१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

फेरिएको भूमिका

एसियाली खेलकुदमा आठ वर्षअघि खेलाडीका रुपमा नेपालको प्रतिनिधित्व गरेका कुमार अधिकारी यसपालिको १८ औं संस्करणका रुपमा माल्दिभ्सको टेनिसको मुख्य प्रशिक्षक थिए ।
राजु घिसिङ

काठमाडौँ — पालेम्बाङस्थित जेएससी टेनिस कोर्टमा नेपाली खेलाडी मायंका राणा र माहिका राणा वुमेन्स डबल्समा प्रतिस्पर्धा गरिरहेका थिए । राणा दिदीबहिनीका प्रतिद्वन्द्वी थियो माल्दिभ्स । तर, १८ औं एसियाली खेलकुदमा माल्दिभ्सका टेनिस प्रशिक्षक भने नेपाली थिए । कुमार अधिकारीले सम्हालेको टिमलाई हराएर राणा दिदीबहिनी क्वाटरफाइनल पुगेका थिए ।

फेरिएको भूमिका

‘मैले आफूलाई दुवै टिमको भएको महसुस गरें,’ इन्डोनेसियाबाट कुमारले भने, ‘आफ्नो देश र आफूले काम गरेको देशका तर्फबाट बराबरी रूपमा सहभागी भएजस्तो लागेको थियो । टेनिसमा माल्दिभ्सको तुलनामा नेपालको स्तर केही माथि छ । खेल पनि नेपाली जोडले नै जित्यो ।’ उनले थपे, ‘आफ्नो देश आफ्नै हुन्छ । अर्को देशबाट आउनुभन्दा आफ्नैबाट आउनु राम्रो हुन्छ । तर, अर्को देशबाट यसरी आउनु पनि राम्रो हो । क्षमता भएकाले आफ्नै देशमा पनि अवसर पाउनुपर्छ ।’

इन्टरनेसनल टेनिस फेडेरेसन (आईटीएफ) को प्रतियोगिता कमै खेल्ने भएकाले माल्दिभ्स कमजोर रहेको उनको तर्क छ । जुनियर स्तरमै भए पनि नेपाली खेलाडी आईटीएफका प्रतियोगितामा सहभागी हुँदै आएका छन् ।


माल्दिभ्स टेनिस संघको मुख्य प्रशिक्षकका रूपमा चार पुरुष र तीन महिला खेलाडी लिएर उनी इन्डोनेसिया पुगेका थिए । इन्डोनेसिया यात्राका लागि माल्दिभ्सका टेनिस खेलाडीले पाँच महिने तयारी ठीकै रहेको उनले बताए । तर, मेन्स सिंगल्स, डबल्स, वुमेन्स सिंगल्स, डबल्स र मिक्स डबल्समा सहभागी उनका खेलाडी एसियाली खेलकुदको सर्वोच्च प्रतियोगिताको पहिलो चरणमै चुकेका थिए ।


उनी आफंै पनि एसियाली खेलकुदका अनुभवी खेलाडी हुन् । उनले ग्वान्जाउमा सन् २०१० मा भएको एसियाडमा प्रतिस्पर्धा गरेका थिए, जहाँ उनको चुनौती प्रारम्भिक चरणमै समाप्त भएको थियो । ‘मैले खेलेको एसियाड र अहिलेको एसियाडको स्तर फरक छ,’ उनले भने, ‘राम्रो खेलाडी उत्पादन गर्न धेरै काम गर्नुपर्छ । प्रतियोगिता आयोजना गर्ने, खेल्ने, अन्तर्राष्ट्रियस्तरमा अवसर दिने, ट्रेनिङ दिलाउने गर्नुपर्छ । प्रशिक्षकलाई पनि शिक्षित बनाउनुपर्छ किनभने खेलाडी उत्पादन प्रशिक्षकमै भर पर्छ ।’


एसियाडमा आठ वर्षअघि खेलाडी र अहिले प्रशिक्षकको भूमिकामा सहभागी हुँदाको अन्तरबारे उनले सुनाए, ‘यो (एसियाली) स्तरमा खेल्न हामीले धेरै मिहिनेत गर्नुपर्छ । हामीलाई शारीरिक र मानसिकभन्दा पनि अनुभवकै कमी छ । धेरै अनुभव भएका खेलाडीले नै परिपक्व खेल देखाउँछ किनभने यस्ता खेलाडी मानसिक रूपमा बलियो हुने गर्छ । त्यसैले हाम्रा (नेपाल र माल्दिभ्स) का खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण र प्रतियोगितामा खेल्ने अवसर पाउनुपर्छ ।’


