रोजिताको अर्को पाटो- सर्वोच्च शिखरदेखि अाकाशगंगाकाे तारासम्म

महिला पत्रकारको समूहमा यसैपालि सगरमाथा आरोहण गरेको दलकी सदस्य हुन्, रोजिता बुद्धाचार्य । सफल आरोहणसँगै उनको खुबै चर्चा भयो । तर, उनको अध्ययन र लगनको क्षेत्र भने फरक छ ।
प्रदीप मेन्याङ्बो

काठमाडौँ — पछिल्लो सिजन सगरमाथामा पाइला टेकेयता रोजिता बुद्धाचार्य चर्चामा आइन् । विश्वकै सर्वोच्च शिखरको सफल आरोहण मात्रै उनको चर्चाको विषय होइन । उनी एफएम, रेडियोमा कार्यक्रम प्रस्तोता, रंगकर्मी पनि हुन् । उनको अध्ययनको विषय भने फरक छ । अमृत साइन्स क्याम्पसबाट भौतिकशास्त्रमा स्नातकोत्तर गरेकी उनी आकाशगंगा (ग्यालेक्सी) भित्रको ताराहरूको अध्ययन गर्छिन् ।

सधैं भीडभाड हुने असननिरकै बाङ्गेमुढामा जन्मेकी २५ वर्षीया उनको रुचि खगोल भौतिकशास्त्र हो र यसैअन्तर्गत आकाशगंगाभित्रका ताराहरूको अध्ययन गर्छिन् ।


उनले ओरायन तारामण्डलको एउटा तारा विटलज्यूजको आयु सकिँदै जाँदा देखिने प्रकाशको परिवर्तनबारे अमेरिकाको स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युटबाट अध्ययन गरिन् । पोल्यान्डको निकोलस कोपर्निकस एस्ट्रोनोमिक सेन्टर अफ पोलिस एकेडेमी अफ साइन्सेजबाट आकाशगंगा आईसी १४८१ को गति र यसको फैलावट, इटालीको भ्याटिकन अब्जर्भेटरीबाट सिग्नस तारामण्डलको ब्लाक होल सिग्नस एक्स ३ को प्रणाली, मिल्की वे भित्र रहेको एम ४ तारापुञ्जको उमेर र सौर्यमण्डलबीचको दूरी पनि मापन गरिन् ।

Yamaha


‘म अढाई वर्षको हुँदा आमा बित्नुभयो । तर उहाँको अनुहार याद छैन । आमाको एउटा फोटो छ तर त्यसमा आमाको अनुहार भाइको हातले छेकिएको छ,’ आफ्नो रुचिबारे उनले भनिन्, ‘त्यसैले आमा कस्ती हुनुहुन्थ्यो भन्ने मनमा सधैं कौतुहलता जाग्थ्यो । आमाको अनुहार मैले प्रस्ट नदेखेकाले नै मेरो मनमा खगोल र अन्तरिक्ष सपना आएको हो ।’ उनी हजुरबासँग हुर्किइन् । उनले धेरैपल्ट हजुरबालाई आमाको अनुहारबारे सोधेकी थिइन् । ‘एक दिन हजुरबाले पूर्णिमाको बेला चन्द्रमालाई देखाएर आमाको अनुहार हेर्नका लागि त्यहाँ (चन्द्रमा) जानुपर्ने भन्नुभयो । त्यसपछि चन्द्रमामा पुग्न एउटा घरबाट अर्को घर हुँदै अग्ला–अग्ला पहाड पुग्ने र ती पहाडबाट झन् अग्ला हिमाल पुग्ने अनि आमालाई भेट्न चन्द्रमामा सिधै जम्प गर्ने सपना देख्न थालें,’ उनले बताइन् । सगरमाथाको चुचुरोमा पुग्दा उनलाई नदेखेको आमाको अनुहार देखेजस्तो लागेको थियो ।


अलि बढ्दै जाँदा उनलाई चन्द्रमामा पुग्नका लागि विज्ञान पढ्नुपर्ने रहेछ भन्ने लाग्यो । त्यसका लागि खगोलशास्त्रको अध्ययन र अन्तरिक्षयात्री बन्नुपर्ने आवश्यकता बुझिन् । स्कुलमा वक्तृत्वकला, निबन्ध लेखन, वादविवाद प्रतियोगिता, हाजिरी जवाफमा नियमित सफलता पाएकी उनी ५ कक्षामा छँदै बाल पत्रकार भएकी थिइन्, भित्ते पत्रिका निकालेकी थिइन् । रेडियो नाटक बनाइन् । एसएलसी सकेर आरजे, भीजे भइन् । तर, विज्ञान पढ्ने भएपछि ती गतिविधि बन्द भयो । १२ कक्षापछि एफएममा न्ह्यस: लिस: कासा (प्रश्नोत्तर खेल), गुड मर्निङ काठमाडौं, अफिस आवर, हार्ट विट, सटर्डे फनलगायत कार्यक्रमको प्रस्तोता भइन् । समाचार वाचन पनि गरिन् ।


