कलाकार जन्माउने शृंखला

हेलो शुक्रबार

काठमाडौँ — देशको लामो फिल्म शृंखलाका रूपमा मात्र होइन, ‘नाई नभन्नू ल’ कलाकार जन्माउने शृंखलाका रूपमा पनि परिचित छ । पाँचौं भागसम्म आइपुग्दा यसले हरेक साल कोही न कोही कलाकार जन्माउँदै आएको छ ।

कलाकार जन्माउने शृंखला

फिल्म लेखनमा सक्रिय रहँदारहँदै फिल्म ‘नसिब आफ्नो’ बाट निर्देशनमा डेब्यु गरेका विकासराज आचार्य फिल्म ‘नाई नभन्नू ल’ बाट दर्शकमाझ चिनिए । त्यसयता उनले ‘रिदम’ र ‘म तिम्रो भइसकें’ पनि निर्देशन गरे तर बाँकी फिल्मभन्दा आचार्य ‘नाई नभन्नू ल’ को निर्देशकका रूपमा बढी चिनिन्छन् । संयोग नै मान्नुपर्छ, नेपाली फिल्ममा पछिल्लो समयमा रुचाइएका बालकलाकार, नायक–नायिका, गायक विकासकै हिट सिक्वेल ‘नाई नभन्नू ल’ कै उत्पादन हुन् । आचार्य कलाकारलाई डेब्यु दिनेमा अग्रपंक्तिमा पर्छन् ।


आफ्ना हरेक फिल्मबाट कसै न कसैलाई मौका दिँदै आएका आचार्यले ‘नाई नभन्नू ल’ बाट नायिका ऋचा सिंह ठकुरीलाई ब्रेक दिएका थिए । गीतका कारण पनि चर्चामा रहेको उक्त फिल्मबाट ऋचाले लोभलाग्दो चर्चा पाएकी थिइन् । तर ‘म तिम्रो भइसकें’ पछि ऋचा आचार्य क्याम्पमा दोहोरिनन् । आचार्य क्याम्पबाट बाहिरिएपछि ऋचाले त्यो चर्चा पनि कायम राख्न सकिनन् । बिहे गरेर सेटल भएकी ऋचाले हालै ‘सुपर गोर्खे’ निर्माण गरेकी छन् ।


धेरै कलाकारलाई डेब्यु गराउनेमा ‘नाई नभन्नू ल २’ अग्रपंक्तिमा आउँछन् । यो फिल्मबाट अहिले चल्तीकी नायिका वर्षा सिवाकोटीले डेब्यु गरेकी थिइन् भने यही फिल्मबाट बालकलाकारका रूपमा सुज्ञानी भट्टराईले दर्शकको मन जितेकी थिइन् । यही फिल्मबाट प्रेम परियारले पाश्र्व गायनमा डेब्यु गरेका थिए । ‘रिदम’ बाट डेब्यु गरे पनि अनुभव रेग्मी यही फिल्मबाट बालकलाकारका रूपमा चिनिएका थिए ।


‘नाई नभन्नू ल’ को हरेक सिक्वेलमा अटाएका अनुभवले यो फिल्मबाट सफलता पाए पनि विकासको फिल्म बाहिर भने उनले ‘ए मेरो हजुर २’ बाट मात्र सफलताको स्वाद चाख्न पाए । तर सँगै आएकी सुज्ञानीले भने फिल्मी करिअरलाई निरन्तरता दिन सकिनन् । यही फिल्मबाट पाश्र्व गायनमा डेब्यु गरेका प्रेम परियारले फिल्ममा गाएको ‘मर्ने कसैलाई रहर हुँदैन’ र ‘यी आँखामा तिमी छौं’ बाट चिनिए । तर त्यसपछि भोकल कर्ड अचानक परिवर्तन भएपछि परियार हाल अध्ययनमा मात्र केन्द्रित छन् । फिल्मको तेस्रो सिक्वेलबाट बालकलाकार सफला भट्टराईले डेब्यु गरे पनि यो फिल्मपछि उनी अन्य फिल्ममा देखिएकी छैनन् ।