माल्दिभ्सले गत वर्ष फिलिपिनो मुख्य प्रशिक्षक फर्केपछि उक्त पदका लागि आवेदन खुला गरेको थियो । कुमारले पनि सीभी र भिडियो पठाए । अनि उनलाई मुख्य प्रशिक्षकका रूपमा अगस्ट २०१७ मा दुई वर्षका लागि अनुबन्ध गरेको थियो । त्यसैले उनको प्रशिक्षकका रूपमा एसियाली खेलकुदको ढोका खोलेको थियो । पहिला काठमाडौंको अमेरिकन क्लब (फोहरा दरबार) मा १३ वर्ष टेनिस सिकाउने काम गरेका थिए । तर, खेलाडी उत्पादनकै लागि उनले टेनिस सिकाउन थालेको भने माल्दिभ्स पुगेर नै हो ।


‘फोहरा दरबारमा फिटनेसका लागि खेल्नेहरूलाई सिकाइन्थ्यो,’ ३३ वर्षीय कुमारले भने, ‘माल्दिभ्समा भने वार्षिक विकास कार्यक्रम (वाईडीए) अनुसार यू–१२, यू–१४, यू–१६ र महिला/पुरुष दुवैका राष्ट्रिय टिमका खेलाडीको प्रशिक्षकका रूपमा कार्यरत छु ।’


माल्दिभ्स टेनिस संघमा कुमारसहित दुई नेपाली र एक माल्दिभियन प्रशिक्षक छन् । अर्का नेपाली प्रशिक्षक हुन्– हरि हायु । चार वर्षयता सहायक प्रशिक्षकका रूपमा कार्यरत उनले ८ वर्षदेखि १२ वर्षसम्मका खेलाडीलाई सिकाउने गर्छन् । यी तीन प्रशिक्षकले १ सय ५० खेलाडीलाई दैनिक ६ घण्टा प्रशिक्षण दिइरहेको कुमारले बताए । मालेमा निजी क्षेत्रबाट सञ्चालित अकु टेनिस एकेडेमी विकास थापामगर पनि एक वर्षयता प्रशिक्षकका रूपमा कार्यरत छन् ।


‘नयाँ अवसर पाइन्छ । सिक्न तरिका पाइन्छ भनेर माल्दिभ्समा प्रशिक्षक बन्ने निर्णय गरेको थिएँ,’ पोखराका कुमारले भने, ‘सजिलै हुन्छ भन्ने सोचेको थिएँ, त्यस्तै भइरहेको छ ।’ उनले थपे, ‘सबैले राम्रै मान्छन्, गुनासो केही गरेका छैनन् । सबै सकारात्मक छन् ।’ उनले मार्च २०१८ मा कोलम्बोमा भएको जुनियर डेभिस कप छनोटमा पनि माल्दिभ्सको टिम सम्हालेका थिए, जहाँ उनको टिम ब्वाइजमा बहराइनलाई हराएर क्वाटरफाइनल पुगेको थियो भने गल्र्समा पहिलो चरणमै रोकिएको थियो । आइतबार माले फर्किएका कुमारले अब १३ औं दक्षिण एसियाली खेलकुद र सी गेम्स (हिन्द महासागरका देशहरूको बृहत् खेलकुद) कयो तयारीमा लाग्ने बताए ।


उनी माल्दिभ्सबाट फर्केर पोखराको टेनिसमा काम गर्ने योजनामा छन् । उनले टेनिस कोर्ट मर्मतसम्भारकर्ता बुबालाई पछ्याउँदै पोखरा फिटनेस सेन्टरमा १२ वर्षको छँदा टेनिस सिक्न थालेका थिए । खेलाडी बन्ने सिलसिलामा सन् २००३ मा काठमाडौं सरेका उनले सिंगल्समा ११ र डबल्समा २० उपाधि जिते । कुमार र जितेन्द्र परियारको जोडी मेन्स डबल्समा सन् २००६ देखि २०१६ सम्म अपराजित रह्यो । उनी श्रीराम मगरलाई आठौं राष्ट्रिय टेनिसमा पराजित गरेर सन् २००७ मा नेपालको नम्बर १ खेलाडी बनेका थिए । त्यसपछि पाँच वर्ष अपराजित रहे । उनले पछिल्लोपल्ट सशस्त्र प्रहरी बल टेनिस च्याम्पियनसिप २०१६ को फाइनल खेलेका थिए, जहाँ उनलाई अहिलेका नम्बर १ संरक्षकभूषण वज्राचार्यले पराजित गरेका थिए ।


खेलबाट सन्यास घोषणा नगरी प्रशिक्षक बनेका उनले भन,े ‘पोखराबाट यहाँ आइपुगें । फेरि पोखरा फर्केर टेनिसमै केही गर्छु भन्ने सोचेको छु, ।’ करिब डेढ दशकको खेल जीवनमा कुमारले एसियाली खेलकुद र आईटीएफ प्रो सर्किटको छनोटबाहेक ग्वान्जाउ युनिभर्सिटी टेनिस च्याम्पियनसिप २००६ मात्र खेल्ने अवसर पाएका थिए । ‘हाम्रो स्तरका खेलाडीले खेल्नुभन्दा प्रशिक्षक हुनुमै राम्रो हुन्छ भन्ने लागेर करिअर परिवर्तन गरिएको हो,’ उनले भने ।

twitter: @rghising

प्रकाशित : भाद्र १५, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?