२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

किराँती कला

पहिचानको राजनीति उत्कर्षमा पुगेका बेला किराँती संस्कृति झल्काउने पहिरन, आभूषण र अन्य सामग्रीको व्यापार–व्यवसाय पनि फस्टाउँदै गएको छ ।
विद्या राई

काठमाडौँ — भोजपुरको कटुन्जेमा जन्मिएका कपिल राईले तीन दशकअघि काठमाडौं नटेकेका भए कथा अर्कै हुन सक्थ्यो । खोटाङमा जन्मिएकी जानुका राईसँगको जम्काभेट, प्रेम र वैवाहिक सम्बन्धले पनि उनलाई फरक बाटोमा हिँडायो । युवा उद्यमीका रूपमा उनीहरूले आफ्नो बेग्लै पहिचान बनाएका छन् ।

किराँती कला

झन्डै एक दशकको संघर्षले यी दुईलाई आफ्ना मौलिक संस्कृति र पहिचानलाई जगेर्ना गर्न क्रियाशील जोडीका रूपमा स्थापित गरेको छ ।


यी दुईले ललितपुरको ताल्चीखेलमा ‘सुम्निमा कलेक्सन’ सुरु गरेर किराँत राई संस्कृति, वेशभूषा, रीतिरिवाज, परम्परालाई जीवन्त राख्ने प्रयास गरिरहेका छन् । यो कलेक्सन किराँती संस्कृति र वेशभूषाको ‘शो रुम’ जस्तै हो । यहाँ किराँत समुदायका पुर्खाहरूले प्रयोग गर्दै आएका हातहतियार, बाजागाजादेखि सबै किसिमका पहिरन एकै ठाउँमा उपलब्ध छन् ।


मुर्चुङ्गा, बिनायो, यलम्बर बाजा, मुरली, झ्याम्टा, पुङबाजा, चरीबाजा, कठुवा, पोमी, सिलिमी, पैसाको माला, छिटको सारी, ढाका र मखमलको चोली, पटुका, खादा, सल, पटुका, थैली, दौरा–सुरुवाल, हातले बुनेको झोला पनि पाइन्छन् । पूर्वी पहाडी जिल्लाका गाउँमा बनाइने रेजी, हारी, धजुरा, कुची, लाछा माग अनुसार तयार गर्छन् ।


कलेक्सन छिर्नेबित्तिकै करिब ६ फिट अग्लो काठको चिन्डोले जोकोहीलाई आकर्षित बनाउँछ । चिन्ने, जान्ने, सुन्ने किराँतीहरू बाहिरबाट काठमाडौं आइपुगे भने चिन्डो हेर्नकै लागि भए पनि त्यहाँ पुग्छन् । चिन्डोको गलामा यलम्बर (टुङ) बाजा जन्तरजस्तै झुन्ड्याइएको छ । गालाभरि प्वाँलो, खुर्मी, बिनायो, मुर्चुङ्गाहरू गहनाका रूपमा झुन्ड्याइएका छन् । चिन्डोभित्र खुकुरी, कठुवा, चौंरीको पुच्छरलगायत किराँती संस्कृति र सभ्यता झल्काउने सामग्रीहरू छन् ।


कपिलले लामो समय अध्ययन र अनुसन्धान गरेपछि स्थापना भएको कलेक्सनलाई ‘मिनी म्युजियम’ का रूपमा विकास गर्दै लैजाने सोच बनाएका छन् । गाउँघरमा पुराना सामग्रीहरू लोप भइरहेका छन् । ‘मौलिकता हराउँदै गएको छ, भावी पुस्तालाई देखाउनका लागि भए पनि म्युजियमजस्तो बनाएर संरक्षण गर्ने योजना बनाएको छु,’ कपिलले भने ।
कठुवा, चिन्डो, हातहतियारहरू, घ्याम्पा, कुपी, तराजु, भोटे ताल्चा, मटिया, जाँड छान्ने छपनी, माछा मार्ने जाली, माछा बोक्ने जाभी, सरङलगायत संकलन गरेका छन् । कपिल किराँती मौलिकताको खोजीमा सिक्किम, दार्जिलिङदेखि ताप्लेजुङ, पाँचथर, ओखलढुंगा, सोलुका कुनाकाप्चासम्म पुगेका थिए ।


किराँतीहरूको बाक्लो बस्ती पूर्वमा रहेको छ र सुम्निमा कलेक्सनमा यहींबाट सबभन्दा धेरै माग हुने गर्छ । हङकङ, अस्ट्रेलिया, अमेरिका, जापान, सिंगापुर, इजरायललगायतबाट पनि माग आउने गरेको कपिलले बताए । ‘विदेशमा सामान कुरियर गरेर पठाउँछौं,’ उनले भने ।


