अक्षयको नयाँ फर्मूला

एक्सन र कमेडी भूमिकामा सीमित अक्षय कुमार सार्थक सिनेमामा देखिन थालेका छन् । यसको पछिल्लो उदाहरण हो ‘गोल्ड’ ।
पहिले एक्सन, कमेडी र रोमान्टिक रोल मात्र गरें । अहिलेचाहिँ हरेक फिल्ममा फरक काम गर्न रूचाउँछु, जुन समाजसँग जोडिएको होस् ।
हेलो शुक्रबार

काठमाडौँ — एउटा जमाना थियो, अक्षयकुमार सिर्फ एक्सन र कमेडी फिल्म खेल्थे, त्यो पनि मसलाले भरिपूर्ण । ‘तीस मार खान’, ‘सिंह इज ब्लिङ’, ‘राउडी राठोर’, ‘जोकर’, ‘बोस’, ‘गब्बर इज ब्याक’ कत्ति हो, कत्ति । वर्षमा चार–पाँच फिल्म आउँथे, सबै उस्तै लाग्ने । त्यसैले उनीमाथि व्यंग्य गर्न थालिएको थियो, अक्षयकुमार अभिनेता कम, मेसिन ज्यादा हुन् । भलै कसले के भन्छ, वास्तै थिएन उनलाई । होलसेलमा फिल्म खेलिरहेका थिए ।

अक्षयको नयाँ फर्मूला

तर दुई वर्षयताका अक्षयका फिल्म हेर्नुस् ? आकाश–पातालको अन्तर छ । कोरा मनोरञ्जन होइन, गहन सन्देश बोकेका फिल्म खेलिरहेका छन् उनी । यथार्थपरक सामाजिक मुद्दाबाट पर नभागेका अर्थात् अर्थपूर्ण फिल्म उनको रोजाइमा पर्न थालेको छ । त्यसैले त हिजो ‘मेसिन’ भनेर उडाउने मिडिया अहिले उनकै वाहवाही गरिरहेका छन् । ‘एयरलिफ्ट’ बाट सुरु भएको यो सुखद यात्रा ‘गोल्ड’ सम्म आइपुगेको छ । जसले अक्षय मात्र होइन, मूलधारका हिन्दी फिल्मकै साख उकासेको छ ।
‘गोल्ड’ कै कुरा गरौं । बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि सन् १९४८ को ग्रीष्मकालीन ओलम्पिकमा भारतले पहिलोपटक हक्कीमा स्वर्णपदक जितेको कथा हो यो । अक्षयचाहिँ राष्ट्रिय हक्की टिमको व्यवस्थापक बनेका छन् । देशलाई स्वर्णपदक जिताउन एकोहोरो लागिपर्ने उनको चरित्र परम्परागत ‘हिरोइज्म’ को धङधङीबाट मुक्त छ । भारतमा निश्चित आवधिक, त्यसमा पनि खेलमाथि बनेका फिल्म फ्लप हुन्छन् भन्ने मान्यता छ । विगतमा अक्सर त्यस्तै भएको छ । तर ‘गोल्ड’ ले त्यो भ्रम तोड्यो । पैसा कमायो, प्रशंसा पनि । निर्देशक रीमा काग्तीपछि यो सफलताको जस कसैले पाउँछ भने अक्षयले नै हो । ‘गोल्ड’ मात्र होइन, प्राय: फिल्ममा उनी देशप्रेमले ओतप्रोत भूमिकामा देखिन थालेका छन् ।


अक्षयको छवि निर्माणमा सशक्त भूमिका खेलेको अर्को फिल्म हो, ‘प्याडम्यान’ । स्यानिटरी प्याड प्रयोग नगर्दा महिलाहरू अनेक रोगबाट प्रताडित छन् । तमिलनाडुका अरुणाञ्चलममा मुरुगन्थमले घरेलु विधिबाट प्याड बनाए र सस्तोमा बेचे, जसबाट लाखौं महिला स्वस्थ भए । ‘प्याडम्यान’ मा अक्षय यही पुण्यकर्ममार्फत संसारभर ख्याति कमाएका अरुणाञ्चलम बने ।


त्यस्तै, चर्पी नभएकै कारण विवाहमा आइपरेको संकटलाई बडो व्यावहारिक ढंगले उठाइएको छ, अक्षय अभिनीत ‘ट्वाइलेट : एक प्रेम कथा’ मा । उनले ‘जोली एलएलबी २’ मा भारतको न्यायिक प्रणालीमाथि व्यंग्य कसे । ‘रुस्तम’ उनको सम्झनालायक अर्को सिनेमा हो । यी फिल्मले व्यापार पनि लोभलाग्दो गरे । बलिउडमा अनुशासित अभिनेताको पहिचान बनाएका अक्षय भन्छन्, ‘पहिले एक्सन, कमेडी र रोमान्टिक रोल मात्र गरें । अहिलेचाहिँ हरेक फिल्ममा फरक काम गर्न रुचाउँछु, जुन समाजसँग जोडिएको होस् ।’


भनिन्छ, असली हिरोको भूमिका ‘रिल’ मा मात्र सीमित हुन्न, ‘रियल’ मा पनि हुनुपर्छ । अक्षय यसलाई शिरोधार्य गरिरहेका छन् । कहिले आत्महत्या गरेका महाराष्ट्रका किसानको परिवार त कहिले सीमा सुरक्षामा खटिएका सैनिक जवान र तिनका परिवारलाई आर्थिक सहयोग गर्छन् । उनले बलिउडका स्टन्टम्यानको बिमा र स्वास्थ्य उपचारका लागि ‘कोष’ सुचारु गरेका छन् । मुम्बईमा ‘सेल्फ डिफेन्स’ का लागि १५ हजार युवतीलाई मार्सल आर्ट्स सिकाइसकेका उनी वन्यजन्तु बचाउ अभियानमा उत्तिकै लागिपरेका छन् । ५० वर्ष टेकिसकेका यी अभिनेताले भनेका छन्, ‘मलाई जुन काम गर्दा आनन्द आउँछ, त्यही गरिरहेको छु । भागदौड छैन ।’


मनमौजी मार्गमा हिँडिरहेका अक्षयका दुई फिल्म प्रदर्शन हुन बाँकी छन्, ‘केशरी’ र ‘रोबर्ट २.०’ । युद्धको कथामा बनेको फिल्म ‘केशरी’ मा उनी सैन्य लडाकु बनेका छन् भने साइन्स फिक्सन ‘रोबर्ट २.०’ मा भिलेन ।

[email protected]

प्रकाशित : भाद्र १५, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?