कक्षा १२ मा राम्रो गरेपछि उनलाई चिकित्सा वा इन्जिनियरिङ पढ्न सुझाइएको थियो । तर, उनले भौतिकशास्त्र रोजिन् । बीपी कोइराला स्मृति प्लानेटेरियम, अब्जर्भेटरी र विज्ञान संग्रहालय विकास समितिले ०६७ सालमा स्कुल अन एस्ट्रोनोमी, एस्ट्रोफिजिक्स एन्ड स्पेस साइन्समा १० दिने कार्यक्रम आयोजना गरेको थियो । स्नातक दोस्रो वर्षमा छँदै उनी त्यसमा सहभागी भइन् । उनले खोजेको र चाहेको विषय त्यही थियो । ‘मैले त्यही कार्यक्रममा पहिलो पटक टेलिस्कोपबाट चन्द्रमा, शनि र बृहस्पतिलाई नियाल्ने मौका पाएँ । र, मेरो अध्ययनको विषय पनि मोडियो । पत्रकारिता विज्ञानमा, अध्ययन भौतिक खगोलशास्त्रमा र काम बीपी कोइराला मेमोरियल प्लानेटेरियम अब्जर्भेटरी र विज्ञान संग्रहालयमा थालें ।’

भ्याटिकन यात्रा
उनले भ्याटिकन अब्जर्भेटरी, इटालीमा ब्राजिल, कोलम्बिया र अमेरिकी चार साथीको समूहमा मिलेर सौर्यमण्डलभन्दा लाखौं प्रकाश वर्ष टाढाको एम ४ तारापुञ्ज र सौर्यमण्डलबीचको दूरीको मापन गरेकी हुन् । उनीहरूले प्राध्यापक ज्यूजपे बोनोको निगरानीमा काम गरेका थिए । सगरमाथा आरोहणपछि काठमाडौं फर्केको भोलिपल्टै भ्याटिकन पुगेर उनी जुन २ देखि जुलाई २ सम्म १८ मुलुकका २४ युवा वैज्ञानिक सम्मेलनमा सहभागी भएकी थिइन् । उनीहरूले ग्यालेक्सीमा चम्किरहेका ताराहरूको जन्म, युवा अवस्था, वृद्धा अवस्था, मृत्यु हुने प्रक्रियाबारे अध्ययन, विश्लेषण गरेका थिए । रोजिताको समूहलाई अन्तरिक्षमा रहेको एम ४ तारापुञ्जको उमेर मापन गर्न लगाइएको थियो । उनीहरूको समूहले निकालेको तारापुञ्जको उमेर लगभग १२ अर्ब २० करोड वर्षलाई जर्नलमा राख्न योग्य भन्दै वैज्ञानिकहरूले तारिफ गरेका थिए ।


अन्तरिक्षमा नासा र इसालगायतले संयुक्त रूपमा स्थापित गरेको हवल स्पेस टेलिस्कोप सर्भिस मिसनका अन्तरिक्ष यात्री तथा एस्ट्रोफिजिक्सको प्राध्यापक क्लाउडी निकोलायरको अनुभव सुन्ने मौका उनले पाएकी थिइन् । त्यस अवसरमा उनले आफ्नो सगरमाथा यात्रा, शेर्पा, देश, बुद्ध र गोर्खा सिपाहीबारे पनि बताएकी थिइन् । उनले भ्याटिकनमा युरोपियन साउदर्न अब्जर्भेटरीका खगोल वैज्ञानिकहरू प्राध्यापक मरिना, फर्नान्डो, चिलिका दान्ते मिनिती, अमेरिकाबाट प्राध्यापक दाना, भ्याटिकन अब्जर्भेटरी, जापान, स्पेन, रोमका वैज्ञानिकहरूबाट खगोल विद्यासम्बन्धी धेरै ज्ञान सिक्ने अवसर पाएको बताइन् ।


फिजिक्समा स्नातकोत्तर गर्दा उनले सोधपत्र ओरायन तारामण्डलमा पर्ने विटलज्यूज ताराको अध्ययन गरिन् । प्राध्यापक डा. उदयराज खनाल, सहप्राध्यापक प्रेम ढुंगेल र वेधशाला व्यवस्थापक सरोजराज शाहीको निगरानीमा विटलज्यूज तारालाई नगरकोटको वेधशालाबाट टेलिस्कोपमार्फत फोटो खिचेर टेलिस्कोपसम्म आउने प्रकाशको तथ्यांक एक वर्ष लगाएर संकलन गरेकी थिइन् । पुन: पुष्टि पनि गरिन् ।


