२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

चासो नयाँ परिकारमा

जति चिनियाँ परिकार उपलब्ध छन्, हाम्रो रेस्टुराँमा, ती कतै लामो समयदेखि एकैखाले त भएनन् ? कहीं कतै जाँदा खालि दोहोरिएर मात्र ती परिकार पस्कने मात्र त भएको छैन ?
हिमेश

काठमाडौँ — चिनियाँ परिकार विश्वमै लोकप्रिय छन् । हामी मात्र किन अपवाद हुन सक्छौं र ? हाम्रोमा पनि उत्तिकै लोकप्रिय छन्, चिनियाँ परिकार । यसमै मात्र केन्द्रित रहेर खुलेका रेस्टुरेन्ट धेरै छन् । यसमध्ये केहीले दाबी गर्छन्, हामी आधिकारिक चिनियाँ परिकार पस्कने गर्छौं । धेरैले यस्तो गर्न सक्दैनन् ।

चासो नयाँ परिकारमा

केहीले के पनि दाबी गर्छन् भने हामी केही परिवर्तन गरिएका चिनियाँ परिकार प्रस्तुत गर्छौं । धेरैले यसका लागि ‘फ्युजन’ शब्द प्रयोग गर्ने गरेका छन् ।


यो त प्रवृत्ति भए, एउटा तथ्य के निश्चित छ भने हाम्रोमा पनि खुबै लोकप्रिय छन्, चिनियाँ विशिष्ट परिकार । अब अर्को प्रसंग, हाम्रोमा जति चिनियाँ परिकार उपलब्ध छन्, हाम्रो रेस्टुराँमा, ती कतै लामो समयदेखि एकैखाले त भएनन् ? कहीं कतै जाँदा खालि दोहोरिएर मात्र ती परिकार पस्कने मात्र त भएको छैन ? जति रेस्टुराँ छन्, सबैमा खालि एकैखाले परिकार मात्र मेनुमा देखिने प्रवृत्ति त भइरहेको छैन ? ‘हो, यस्तै भइरहेको छ,’ सेफ धन लिम्बू भन्छन् ।


उनी हुन्, सोल्टी होटलको चिनियाँ रेस्टुराँ बाओ स्वानका चिफ सेफ । उनकै अनुभवमा, ‘हाम्रा जति पनि नियमित ग्राहक छन्, ती सबैको एउटै भनाइ रहेका छन्, खाना त सधैं उही मात्र भए, केही नयाँ गरौं न । केही नयाँ परिकार पनि पस्कने काम गरौं न ।’ सेफ धनको अनुभवमा यस्तो त हो पनि । फेरि चिनियाँ परिकारमा कति धेरै विविधता छ भने यसको गणना गरेर पनि साध्य हुन्न । ती सबैलाई हाम्रोमा छ भनेर दाबी गर्ने त परको कुरा ।


तर नेपाली माझ पनि चिनियाँ खानाको नयाँ परिकारमा चासो बढेको छ । धन सोल्टीमा आबद्ध भएको दुई वर्षयता मात्र हो, उनले यसअघि लामो समय भारतमा बिताए अनि अरू विदेशी सहरमा । विदेशतिर पनि चिनियाँ खानाको नयाँ परिकार खोज्ने प्रवृत्ति पाइन्छ । त्यसैले माथिल्लो दर्जाका रेस्टुराँले आफूमा विविधता थप्न प्राय: रुचि नै देखाउने गर्छन् । बाओ स्वानमा केही दिनयता यस्तै प्रयास गरेको छ, ‘स्पाइसी बाइट प्रमोसन’ ले ।


स्पाइसी बाइटभन्दा त्यसको हाम्रोमा भाषा रूपान्तर हुन्छ, मसलादार । अनि यससँगै केही केही पिरो, केही–केही गुलियो स्वाद पनि । धनले लामो मिहिनेतपछि छोटै समयका लागि भने पनि रेस्टुराँको मेनुमा थपेका छन्, ‘चिकेन ड्रम्स अफ हेभन,’ ‘सिचुआन पेपर कर्न क्रिस्पी ल्याम्ब’, ‘प्यान फ्राइड स्पाइसी चिकेन डम्पलिङ’, अनि वक ब्याक्ड जम्बो प्राउन हुनान चिली सस’ आदि आदि । यी त भए, नन–भेज आइटम । यस्तै–यस्तै प्रवृत्तिका शाकाहारी आइटम पनि नरहेको होइन ।


यहाँनिर के पनि उल्लेख गर्नै पर्छ भने हाम्रोमा जति पनि चिनियाँ परिकार उपलब्ध छन्, ती धेरैभन्दा धेरै सिचुआन नै हुन् । यो त विदेशतिरको प्रवृत्ति पनि हो, फेरि सिचुआनले दिने खानाको स्वाद हाम्रो जिब्रोलाई मिल्ने खालको पनि छ ।


भनिन्छ, चिनियाँ परिकारलाई मुख्य रूपमै आठ प्रकारले विभाजन गर्न सकिन्छ । यसलाई अझ थप सहायक प्रकारमा विभाजन गर्न सकिन्छ । यति भण्डार छ, चिनियाँ खानामा । ‘कम्तीमा हामी चिनियाँ खानाको नयाँ–नयाँ परिकार पस्कने प्रयास गर्छौं,’ सोल्टीकी एक्ज्युकेटिभ मार्केटिङ म्यानेजर पूजा शाह भन्छिन् ।

twitter : @himeshratna

प्रकाशित : भाद्र १५, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?