आचार्यको ‘नाई नभन्नू ल ४’ बाट डेब्यु गरेका वर्षा राउत, पल शाह र आँचल शर्मा फिल्मी अभिनयमा चाहिँ भाग्यमानी कलाकारका रूपमा चिनिए । म्युजिक भिडियोको मोडलिङमा हटकेक मानिएका पलले यो फिल्मबाट चर्चा पनि राम्रै पाए । यही फिल्ममार्फत नायिका आँचल शर्मासँग चिनजान गरेका पल र आँचलको जोडी अहिले चर्चामा आइरहन्छ । यो फिल्मपछि पलले ‘म यस्तो गीत गाउँछु’ मा अभिनय गरे जुन फिल्म बक्स अफिसमा हिट साबित भयो । यो फिल्म पछि आँचलसँग जोडी बनेर अभिनय गरेको फिल्म ‘जोनी जेन्टलमेन’ व्यावसायिक रूपमा असफल बन्यो । यो फिल्मपछि उनीहरू अभिनीत पछिल्लो फिल्म ‘शत्रु गते’ भने सुपरहिट भएको थियो । त्यसयता यो जोडी सँगै पर्दामा आएको छैन र दुवैले
सँगै नयाँ फिल्म गर्न लागेको पनि खबर छैन ।


‘नाई नभन्नू ल’ मै राम्रो अभिनय गरेकी वर्षा राउत धेरैको रोजाइकी नायिका हुन् । गाउँले होस् वा सहरिया दुवैखाले भूमिकामा वर्षा सुहाउँदी छिन् । उनले अभिनय गरेका ‘छक्का पञ्जा’, ‘छक्का पञ्जा २’, ‘जात्रा’ ले व्यावसायिक सफलता पाएपछि वर्षाले आफूलाई पहिलो दर्जाकी नायिकाका रूपमा अग्रपंक्तिमा उभ्याएकी छन् । ठूला–ठूला ब्यानरका फिल्ममा वर्षाले स्थान पाउँदै आएकी छन् ।


नयाँ कलाकार जन्माउने क्रमलाई निरन्तरता दिँदै आचार्यले पाँचौं शृंखलामा पनि तीन नयाँ अनुहारलाई भाग्य चम्काउने अवसर दिएका छन् । यही फिल्मबाट अभिषेक नेपालले डेब्यु गर्दैछन् भने यही फिल्ममा अनुभवको जोडीका रूपमा भित्रिएकी सेड्रिना शर्माले स्टारडमको बाटो समातिसकेकी छन् । फिल्म सार्वजनिक नहुँदै सेड्रिनालाई मन पराउने जमात् ठूलो छ । बीबीएका विद्यार्थी अभिषेकले फिल्ममा स्वस्तिमा खड्काको जोडी भएर अभिनय गर्दैछन् । कान्तिपुर फिल्म एकेडेमीमा पढिरहँदा निर्देशक विकास आचार्यको नजरमा परेका अभिषेकले अभिनयसँगै फिल्मका लागि आवश्यक अन्य कुराको पनि प्रशिक्षण लिएका छन् ।


त्यस्तै, पाँचौं शृंखलाबाट गायिकाका रूपमा समीक्षा अधिकारीले मौका पाएकी छन् । पोखरा छेउको एक स्कुलमा नाई नभन्नू ल कै गीत गाइरहेको अवस्थामा छायांकार पुरुषोत्तम प्रधान र मुख्य सहायक निर्देशक सुदीप कुँवरले देखेपछि दुवैले समीक्षालाई गीत गाउन लगाएर फेसबुकमा राखिदिएका थिए । फेसबुकमै समीक्षाको आवाज सुनेपछि संगीतकार वसन्त सापकोटा र विकास आचार्यले समीक्षाले पाँचौं शृंखलामा गीत गाउने अवसर दिएका थिए । उनले गाएको ‘बालापनको उमेर’ छोटो समयमै १८ लाख बढीले हेरिसकेका छन् ।

[email protected]

प्रकाशित : भाद्र ८, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?