ब्लाइन्ड रक्स

काठमाडौँ — आँखाको दृष्टि गुमाएर जीवनलाई नयाँ तरिकाले बुझ्ने अवसर पाएको अनुभव भइरहेको छ । जीवनको सपना देख्ने उमेरमै आँखा गुमाइन् । चिकित्सकको गल्तीले संसारलाई हेर्नबाट वञ्चित भए पनि आफ्नो हौसलालाई भने मर्न दिइनन् । अहिले यिनै सृष्टि केसी दृष्टिविहीन युवायुवतीहरूको प्रेरणा बनेकी छिन् । उनी देश–विदेश पुगेर एउटै सन्देश दिने गर्छिन्– ब्लाइन्ड रक्स ।

ब्लाइन्ड रक्स

काठमाडौंकी सृष्टि केसीले आफ्नो आँखा चिलाउने भएपछि चिकित्सकको सल्लाहमा औषधि प्रयोग गरेकी थिइन् तर औषधि लामो समय प्रयोग गरेपछि उनले १६ वर्षको उमेरमै आँखाको ज्योति गुमाउन पुगिन् । उनले त्यतिबेला आँखाको ज्योति मात्र गुमाइनन् कि टिनएजमा एक सामान्य सुन्दर युवतीले खुला आँखाले हेर्ने सपनासमेत गुमाइन् । ‘केही दिनअघिसम्म आँखा देखिरहेको एक युवतीले आँखा गुमाउँदा कस्तो महसुस हुन्छ तपाईं आफंै कल्पना गर्न सक्नुहुन्छ,’ एक कार्यक्रममा अस्ट्रेलिया आइपुगेकी उनले भनिन् । तैपनि उनी दृष्टिविहीनहरूले सामान्यसरहभन्दा जीवनमा धेरै रमाइलो गर्न सकिन्छ भन्ने अभियान चलाइरहेकी छन् ।


अचानक आँखाको ज्योति गुमाएपछि केही समय हतास र निराश भए पनि उनले आफ्नो मनस्थितिलाई परिवर्तन गरिनन् । बरु आफूलाई अर्कै माध्यमबाट संसार नियाल्ने मौका आएको निक्र्याेलमा पुगिन् । ‘वास्तवमा कुनै पनि परिस्थितिबिना हामी दौडन नसक्ने रहेछौं,’ उनी भन्छिन्, ‘मलाई त आँखाको दृष्टि गुमाएर जीवनलाई नयाँ तरिकाले बुझ्ने अवसर पाएको अनुभव भइरहेको छ ।’


उनले सबैभन्दा धेरै सुन्नुपरेको शब्द हो– विचरा । उनी सोध्ने गर्छिन्, ‘आँखा गुमेर कुनै व्यक्ति अन्धो हुनेबित्तिकै विचरा हुन्छ र ?’ उनको अनुभवमा शारीरिक रूपले पूर्ण सक्षम नभएकालाई यो संसारले त्योभन्दा धेरै अपांग बनाइदिन्छ । ‘समाजको सोच नै परिवर्तन हुन आवश्यक छ किनकि आँखा नदेख्दैमा कोही बेसहारा, विचरा हँुदैनन् भन्ने बुझ्न जरुरी छ,’ उनले भनिन्, ‘समाजले नकारात्मक प्रतिक्रिया गर्न छाडेर उनीहरू पनि सामान्य व्यक्तिसरह नै संघर्ष गर्न, जीवन बिताउन सक्छन् भनेर बुझिदिनुपर्‍यो ।’


उनले दृष्टिविहीन भएपछि विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा बीस वटा देशको यात्रा गरिसकेको बताइन् । उनले दृष्टिविहीनहरूलाई ऊर्जा दिन संस्था नै बनाएकी छिन्– ब्लाइन्ड रक्स । यस संस्थाले चार वर्षयता दृष्टिविहीनका लागि विभिन्न किसिमका तालिम र उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । राष्ट्रिय युवा पुरस्कारलगायत थुप्रै अवार्ड उनले हात पारेकी छन् । नेपालमा क्षमतावान दृष्टिविहीनहरू भएर पनि उनीहरूलाई विश्वास नगरेर समाजले अगाडि बढ्ने अवसर नदिएको उनको ठहर छ । उनले देश–विदेशको अनुभवलाई नेपालका दृष्टिविहीनहरूलाई आत्मविश्वासी बन्न सहयोग गरिरहेकी छन् ।


‘म आँखा मात्र देख्न नसक्ने हो, मलाई पनि अरूलाई जस्तै महसुस हुन्छ । नजिक हुन मन लाग्छ । माया गर्न मन लाग्छ,’ सृष्टिले प्रेमप्रति आफ्नो धारणा राखिन्, ‘अहिले माया–प्रेमभन्दा पनि दृष्टिविहीनहरूको आत्मविश्वास बढाउने सहयोगी काममा केन्द्रित हुन चाहन्छु ।’
– नारायण खड्का

प्रकाशित : भाद्र ८, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?