उनले ब्रह्माण्डमा ग्रहको संख्याबारे पनि अनुसन्धान गरिन् । खगोलशास्त्रको पहिलो अनुसन्धानबाट प्रभावित भएर उनलाई काठमाडौं एस्ट्रोफिजिक्स स्कुलमा सहभागी मेलबोर्नका खगोलविद् मिकेला ट्रेन्टी, डा. केन केनयन, जर्मन डा. नोरा लुत्जेन्डर्फ, पोल्यान्डका प्रा. आन्द्रे जियास्र्कीले ‘डिनर’ को निमन्त्रणा दिएका थिए । उनीहरूले कुराकानीपछि रोजितालाई आफ्नो ज्ञान र क्षमता खेर नफाल्न सुझाएका थिए । उनलाई सगरमाथा आरोहणमा पनि ती वैज्ञानिकहरूले सहयोग गरे ।

त्यो आँसु
पोल्यान्डको राजधानी वार्सामा सन् २०१७ को अगस्त–सेप्टेम्बरमा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुँदा रोजिताले लाखौं प्रकाश वर्ष टाढाको तारा मण्डलको ब्ल्याकहोल सिग्नस एक्स ३ को प्रणालीको अध्ययन गरिन् । उनलाई लाइट कर्भको विश्लेषण गर्नका लागि प्राध्यापक आन्द्रे जियास्र्की र उपप्राध्यापक बार्बराले गाइड गरेका थिए ।
‘प्रसिद्ध वैज्ञानिक आन्द्रेले तुरुन्त आउ भनेपछि म वार्सा पुगेकी थिए । त्यसबेलासम्म हिसाब मात्रै गर्नुपर्ने सोचेकी थिएँ तर त्यो विद्यावारिधिले गर्ने शोधार्थी थियो,’ रोजिताले भनिन्, ‘कम्तीमा तीन दिन लाग्ने भन्दै मलाई एउटा प्रोजेक्ट दिए । नसके अर्को प्रोजेक्ट गर्न पनि सुझाए । मैले त्यही आँटें । तर, कोडिङ नमिल्दा खगोल विज्ञानका लागि अयोग्य भए भनेर रोए ।’ आन्द्रेले सम्झाएपछि उनी फेरि त्यो प्रोजेक्टमा लागिन् । ‘विवेक पुर्‍याएर गरेको तीन घण्टामै काम पूरा गरें,’ उनले भनिन्, ‘आन्द्रे ट्वाँ पर्नुभयो । अनि मलाई लाग्यो हिसाब मिलेन । रिसाएर तुरुन्तै नेपाल फर्काउने डर लाग्यो । तर, उहाँले धाप मारेर स्याबासी दिनुभयो । एकदमै खुसी लाग्यो ।’ उनलाई वैज्ञानिक र पीएचडी शोधार्थीको सम्मेलनमा आन्द्रेले त्यहाँ ‘प्रोमिनेन्ट साइन्टिस्ट’ भनेर चिनाएका थिए । अर्थात् नामको होइन, कामको वैज्ञानिक ।

नासाको कार्ड
अमेरिकाको बाल्टीमोरमा सन २०१७ को जुनदेखि अगस्टसम्म स्पेश टेलिस्कोप साइन्स इन्स्टिच्युटले आयोजना गरेको स्पेस एस्ट्रोनोमी समर प्रोगाममा विश्वका ५ सय बढीले आवेदन दिएका थिए । त्यसबाट छनोटमा भएका १३ जनमा उनी परिन् ।


‘यो संस्थामा काम गर्ने खगोल वैज्ञानिक मात्रै आठ सय रहेछन् । नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) को लागि काम गर्ने स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युटले हवल स्पेस टेलिस्कोपको तथ्यांक संग्रह गर्ने रहेछ । हवलको सेकेन्ड जेनेरेसन जेम्स वेब स्पेस टेलिस्कोपको अप्रेसन सेन्टरका रूपमा यो विकसित भएको छ । सन् २०२० मा यो टेलिस्कोप प्रक्षेपण हुँदैछ । टेलिस्कोप र तथ्यांक संग्रहबारे प्रत्यक्ष हेर्ने, सिक्ने मौका पाएँ ।’ उनले बाल्टीमोरमा भएको विज्ञान मेलामा नासाको टिसर्ट, आईडी कार्ड लगाएर स्पेस टेलिस्कोप साइन्सका तर्फबाट सर्वसाधारणले सोधेको जिज्ञासा मेट्न पाउँदा खुसी लागेको बताइन् ।


