटीले १ सय अंक जोड्न सकेन भने पनि १९ अंकभन्दा कम अन्तरमै उपाधि जोगाउन सक्छ ।


गत सिजन लिग कप पनि जितेको सिटीले लिभरपुलसँग चार खेल खेलेको थियो । त्यसमा क्लोपको टिमले तीन जित हात पारेको थियो । तर, लिगको उपाधि होडमा भने क्लोपको टिम कहिल्यै ग्वार्डिओलाको नजिक पनि पुगेन । विश्वकै उत्कृष्ट अग्रपंक्ति मानिएको लिभरपुलको आवश्यकता डिफेन्सलाई बलियो बनाउनु पनि हो । सिटीको आफ्नै चुनौती भनेको मे महिनासम्म स्टार खेलाडीको लयलाई कायमै राख्नु हुनेछ ।


सिटी र लिभरपुललाई म्यानचेस्टर युनाइटेड, प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेर माउरिजियो सारीलाई ल्याएको चेल्सी र ह्यारी केनप्रेरित टोटेनहमले दु:ख दिन सक्छ । तर, युनाइटेडलाई आफ्नै डिफेन्सको स्तरले पीडा दिइरहन सक्छ । टिबाउट कोर्टियसले रियल म्याड्रिड रोजेपछि एथलेटिको बिल्बाओका गोलकिपर केपालाई स्टामफोर्डब्रिज ल्याइएको छ । नेपोलीबाट जोरगिन्होलाई पनि भित्र्याइएको छ । तर, म्याड्रिड जाने चर्चाबीच इडन हाजर्ड नै चेल्सीका लागि यो सिजन निर्णायक बन्न सक्छन् । माउरिसियो पोचेटिनोले सम्हालेको स्पर्समा प्रतिभावान खेलाडीको खाँचो छैन । विश्वकप विजेता कप्तान ह्युगो लोरिस र निरन्तर लयमा रहेका फरवार्ड ह्यारी केनको उपस्थितिमा पनि स्पर्सलाई उपाधि होडमा उभ्याउने ठूला स्टारको भने आवश्यकता पर्छ ।


त्यसैले म्यानचेस्टर सिटी र लिभरपुल उपाधि होडतर्फ अघि बढिरहँदा माउरिन्होको टिम युनाइटेड, चेल्सी र टोटेनहम भने शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने प्रतिस्पर्धामा सीमित बन्न सक्छन् । सिटीविरुद्ध आफ्नै मैदानमा हार्नु भनेको आर्सनलका लागि ६ अंक गुमाएजस्तै हो । त्यसैले आर्सनललाई च्याम्पियन्स लिगमा फर्कन पनि कठिन हुनेछ । वेंगरको २२ वर्षे युगको अन्त्यपछि इमरेसँग आर्सनललाई ठूलो क्लबको सूचीमा कायमै राख्न सजिलो हुने छैन ।

twitter: @rghising

प्रकाशित : भाद्र १, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?