२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

पंक प्रिन्सेसको पुनरागमन

क्यानडियन गायिका एभ्रिल लभिनले झन्डै पाँच वर्षपछि नयाँ एल्बम ल्याउन लागेकी छन् । तर, यसपटक उनी पुरानो ‘गर्लफ्रेन्ड...’ गीतजस्तो विद्रोही, ग्रन्ज–पप शैलीमा देखिनेवाली छैनन् ।
हेलो शुक्रबार

काठमाडौँ — एभ्रिल लभिन । सुरुमा त यो नामै ‘कम्प्लिकेटेड’ मानियो । कसैले लेभिगन भने, कोही लेभिग्ने, कोही लेभाग्नी भन्थे । शुद्ध उच्चारणको कुरा थियो, विस्तारै सबैले सिके पनि । तर, एभ्रिलको जीवन ‘कम्लिकेटेड’ बन्न छोडेन । उनी सधैं हल्लामा छाइन् । धेरै पटक झूटो मृत्युको समाचार फैलियो ।

पंक प्रिन्सेसको पुनरागमन

उनले गाउन छोड्यो कि मृत्यु भएको बताइन्थ्यो । हुँदा–हुँदा नयाँ भिडियो बाहिरिँदासमेत त्यो असली एभ्रिल नभएर उनकै उस्तै अनुहारले गाएको भनियो । सक्कलीलाई नै नक्कली एभ्रिल भन्दै हल्ला फिँजाइयो । उनको ‘मृत्यु’ का कारण अनेक मानिए । एचआईभी एड्सदेखि अन्य जटिल रोगले निधन भएको बताइयो । तर, उनी सधैं सकुशल थिइन् ।


झूटलाई सयौं पटक दोहोर्‍याए सत्य बन्छ भनेझैं भयो एभ्रिलको जीवनमा । सन् २०१५ मा उनलाई साँच्चै रोग लाग्यो । किर्नोबाट सर्ने लाइम रोगका कारण उनी दुई वर्षयता पर्दापछाडि रहिन् । ज्वरो आउने, जीउमा रातो धब्बा देखिने, थकान जस्ता समस्या झेलिन् । सरुवा रोग नभए पनि उनी सार्वजनिक स्थलमा आइनन् ।


बेलाबखत ट्वीटरमार्फत आफ्ना प्रशंसकलाई भेट दिने गरेकी थिइन् । यो साता भने ‘सरप्राइज’ दिइन् । नयाँ म्युजिक भिडियो ल्याउन लागेको खबर सार्वजनिक गरेपछि एभ्रिलका पंक–पप प्रशंसक खुसी नहुने कुरा थिएन । झन्डै पाँच वर्षपछि उनको स्वर गुन्जिन लागेको छ । तर, यसपटक उनी पुरानो ‘गर्लफ्रेन्ड...’ गीतजस्तो विद्रोही, ग्रन्ज–पप शैलीमा देखिनेवाली छैनन् ।


यी क्यानडेली पंक प्रिन्सेसले आफूलाई पहिलो पटक भावप्रधान गीतमा उतार्दैछिन् । सेप्टेम्बरमा निकाल्ने भनिएको छैटौं स्टुडियो एल्बम पियानो–प्रमुख हुनेछ । यसमा पियानोको धुनलाई बढी समावेश गर्न लागिएको बताइन्छ । ‘म आफ्ना गीतमा वास्तविकता र इमानदारी प्रस्तुत गर्न खोज्छु,’ उनले अमेरिकाको ई–न्युजसँग भनेकी छन्, ‘पछिल्लो दुई वर्षमा धेरैथोकबाट गुज्रिएँ, पाठ सिकेकी छु । यो एल्बम अवश्य फरक हुनेछ ।’


एभ्रिलको सांगीतिक सुरुवात दमदार थियो । सन् २००२ मा निकालेको पहिलो म्युजिक भिडियो (‘कम्प्लिकेटेड...’) नै विश्वव्यापी चर्चित बन्यो । कसले गाएन होला यो गीत ? कुन युवा प्रभावित भएन होला उनको शैलीबाट ? गाउने तरिका, लवाइ, ठाँट, स्वर, भिडियो सबै ट्रेन्डसेटर बने । यसलाई पछ्याउने कति निस्किए, निस्किए ।


नेपालमा पनि एभ्रिलको प्रभाव प्रत्यक्ष देखिएको थियो । सहरिया युवायुवती लवाइ र लुक्समा उनको नक्कल गर्थे । ब्यागी प्यान्ट, कालो ब्रासलेट, स्ट्रेट कपाल केटीहरूले अपनाए । स्केटिङ र गितार केटाहरूको रोजाइ बन्यो । सुबु थापा जस्ता गायिकाले नेपाली भर्सनको ‘कम्प्लिकेटेड..’ नै निकाल्न भ्याए । उता, सत्र वर्षीया एभ्रिल अवार्डहरू जित्दै थिइन् ।
ग्रामीमा दुइटामा विधामा मनोनीत भएकी थिइन् । एमटीभी म्युजिक भिडियो अवार्ड हात पारिन् । सन् २००९ मा द रोलिङ स्टोन म्यागजिनले ‘कम्प्लिकेटेड...’ लाई दशककै दस ‘टप सिंगल’ मध्ये एक मान्यो । त्यो बेला प्रचलित टिन–डिस्को गीतहरूबाट आजित युवा श्रोतालाई एभ्रिल नयाँ शैलीका रूपमा उदाएकी थिइन् । भिडियोमा देखिने उनको सन्की स्वाङ धेरैले प्रिय माने ।


लभिन दम्पतीकी माइली छोरी एभ्रिल सानैदेखि गाउँथिन् । चर्चमा गाउँदै हुर्किएकी हुन् । धर्ममा जोडिएकाले गीतमा त्यसको प्रतिबिम्ब आउने उनको भनाइ छ । ‘मेरा मूल नीतिहरूमा धार्मिक परिवारको प्रभाव छ,’ ३३ वर्षीया एभ्रिल भन्छिन्, ‘मेरी आमाले शब्द चयनमा ध्यान दिन सिकाउनुभयो । राम्रै सुनिए पनि म कतिपय शब्द प्रयोग गर्दिनँ । अपशब्द राख्न मनले मान्दैन ।’

[email protected]

प्रकाशित : भाद्र ८, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?