कपिलले ११ वर्ष साकेलामा टुँडिखेल जाँदा एक खालिङ महिलाले चोलोको तुनामा रंगीचंगी धजुरा, पेचुरी झप्प लगाएको देखेका थिए । त्यस्तो दृश्य उनले पहिले कतै देखेका थिएनन् । उनलाई त्यसैले आकर्षित गर्‍यो । चिया पसलसँगै धजुरा, पेचरी बनाइरहेकी धापासी हाइटका ती महिलासँग उनले त्यस्तै २० वटा सामग्री अर्डर गरे । प्रतिगोटा १० रुपैयाँमा खरिद गरेर उनले २०–३० रुपैयाँमा बिक्री गरे । जानुका र कपिल किराँत समुदायको कार्यक्रममा टेबलमा राखेर बिक्री गर्न इलाम, झापा, धरानसम्मै पुगे । झोलाबाट यसरी सुरु भएको व्यवसायले सात वर्षअघि सुम्निमा कलेक्सनको रूप लिएको हो । तीन लाखबाट सुरु भएको कलेक्सन करोडकै कारोबारमा पुगिसकेको छ ।


जानुका गायिका हुन् । उनी कन्सर्टमा देश–विदेश गरिरहन्छिन् । कपिल कला संस्कृति जगेर्नामा लागेका व्यक्ति । उनी किराँत राई सांस्कृतिक कलाकार संघमा उपाध्यक्ष छन् । पोर्टल र फेसबुक पेजमार्फत सुम्निमा कलेक्सनमा धेरै ग्राहक आउने गर्छन् । ‘हामीले सुम्निमा कलेक्सन स्थापना गरेर संस्कृति जोगिएको होइन, हाम्रा गहना यहाँ आइपुग्ने पाहुना भएको रहेछ,’ कपिलले भने ।


खोटाङका राजु एन राई दशकअघि गायनका लागि राजधानी प्रवेश गरेका थिए । जतिबेला पहिचानको कुरा उठेको थियो, भाषा संस्कृति बचाउनुपर्छ भन्ने लहड सुरु भएको थियो । त्यसै बेला उनले १ लाख ७५ हजार रुपैयाँ लगानी गरेर कोटेश्वरमा जुनशिला कलेक्सन स्थापना गरे । दशकअघि स्थापित यसको मुख्य काम किराँती वेशभूषा र आभूषणको उत्पादन, संकलन र व्यापार हो । जुनशिला कलेक्सन अहिले ३५ लाखको कारोबार गर्ने भइसकेको छ ।


जुनशिला कलेक्सनले नारा नै बनाएको छ– ‘हामीले हाम्रो मौलिक वेशभूषाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरौं, अरूको नक्कल हैन आफ्नै मौलिकतामा रमाऔं ।’ आफंैले उत्पादन गरिएका र संकलन गरिएका सामग्री यहाँ पाइन्छन् । राजुलाई पत्नी सुशीलाले पनि साथ दिएकी छन् । उनी गायिका पनि हुन् । जुनशिलाको पनि बजारमा जाने मुख्य माध्यम वेबसाइट र फेसबुक नै हुन् ।


कोटेश्वरमै रहेको ‘चिन्डो कलेक्सन’ ले पनि किराँती संस्कृतिको जगेर्ना गर्दै व्यवसायमा ढाल्ने काम गरिरहेको छ । भोजपुरकी मञ्जु राईसहित हङकङ, सोलुखुम्बु, उदयपुर, मोरङका पाँच युवायुवतीले तीन वर्षअघि चिन्डो कलेक्सन सुरु गरेका हुन् । व्यवस्थापन गरिरहेकी मञ्जु भन्छिन्, ‘हाम्रो अवधारणा संस्कृति जगेर्नाको अभियान हो । सांस्कृतिक गतिविधि बढाउने र व्यवसाय गर्ने लक्ष्य हो ।’


दस लाखको बजेटबाट सुरु भएको चिन्डो कलेक्सनको पुँजी दोब्बर भइसकेको छ । यसको शाखा हङकङमा पनि खोलिएको छ । किराँती चाडपर्वको अवसरमा सामग्रीको माग अत्यधिक हुने गरेको मञ्जुले बताइन् । कार्यक्रमका बेला यलम्बर, सुम्निमा अंकित टिसर्टलगायतको बिक्री उच्च हुन्छ । स्वर्गीय अर्जुन खालिङको सोचअनुसार स्थापित चिन्डो कलेक्सनले पनि किराँती वेशभूषा र आभूषणकै व्यापार गर्छन् । यसमा सुम्निमा, पारुहाङ, यलम्बरका मूर्ति पनि पाइन्छन् ।

[email protected]

प्रकाशित : भाद्र १५, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?