नेपालको विज्ञान प्रविधिको अवस्था सम्झिएर गाह्रो मान्ने उनको आफ्नै योजना छ, ‘एस्ट्रोफिजिक्समा पीएचडी गर्ने । अवसर पाए अन्तरिक्ष यात्री, वैज्ञानिक बन्ने धोको पनि छ । पहिले मंगल ग्रहप्रति चासो राखेकी उनी त्योभन्दा परको तारामण्डलको अनुसन्धान गर्न चाहन्छिन् । उनी अब सगरमाथाभन्दा माथिको उडान भर्न चाहन्छिन् ।

pdpmdharan@gmail.com

प्रकाशित : भाद्र ८, २०७५ ०९:५५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चिहानघारीमा वडा र प्रहरी कार्यालय

प्रदीप मेन्याङ्बो

सुनसरी — कोठा भाडा महँगो । व्यस्त चोक बजारमा सार्वजनिक जग्गा अभाव । यस्तो अवस्थामा धरान उपमहानगरपालिका–१७ को वडा समिति कार्यालयको आर्थिक भार कम गर्न चिहानघारी छनौट गरिएको छ ।

उदय सामुदायिक वन उपभोक्ता समिति मातहत रहेको चिहानघारी जग्गामा वडा समितिको कार्यालय र प्रहरी चौकीको स्थापना गरिएको छन् भन्दा अनौठो नमाने हुन्छ । भवन निर्माण गर्नका लागि अलग्गै जग्गा अभाव भएपछि स्थानीय बासिन्दा र वन उपभोक्ता समितिको सहमतिमा चिहानका बीचमा वडा कार्यालय र प्रहरी चौकी स्थापना गरेको वडाध्यक्ष मनोज भट्टराईले बताए ।


उनले भने, ‘धरानमा जग्गा महंँगो छ । रेल्वेचोकका घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गर्दा आर्थिक भार थेग्न नसकिने भएकाले चिहानका बीचमा कार्यालय स्थापना गरेको हो ।’


उनका अनुसार स्थानीय तहको निर्वाचनपछि सामुदायिक वन उपभोक्ता समितिले उपलव्ध जग्गामा स्थानीय समुदायको सहयोगमा भवन निर्माण गरिएको हो । वडा कार्यालयमा काम गर्ने कर्मचारी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवाग्राहीको काम गर्दै बस्छन् । तर प्रहरी चौकीका प्रहरीहरू भने चिहानै चिहानमाथि निर्मित भवनमै बस्छन् ।


वडाध्यक्ष भट्टराईले ठट्टा गर्दै भने, हामी आफ्ना पुर्खाहरूसँगै बसेर काम गर्न पाउँदा गौरव महसुस गर्छौं । कार्यालय सँगैका चिहानहरू यसै वडाबासीका हुन् । मरेका मान्छेसँग किन डराउने ? डर त जिउँदा मान्छेसँग लाग्छ । जिउँदा मान्छेले त मौका पाउना साथ नउठ्ने गरी थचार्छन् ।’


धरानका २० वटा वडा कार्यालयहरूमध्ये अधिकांश मुख्य चोकमा छन् । प्राय: सवै वडा कार्यालयहरू स्थानीय समुदायले निर्माण गरेका छन् । धरान–१७ का पूर्ववडाध्यक्ष समेत रहेका नगर कार्यपालिका सदस्य सुवास राईले भने, ‘मेरो पालामा कोठा भाडामा लिएर वडा कार्यालय सञ्चालन गरिएको थियो । स्थानीय तहको निर्वाचनपछि चिहानघारीमा भवन निर्माण गरियो तर त्यो पनि साँघुरो हुन थालेको छ । सवै कर्मचारीलाई अटाउन सकिएको छैन । सँगैको अर्को कोठामा प्रहरी चौकी छ । प्रहरीहरू पनि साँघुरो कोठामा छन् ।’


उनले यसै वर्ष उक्त वडा कार्यालयको भवन प्रहरी चौकीलाई जिम्मा दिएर चिहानघारी नै भए पनि नजिकै रहेको खाली जग्गामा नयाँ वडा कार्यालय बनाउने योजना रहेको बताए । भएको चिहान नभत्काई भवन निर्माण गर्ने तयारी भइरहेको राईले बताए । उनले भने, ‘जहाँ जसरी सहज हुन्छ त्यही वडा कार्यालय सञ्चालन गरेर स्थानीय बासिन्दा र सेवाग्राहीलाई सेवा दिनु जनप्रतिनिधि र कर्मचारीको मुख्य उद्देश्य हो । चिहानघारी समस्या होइन ।’

प्रकाशित : भाद्र ६, २०७५ १२:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT